काठमाण्डौ । युवासंघ नेपालका रुपन्देही जिल्ला अध्यक्ष तथा एमालेका क्षेत्रीय कमिटी सदस्य दुुर्गा तिवारीको हत्यामा भारतीय सार्प सुटरहरु प्रयोग भएका रहस्य खुलेको छ । 

एक उच्च प्रहरी स्रोतले दिएको जानकारी अनुसार भारतीय सार्प सुटरको गोली प्रहारबाट तिवारीको मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा देखिएको छ । 

तिवारीमाथि सोमबार अपरान्ह ३ः३० बजे रुपन्देहीको देवदह नगरपालिका ६, खैरेनीमा हिँडिरहेको बेला मोटरसाइकलमा आएका दुुई व्यक्तिले गोली प्रहार गरेका थिए । गोली लागेका उनको उपचारको क्रममा देवदह मेडिकल कलेजको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । 

केही समयअघि राष्ट्रिय एकता, अखण्डता तथा प्रदेश नम्बर ४ को सीमाङ्कन हेरफेरको विरोध गर्दै एमालेले गरेको प्रदर्शनमा तिवारीको महत्वपूर्ण भूमिका थियो । बुटवलमा भएको जनप्रदर्शनले जनआन्दोलनको झल्को दिएपछि त्यसले प्रचण्ड नेतृत्वको वर्तमान सरकार र सरकारलाई संविधान संसोधनका लागि दवाब दिइरहने ठानिएको भारतीय पक्ष समेत तर्सिएको थियो । बुटवलको प्रदर्शनबाट मधेशवादी दलका नेताहरु चिढिएका थिए । उनीहरुमध्ये कतिपयले खुलेआम रुपमा एमालेका स्थानीय नेताहरुलाई नछाड्ने धम्की दिएका थिए । 

यसअघि बुटवलमा भएको प्रदर्शनमा महत्वपूर्ण भूमिका खेलेका एमाले निकटका अर्का व्यवसायीलाई समेत गोली प्रहार भएको थियो । सो गोली काण्डमा समेत भारतीय सार्प सुटरहरुकै प्रयोग भएको पाइएको प्रहरी स्रोतको दाबी छ । 

‘यी दुवै घटना सुनियोजित रुपमा निकै ठूलो शक्तिले गराएका देखिन्छ ।’ एक उच्च प्रहरी अधिकारीले बिजशालासँग भने–‘आगामी दिनमा कुनै पनि ठाउँमा संघीयताविरुद्ध अखण्डताको नाममा प्रदर्शन नहोस् र मधेशवादी दलहरुले चाहेजस्तो राज्यको पुनरसंरचनामा आँच आउने कुनै गतिविधि गर्नुअघि अगुवाई गर्नेहरुले एकपटक सोचुन् भन्ने उद्देश्यबाट प्रेरित भएर यो घटना गराइएको हो कि भन्ने देखिन्छ ।’

रातो पल्सरमा आएका दुुई व्यक्ति भारतीय मूलका जस्तो देखिने प्रत्यक्षदर्शीको भनाई र उनीहरु भारतीय सीमा क्षेत्रबाट अलप भएका खबरहरुले समेत भारतीय सार्प सुटरहरुकै प्रयोग भएको आफूहरुको अनुुमान रहेको ती प्रहरी अधिकारीले दाबी गरे । 

एमालेका एक नेताले देशमा जब–जब ठूला परिवर्तन हुन खोज्छन् र कोही कसैले भारतीय लाइनविपरीत अगाडि बढ्न खोज्छ, तब त्यसलाई तर्साउन भारतले यस्ता हत्कण्डा मच्चाउँदै आएको दाबी गरे । बुटवलमा तिवारी हत्याको घटनालाई समेत ती नेताले सोही रुपमा व्याख्या गर्नु उचित हुने दाबी गरे । ‘यो सबै भारतीय पक्ष र मधेशवादीहरुले बनाएको योजना अनुसार भएको हत्कण्डा हो ।’ ती नेताले नाम गोप्य राखिदिने शर्तमा भने–‘सिंगो एमाले पंक्तिलाई संविधान संसोधनको विरुद्धमा नजान चेतावनीका लागि गराइएको घटनाको रुपमा हामीले बुुझेका छौ ।’

