काठमाण्डौ । करोडपति बन्ने र धेरै धन कमाउने सपना कसको हुन्न र ? तर सबैको यो सपना पूरा हुन सक्दैन । प्रत्येक व्यक्ति जान्न चाहन्छ कि आखिर करोडपति बन्न सफल मानिसहरुमा त्यस्तो के हुन्छ, जुन कुरा बाँकी मानिसमा चाहि हुन्न ? अर्थशास्त्री नेपोलियन हिलले ‘थिङ्क एण्ड ग्रो रिच’को अध्ययनमा यस्तै १० कुराहरु बताएका छन्, जो करोडपतिहरु गर्दैनन् । यसको अर्थ स्पष्ट छ, यदि तपाईंमा पनि करोडपति बन्ने सपना छ भने यी १० गल्ती गर्नबाट जोगिने गर्नुहोस् । 

एउटै चिजमा बढी समय
यदि तपाईं कुनै विजिनेश सुरु गर्न गइरहनुभएको छ भने एउटै चिजमा समय खेर फालेर त्यसलाई मात्र उत्कृष्ट बनाउँछु भनेर भेंडो तालले नलाग्नुहोस् । तपाईं एउटै चिजमा पछि लागिरहँदा तपाईंको प्रतिस्पर्धी बाँकी अन्य चिजमा निकै अगाडि बढिसकेको हुन्छ, अनि तपाई चाहि त्यही चिजको वरिपरि घुमिरहनुभएको हुन्छ । धेरै परफेक्ट हुने चाहनामा कयौ समय तपाई अनुसन्धान नै गर्न चाहनुहुन्न । कुनै पनि बिषय र त्यसको संभावनामाथि अनुसन्धान नगर्नु तपाईलाई भारी पर्न सक्छ । कुनै पनि चिजमा धेरै नाफा चाहिन्छ भने उति नै अनुसन्धान र खोज गर्नुहोस् । 

आवश्यकतालाई असीमित बनाउनु
कतिपय समय यस्तो देखिन्छ कि तपाई आफूसँग भएको सबै पैसा एउटै चिज र एउटै समयमा दिल खोलेर खर्च गर्नुहुन्छ । तर यो ठूलो गल्ती हो । विश्वका धनी भन्दा धनी व्यक्ति खर्च गर्नुभन्दा अगाडि धेरै सोचविचार गर्छन । उनीहरु आवश्यकताको हिसाबले मात्र खर्च गर्छन । वारेन वफेट जस्ता सफल व्यक्तिहरु समेत आफ्नो खर्चलाई सीमित बनाएर चलिरहेका हुन्छन् । जस्तो : महंगो गाडी, मोवाइल, घर वा यस्तै चिज खरीदको चक्करमा धेरै खर्च गर्ने गल्तीबाट बच्नुपर्छ । 

अवास्तविक बन्नु
कयौं पटक हामी अवास्तविक चिजको पछि कुदिरहेका हुन्छौ । यथार्थ भन्दा निकै टाढाको बिषय दिमागमा खेलाइरहेका हुन्छौ । यस्तै सोंच हाम्रो नोक्सानीको कारण बनिदिन सक्छ । यसकारण सधैं यथार्थ र संभव चिज मात्र सोच्नुहोस् । कुनै पनि व्यक्ति रातारात धनी बन्दैन, यसका लागि लामो समयको रणनीति बनाउनुहोस् र सोही अनुसार सोच्ने गर्नुहोस् । तपाईभित्र जति क्षमता छ, त्यसको पहिचान गरी त्यही हिसाबले काम गर्नुहोस्, अति महत्वकांक्षी बने त्यसले तपाईंलाई डूबाइदिन सक्छ । 

आँखा चिम्लिएर अरुलाई पछ्याउनु
प्राय यस्तो देख्ने गरिन्छ कि हामीलाई अरुको कुरा जब निकै मनपर्छ भने आँखा चिम्लिएर त्यसको पछि कुद्छौ । मानिस जे भन्छन् हामी त्यसको बिषयमा तुरुन्तै सोच्न सुरु गरिदिन्छौ । तर यसो गर्नु बिल्कुल सही होइन । अरुको कुरा जरुर सुन्नुहोस्, तर त्यसमा आफ्नो दिमाग चलाउने गर्नुहोस् । विचार गर्नुहोस् कि उसले जे भनिरहेको छ त्यो सही हो या गलत । त्यसपछि मात्र कसरी अगाडि बढ्ने भन्ने आफूले निर्णय लिनुहोस् । 

