काठमाण्डौ । विगतमा झैँ यस वर्ष पनि काठमाडौं उपत्यकामा खानेपानीको हाहाकार हुने देखिएको छ । विशेषगरी चैत, वैशाख र जेठमा उपत्यकामा खानेपानीको चरम अभाव हुने गरेको छ । 

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले उपत्यकामा खानेपानी वितरणको काम गर्दै आएको छ । तर, केयुकेएलले सुक्खायामका तीन महिनालाई लक्षित गरी सुधारका कुनै काम नगरेकाले विगतझैँ यस वर्ष पनि खानेपानीको चरम अभाव हुने संकेत देखिएको हो । 

सुक्खायामका महिनामा सतहमाथि र मुनिका पानीको स्रोत सुक्ने भएकाले उपत्यकामा पानी उत्पादन कम हुने गरेको छ । 

तर, केयुकेएलले उपत्यकामा खानेपानीको संकट नपर्ने दाबी गरेको छ । केयुकेएलका प्रवक्ता सुरेशप्रसाद आचार्यले यस वर्ष विद्युत् नियमित भएको र सतहमुनिका पानी प्रयोगमा ल्याउन सजिलो हुने भएकाले खानेपानीको हाहाकार नहुने बताए । 

‘प्रत्येक वर्षको सुक्खायाममा उपत्यकाभित्र खानेपानीको हाहाकार हुने गर्छ । तर, यस वर्ष त्यस्तो संकट नपर्ला भन्ने लाग्छ,’ उनले भने, ‘यस वर्ष राजधानी लोडसेडिङमुक्त भएको छ । जसले गर्दा जमिनमुनिको पानी चलाउन सजिलो हुन्छ ।’

ट्यांकरबाट वितरण हुने पानीको माग बढ्ने
केयुकेएलबाट वितरण हुने पानीको परिमाण घटेपछि ट्यांकरबाट वितरण हुने पानीको माग बढ्ने भएको छ । उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अनुसार उपत्यकाभित्र खानेपानी वितरणका लागि दैनिक सात सयको संख्यामा ट्यांकर सञ्चालन हुँदै आएका छन् । 

ती ट्यांकरले दैनिक पाँच करोड लिटर पानी वितरण गर्दै आएको व्यवसायीहरूको भनाइ छ । तर, सुक्खायाममा ट्यांकरको पानी मात्रै दैनिक १० करोड लिटर माग हुँदै आएको व्यवसायीको दाबी छ ।

‘अहिले गर्मी बढिसकेको छैन । त्यसो हुँदा पानीको माग सालाखाला दैनिक पाँच करोड लिटर हो । सुक्खायाममा गर्मी बढ्छ र पानीको स्रोत घट्छ । त्यसवेला पानीको माग अत्यधिक बढ्छ,’ संघका अध्यक्ष विष्णु दाहालले नयाँ पत्रिकासँग भने, ‘यस वर्षको गर्मी सुरु हुँदै छ । गर्मीयाममा सधैँ पानीको माग बढ्छ । किनकि केयुकेएलले आवश्यक मात्रामा पानी वितरण गर्नै सक्दैन ।’

यी हुन् काठमाडौंमा पानीको स्रोत
उपत्यकामा भक्तपुरको झौखेल, ललितपुरको सातदोबाटो र गोदाबरी, काठमाडौंको चाल्नाखेलदेखि हिमाल सिमेन्ट कारखाना रहेको स्थानसम्म, मातातीर्थ, स्वयम्भू, बालाजु, जोरपाटी, सानेपाको बागमती नदीलगायतका क्षेत्रमा आधुनिक मेसिन राखेर जमिनमुनिको पानी तान्ने गरिएको छ ।
 

यस कारण हाहाकार 
केयुकेएलका अनुसार उपत्यकाभित्र दैनिक ३७ करोड ५० लाख लिटर पानीको माग छ । विगत वर्षका तथ्यांक हेर्दा चैत, वैशाख र जेठमा प्रतिदिन नौ करोड लिटर मात्रै पानी उत्पादन हुँदै आएको छ । त्यसमध्ये ३५ देखि ४० प्रतिशत पानी चुहिएरै सकिन्छ । उपभोक्ताकहाँ पुग्ने पानी करिब ६ करोड लिटर मात्रै हो । उपत्यकाभित्रका २७ लाख जनतालाई त्यही पानी बाँड्नुपर्छ । त्यसो हुँदा एकजनाको भागमा करिब २० लिटर पानी पर्छ । 

तर, केयुकेएलले सो परिणामको पानी कतै ६ दिन त कतै नौ दिनमा एक घन्टा मात्रै वितरण गर्दै आएको छ । यो तथ्यांक हेर्दा एकजनाको भागमा मुस्किलले दुई लिटर पानी पर्छ । केयुकेएलका अनुसार एकजनाका लागि प्रतिदिन १३५ लिटर पानी आवश्यक पर्छ । यो वर्ष पनि केयुकेएलले थप पानी व्यवस्थापन गर्न चासो नदेखाएका कारण हाहाकार हुने निश्चित छ । यो खबर आजको नयाँपत्रिकामा छापिएको छ ।