यसैबीच, घटनापछि एमाले महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गर्दै घुमाउरो रुपमा घटनामा गृहमन्त्री विमलेन्द्र निधि र प्रधानमन्त्री प्रचण्डकै हात रहेको आरोप लगाएका छन् । ‘प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयम्ले नेकपा (एमाले) र आन्दोलनरत जनताविरुद्ध उत्तेजनापूर्ण अभिव्यक्ति दिइरहेको तथा गृहमन्त्रीले उक्साहटपूर्ण भनाइ राखिरहेको बेला देशभक्त युवा नेताको हत्या भएको छ ।’ सरकारप्रति आरोपको संकेत गर्दै पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘देश र जनताको सुरक्षा गर्नुपर्ने व्यक्तिहरुको त्यस्तो उत्तेजना र उक्साहटपूर्ण अभिव्यक्ति सार्वजनिक भएकै बेला यो देशभक्त नेपालीहरुमाथि गरिएको षड्यन्त्रपूर्ण आक्रमण हो ।’ पोखरेलले आन्दोलनकारी युवा नेताको हत्या गरेर एकातर्फ उक्त आन्दोलनलाई कमजोर बनाउने र अर्कातर्फ साम्प्रदायिक सद्भाव विथोलेर मुलुकमा विखण्डन सिर्जना गर्न गम्भीर आपराधिक षड्यन्त्र भइरहेको गम्भीर आशंका पैदा भएको दाबी गरेका छन् । 

एमालेले राष्ट्रिय एकता, अखण्डता, स्वाधीनता र स्वाभिमानका पक्षमा सञ्चालित आन्दोलनमा सक्रिय तिवारीको हत्याको तीब्र भत्सर्ना र निन्दा गर्दै त्यसमा संलग्न अपराधीहरुलाई तत्काल पक्राउ गरी कडा कानुनी कारवाही गर्न माग गरेको छ । 

बुटवलमा आगो
आफ्ना जिल्ला अध्यक्षको हत्या भएपछि युवासंघका कार्यकर्ताहरुको प्रदर्शनले बुटवल ठप्प भएको छ । उनीहरुले बुटवलका विभिन्न सडकखण्डमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । उनीहरुले बुटवलको राजमार्ग चौराहामा रहेको प्रहरी बिटमा आगो लगाएका छन् । सडक अवरुद्ध पारिएका कारण सयौं यातायातका साधन अलपत्र परेका छन् । 

स्थानीय प्रहरी घटनालाई बङ्ग्याउँदै
यसैबीच, गृहमन्त्री विमलेन्द्र निधिको निर्देशनमा स्थानीय प्रहरीले भने घटनालाई बंग्याइरहेको एमालेका नेताहरुको आरोप छ । ‘यो अखण्डता पक्षधरहरुमाथिको सुनियोजित आक्रमण हो ।’ एमालेका ती नेताले भने–‘तर स्थानीय प्रहरीले माथिको आदेश अनुसार पुरानो राजनीतिक प्रतिशोधका कारण तिवारीको हत्या भएको भन्दै मुख्य अपराधीहरुलाई छायाँमा पार्न खोजिरहेका छन् ।’

स्थानीय प्रहरीले केही वर्षअघि युुथफोर्समा सँगै काम गरेका मनोज पुनले तिवारीको हत्या गरेको र उनले भारतबाट तिवारीलाई आफूले हत्या गरेको भनी उनका केही आफन्तले बताएको खबर बाहिरिएपछि एमालेले त्यसप्रति कडा आपत्ति जनाएको हो । सो खबर अनुसार मनोज पुनले यसअघि पनि तिवारीलाई हत्याको प्रयास गरेका थिए । तिवारी स्थानीय इँटा व्यवसायी पनि भएका कारण आफूले भनेजति पैसा नदिए ज्यान मार्ने धम्की पुनले उनलाई दिंदै आएका चर्चा समेत बुटवल प्रहरीले चलाएको एमालेको आरोप छ । 

लुम्बिनी बन्द, देशभर एकघण्टा चक्काजाम
यसैबीच, संगठनका रुपन्देही अध्यक्ष तिवारीको हत्याको विरोधमा राजधानीमा बसेको युवासंघको आकस्मिक बैठकले आन्दोलनको घोषणा गरेको छ । उनीहरुले घोषणा गरेको आन्दोलनका कारण जनताले फेरि सास्ती पाउने भएका छन् । युवासंघका महासचिव किरण पौडेल नेतृत्वको एक टोली घटनाबारे बुुझ्न मंगलबार बुटवल जानेछ । यस्तै बैठकले मंगलकार लुम्बिनी बन्दको घोषणा गरेको छ । त्यस्तै, भोलि नै दिउँसो १ देखि २ बजेसम्म देशभर चक्काजाम गरिने निर्णय भएको युवासंघले जारी गरेको विज्ञप्तिमा बताइएको छ । 

युवासंघले हत्याराको पहिचान र कारबाहीको माग गर्दै मंगलबार नै गृहमन्त्री विमलेन्द्र निधिलाई ज्ञापनपत्र बुुझाइनेछ ।