काठमाण्डौ । फ्रेञ्च मिडियामा एउटा अनौठो खबर भाइरल बनिरहेको छ । मिडियाहरुमा एउटा अनौठो दोस्तीको बिषयमा खूब चर्चा भइरहेको हो । दोस्ती हो एउटा कुखुरा र एक नौजवान नाबिक बीचको, यी दुवै मित्र विगत दुई वर्षदेखि समुन्द्रको बाटो हुँदै विश्व भ्रमणमा निस्किएका छन् । 

फ्रान्सको ब्रिटनीबाट आएका गुइरेक सन् २०१४ मे महिनाबाट मोनिक नामको पोथी कुखुराको साथमा विश्वको भ्रमणमा निस्किएका हुन् । 

अफ्रिकाको पश्चिमी तटको छेउमा अवस्थित स्पेनको इलाकामा रहेको केनरी द्वीपबाट उनले आफ्नो विश्वयात्रा सुरु गरेका थिए । 

गत अगस्टमा आर्कटिकतर्फ मोडिने क्रममा उनीहरु क्यारेबियन सागर पुगेका थिए । यो यात्राको दौरान सो पोथी कुखुरा नाबिकसँगैको यात्रामा रहेको छ । यो कुखुराले यात्राको दौरान बेला–बेला अण्डा समेत पार्ने गरेको छ । 

यसबेला पश्चिमी ग्रीनल्याण्डमा यात्रा गरिरहेका गुइरेकले बीबीसीलाई भनेका छन् कि जब उनी कुखुरीसँग मिलेका थिए, तब कुखुरीको उमेर ५ महिनाको थियो । ‘त्यसबेला सो कुखुरी केनरी द्वीप भन्दा बाहिर कहीँ पनि गएको थिएन ।’ उनले भनेका छन्–‘मलाई स्पेनिस बोल्न आउदैन र उसलाई(कुखुर)लाई फ्रेञ्च बोल्न आउदैन । तर पनि हामी दुवै साथमै यात्रा गरिरहेका छौ, हामी एक अर्काको भाषा बुझ्छौ ।’ 

खासमा गुइरेक आफ्नो यात्राको दौरान कुनै घरपालुवा जनावरलाई साथी बनाउन चाहन्थे । तर कुखुरीको बारेमा उनले कल्पनासम्म गरेका थिएनन् । उनले भनेका छन्–‘मैले एउटा बिरालोलाई साथमा ल्याउने विचार गरेको थिएँ, तर बिरालोलाई धेरै हेरविचार गर्नुपथ्र्यो ।’ 

तर उनका लागि कुखुरी एक शानदार विकल्प थियो । यसको रेखदेखमा त्यति धेरै ध्यान पुर्याउनुपर्ने थिएन । उनका अनुसार समुन्द्रको बीचमा समेत उनलाई कुखुरीले अण्डा दिइरहेकी छे । ‘तर मान्छेले मलाई भनेका थिए, यो मित्रता धेरै दिन टिक्दैन, कुखुरी तिम्रा लागि टाउको दुखाईको बिषय बन्छ र तिमीलाई अण्डा पनि दिंदैन ।’–उनले थपे । तर यस्तो कुनै समस्या आएन र दुवैले वातावरण अनुसार आफूलाई ढाले र एकअर्कामा खूबै राम्रो हिमचिम समेत भयो । 

अब यी दुई मित्रको योजना आर्कटिकबाट अलास्कातर्फ जानु रहेको छ । तर अगाडि के हुन्छ, दुवैलाई थाहा छैन । गुइरेकले भने–‘यस बिषयमा हामीले सल्लाह गरिहालेका छैनौ, तर चाँडै हामी कतातर्फ कसरी जाने भन्ने बिषयको निर्णयमा पुग्नेछौ ।’ उनी दाबीका साथ भन्छन्–‘हामी दुई निकै कुरा गर्छौ । कुखुरीको भाषा म बुझ्छु र कुखुरीले पनि मेरो भाषा ।’

नोट : फोटो ग्यालरीका लागि तल जानुहोस् । 

-बिजशाला/बीबीसी