काठमाण्डौ । यातायात ब्यवस्था विभागले अाइतबारदेखि चावहिलको सुकेधाराबाट पनि लाइसेन्स दिने तयारी  गरेको छ ।  सुकेधारास‌ँगै जगाती र एकान्तकुना गरी अब तीन ठाँउबाट लाइसेन्स लिन सकिने भएपछि  सर्वसाधारणहरुले लाइसेन्स लिन लामो समय पर्खिनुपर्ने अवस्था अब अन्त्य हुने भएको छ । यसअघि एकान्तकुनाबाट मात्र लाइसेन्स वितरण हुँदै अाएको थियो ।

सुकेधाराबाट लाइसेन्स सम्बन्धी काम  आइतबारदेखि सुरु हुने भएको छ । शुक्रबार कार्यालयको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीताराम महतोले उपत्यकामा चारवटा यातायात कार्यालय भएपछि सेवाग्राहीले सवारी चालक अनुमति पत्र लिन र नवीकरण गर्न रातिदेखि लाइन बस्नुपर्ने झन्झट अन्त्य भएको बताए ।

“एकान्तकुनामा मात्र रहेको वाग्मती अञ्चल कार्यालयलाई तीन स्थानमा विस्तार गरेपछि सेवाग्राहीले सहज रुपमा सवारी चालक अनुमति पत्रको आवेदन फाराम भर्न र नवीकरण गर्न मध्यरातदेखि लाइन लाग्नुपर्दैन,” – उनले भने। कार्यालय खुलेका ठाँउमा परीक्षण केन्द्र (ट्रायल सेन्टर) खोल्ने पनि मन्त्रालयको योजना रहेको राज्यमन्त्री महतोले जानकारी दिए ।

हाल मोटरसाइकलको परीक्षण केन्द्र (ट्रायल सेन्टर) यातायात व्यवस्था विभाग मीनभवनमा र कारको परीक्षण केन्द्र (ट्रायल सेन्टर) नेसनल ट्रेडिङ, रामशाहपथमा हुँदै आएको छ । सीमित परीक्षण केन्द्र (ट्रायल सेन्टर) हुँदा अनुमति पत्रका लागि प्रयोगात्मक परीक्षा दिन समय कुर्नुपर्ने समस्या छ।

विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले सुकेधारामा कार्यालय खोल्न चौथोपटक विज्ञापन गरेर घरभाडा सम्झौता गरिएको जानकारी दिए । “यहाँ कार्यालय खोलेपछि सवारी जाम भएर समस्या हुन्छ भन्ने स्थानीयवासीको गुनासो थियो, तर त्यस्तो हुन दिन्नौँ” – उनले अाश्वस्त पारे।

कार्यालयमा आइतबारदेखि सवारी चालक अनुमति पत्र नवीकरण गरिने र परीक्षण केन्द्र (ट्रायल सेन्टर) खोलेपछि नयाँ अनुमति पत्र लिन आवेदन दिन सकिने कार्यालय प्रमुख सुन्दर भट्टराईले बताए । अनुमति पत्र लिन सेवाग्राहीको भीड बढेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयलाई कार्यालय थप गर्न चार महिनाअघि निर्देशन दिएको थियो । निर्देशनअनुसार खुलेको सो कार्यालयको मासिक भाडा  एक लाख तीन हजार रुपैँया पर्नेछ ।

नयाँ खुल्ने कार्यालयमा नयाँ अनुमति पत्र लिन आवेदन फाराम भर्नेको परीक्षासमेत गर्न सकिने व्यवस्था छ । यसअघि विभागले काठमाडौँको स्वयम्भूस्थित ठूलो भर्याङ र भक्तपुरको जगातीमा पनि कार्यालय खाेलेको थियो ।

विभागले एक महिनाअघिदेखि सवारी चालक अनुमति पत्रको फाराम अनलाइनबाटै भर्न सकिने सेवाको पनि  सुरुवात गरिसकेको छ । अनलाइनबाट भर्न सकिने भनी सुरु गरिएको सेवामा प्राविधिक समस्या देखिने गरेको सेवाग्राहीको गुनासो छ । विभागले एक वर्षअघिदेखि स्मार्ट सवारी चालक अनुमति पत्र वितरण सुरु गरेको थियो ।