काठमाण्डौ । कोटेश्वरको बालकुमारी पुलसँगै बहुउपयोगी तारे होटलस्तरको आईसीए ट्रेनिङ्ग सेन्टर संचालनमा आएको छ । 

सेन्टरले थ्री स्टार होटल स्तरीय सुविधा ननस्टार(न्यूून) शुल्कमा उपलब्ध गराउने पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । 

कम्प्लेक्समा १५ देखि १ सय जनासम्म अटाउने ६ वटा हल छन् । सेन्टरका हरेक हलमा भिडियो कन्फरेन्सिङ सुविधा छ । सेन्टरले कार्यक्रम गर्न चाहनेहरुलाई स्पेस प्रदान गर्नेछ । सेन्टर आफैंले सीटिईभिटी र लिंकन विश्वविद्यालयबाट सम्बन्धन लिएर विभिन्न किसिमका तालिम समेत प्रदान गर्ने संचालक सुदीप कोइरालाले जानकारी दिए  । 

तालिम केन्द्रमा ४५ जनालाई सेवा दिन सकिने इन्डोर र १ सय ५० जनालाई सेवा दिन सकिने आउट डोर रेस्टुरेन्ट छ । सेन्टरमा १ सय ३५ जनालाई आवासीय सुविधा उपलब्ध गराउन सक्ने सिंगल र कमन बेड  रुम छन् । आइसिए सेन्टरले अनलाइन र फिजिकल लाइब्रेरी समेत स्थापना गरेको छ । सेन्टरमा साउना, जिमलगायतका सुविधा समेत छन् । 

ट्रेनिङ्ग सेन्टरले बिजिनेस इन्कुभेसन सेन्टरसमेत संचालन गरेको छ । नयाँ खालका बिजनेश आइडिया ल्याउनेलाई सेन्टरले १ लाख रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म सहयोग गर्ने कोइरालाले जानकारी दिए । 

ट्रेनिङ सेन्टरले ह्यान्डी म्यान सपोर्ट सर्भिसमार्फत घर–घरमा आवश्यक १२५ प्रकारका सीपयुक्त जनशक्तिसमेत उपलब्ध गराउने बताएको छ । सेन्टर स्थापना गर्न ४ करोड लगानी गरिएको अर्का संचालक भरत तिमिल्सिनाले जानकारी दिए ।