काठमाण्डौ । यूनाइटेड मोदी हाइड्रोपावरले निश्कासन गरेको आइपीओमा परम्परागत विधिबाट मात्रै तेश्रोे दिन(आइतबार)सम्ममा २ अर्ब बढीको प्रस्ताव परेको छ । 

१७ करोड २५ लाख मूल्यको १७ लाख २५ हजार कित्ता आइपीओमा दोश्रो दिनसम्म ८९ करोडको प्रस्ताव परेकोमा तेश्रो दिनसम्म २ अर्ब बढीको आवेदन परेको हो । 

क्यापिटलका एक अधिकारीका अनुसार आस्वाबाट परेको आवेदनको यकिन तथ्यांक आउन केही दिन लाग्नेछ ।  

तेश्रो दिनसम्म नै परम्परागत प्रक्रियाबाट मात्र यति धेरै आवेदन परेको र अन्तिम दिन अझ बढीले आवेदन दिने हुँदा निकै ठूलो संख्यामा प्रस्ताव पर्ने देखिएको हो । 

यो जलविद्युत कम्पनीले फागुन १९ गतेदेखि आइपीओ निश्कासन गरेको हो । आज(फागुन २३ गते) यूनाइटेडको आइपीओमा आवेदन दिने अन्तिम दिन हो ।

नेपाल धितोपत्र बोर्डले यो जलविद्युत कम्पनीलाई माघ १९ गते सर्वसाधारणका लागि कुल १७ करोड २५ लाख मूल्य बराबरको आइपीओ निश्कासनको अनुमति दिएको थियो । 

कम्पनीले जारी गर्नेमध्ये ३४ हजार ५ सय कित्ता सेयर कर्मचारीको लागि र सामूूहिक लगानी कोषको लागि ८६ हजार २ सय ५० कित्ता सेयर छुट्याएको छ । बाँकी सेयरमा मात्र सर्वसाधारणले आवेदन दिन सक्ने आइपीओ निश्कासनमा बिक्री प्रबन्धकको काम गरिरहेको एनआइबिएल क्यापिटल मार्केट लिमीटेडले जनाएको छ । 

लगानीकर्ताले न्यूनतम ५० देखि अधिकतम १५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ । 

यो कम्पनीको आइपीओलाई इक्रा नेपालले ग्रेड ३ रेटिङ प्रदान गरेको छ । यसको अर्थ कम्पनीको आधारभूत पक्ष औसत रहेको भन्ने हो । 

यूनाइटेड मोदी हाइड्रोपावर लिमीटेडले यसअघि ११ करोड ५० लाख रुपैयाँ मूल्यको ११ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र(पर्वत)का बासिन्दाका लागि २०७३ भदौ २६ देखि असोज ९ सम्म निश्कासन गरिसकेको छ । 

यूनाइटेड मोदी हाइड्रोपावरले १० मेगावाट क्षमता र १०.५ मेगावाट क्षमताको गरी कुल २ आयोजना निर्माण गरिरहेको छ । 

यूनाइटेड मोदीले यसअघि नै तल्लो मोदी १ निर्माण गरी २०६९ देखि राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ । १० मेगावाटको तल्लो मोदी १ आयोजना पर्वत जिल्लामा अवस्थित छ । यो कम्पनीले तल्लो मोदी २ जलविद्युत आयोजना सर्वसाधारण बासिन्दाको सहयोगमा निर्माण गर्न लागेको छ ।