प्लाष्टिक मनीमा विश्वास
तपाईसँग जति नगद छ, त्यसैमा मात्र भरोसा राख्नुहोस् । याद राख्नुहोस् कि क्रेडिट कार्ड वा यस्तै कुनै प्लाष्टिक मनीले तपाईंको समस्या बढाइदिन सक्छ । यदि तपाईलाई क्रेडिट कार्डबाट खर्च गर्ने आदत बसेको छ भने बाँकी समय त्यसैको ऋण वा किस्ता तिर्दैमा ठीक्क हुन्छ । यस्तो अवस्थामा तपाईं भविष्यको बिषयमा सोच्न सक्नुहुन्न । 

छोटो रणनीति बनाउनु
कतिपय समयमा तपाईंलाई लाग्नसक्छ कि मेरो यो आइडियाको प्रयोगबाट तुरुन्तै पैसा कमाउन सकिन्छ, तर यो यथार्थ होइन वा हुन्न । तपाईं यति जान्नुहोस् कि छोटो अवधिको सफलता कहिलेकाही प्राप्त होला, तर त्यो दिगो वा दरिलो हुँदैन । यसकारण सधैं लामो समय सोचेरै दीर्घकालीन रणनीतिका साथ गलितो योजना बनाएर व्यापार थाल्नुहोस् । 

नकारात्मक मानिससँग समय बर्बाद गर्नु
धनी मानिस आफ्नो महत्वपूर्ण समय गलत मानसिकता भएका मानिससँग बिताउदैनन् वा त्यस्ता मानिसको संगतमा खेर फाल्दैनन् । गलत र नकारात्मक सोंच भएको मानिससँगको संगतका कारण ऊभित्रको नकारात्मकताले तपाईंको मन मस्तिष्कमा पनि घर गर्न सक्छ । नकारात्मक मानिस तपाईलाई सधै नकारात्मक कुरा मात्र गरिदिन्छन् । भनिन्छ कि वातावरण वा संगतको असर स्वभाविक रुपमा हामीमाथि पनि पर्छ । यसकारण यस्तो भीडबाट सधैं टाढा रहनु उत्तम हुन्छ । 

आफूप्रतिको अति भरोसा
कतिपय मानिस सोच्छन् कि म जे गरिरहेको छु, त्यो एकदम ठीक हो, यसमा कुनै शंका नै छैन । कहिलेकाही आफूप्रति ज्यादै भरोसा वा अति विश्वास पनि ज्यादै खतरनाक हुनसक्छ । एकै व्यक्तिमा सबै खालको क्षमता हुँदैन । यसकारण टिम वर्कमाथि विश्वास गर्नुहोस् । 

सही समयमा सही निर्णय नलिनु
हरेक मानिसको समय एकै खालको हुँदैन । तर सफल मानिसहरु समयलाई चिन्दछन् र सोही अनुसार उचित निर्णय लिन खप्पीस हुन्छन् । यस्तै असफल व्यक्ति सही निर्णय सही समयमा लिनबाट चुक्छन् । अनि ढिलो गरी आँखा खुलेपछि समयलाई दोष दिनतिर लाग्छन्, यो प्रवृति गलत हो । त्यसकारण सही समयको पहिचान गर्न सिक्नु महत्वपूर्ण हुन्छ । 

आफूमाथि विश्वास नराख्नु 
कतिपय अवस्थामा समय तपाईको प्रतिकूल भइरहेको हुनसक्छ, यस्तो बेलामा अत्तालिनु हुँदैन । समस्याले पिरोलेको बेला आफूमाथि भरोसा राख्नु निकै महत्वपूर्ण हुन्छ । तर समस्याले थिचेपछि मानिस आफ्नो विश्वास नै डगमगिन दिन्छ र नोक्सान व्यहोर्छ । त्यसकारण सधैं आफूमाथि सबैभन्दा बढी विश्वास गर्नुहोस् ।