काठमाण्डौ । नेपालका राजनीतिक दल जनताप्रति किन जवाफदेही नभएका होलान् ? दलहरुमा चरम भ्रष्टाचार, डन प्रवृति र अपराधीकरण किन हुन्छ होला ? यी सबैको उत्तर पाउनलाई केही उदाहरण हेरे पुग्छ । पछिल्ला केही दिनमा तीनवटा दलमा रहेका केन्द्रीय स्तरका नेताहरु नै विभिन्न संगीन अपराधमा संलग्नताको आरोपमा मुछिएपछि देशका राजनीतिक दलहरुले कस्तो नेतृत्व र जमात तयार गर्दैछ भन्ने देखिन्छ । दलहरुले अपराधीहरुलाई पार्टीमा प्रवेश गराउने प्रवृति बढेकै कारण देशमा न लगानीको वातावरण बनेको छ न त लगानी गरेर गरिखानेहरुले नै सुरक्षित महसुस गर्नु परेको छ । 

केही दिनअघि वीरगञ्जका उद्योगी सुरेश केडियाको अपहरण भयो । नाटकीय ढंगले भएको अपहरणको क्रममा उनको ज्यान नै खतरामा पर्यो । पारिवारिक सदस्यलाई अपहरणकारीहरुले फिरौति मागे र करिब १० करोड रुपैयाँ नगद बुझाएर केडिया भारतीय भूमिबाट मुक्त भए । उनको मुक्तिलाई भारतीय प्रहरीले आफूले उद्धार गरेको भन्दै क्रेडिट लिन खोजे पनि मोटो रकम फिरौति बुझाएपछि अपहरणमुक्त भएका कुरा बाहिर आउन कुनै समय लागेन । यति संगीन अपराधमा भारतीय अपराधीको मात्र संलग्नता होला ? यही कोणमा सोझिएको प्रहरीको अनुसन्धानको क्रममा केही कनिष्ठ प्रहरीलाई दण्डित गरिसकिएको छ । यही क्रममा सोमबार नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल विद्यार्थी संघका एक केन्द्रीय नेता केडिया अपहरणमा संलग्नताको आरोपमा पक्राउ परेका छन् । बारा प्रहरीका अनुसार सोमबार साझ महागढीमाई नगरपालिका २ बाट नेविसंघका केन्द्रीय सदस्य वीरेन्द्र यादव पक्राउ परेका हुन् । प्रहरीले केडिया अपहरण प्रकरणमा उनको संलग्नता देखिएको दाबी गरेको छ । प्रहरीले आफ्नो दाबी पुष्टि गरेर उनलाई कारबाहीको भागिदार बनाउँछ वा राजनीतिक दवाबकै भरमा मुक्त गरिदिन्छ त्यो हेर्न भने बाँकी नै छ । 

राजनीतिमा अपराधीकरणको ताजा उदाहरण यो मात्र होइन । देशलाई नयाँ ढंगले विकास गर्ने र २५ वर्षमा विश्वकै धनी मुलुक बनाइदिने गफ हाँक्ने बाबुराम भट्टराईको नयाँ शक्तिमा पनि अपराधीहरुको कमी रहनेछ भन्ने कुरा मंगलबार  खुलेको छ । सो पार्टीको राष्टिय सम्मेलन आउन ४ दिन मात्र बाँकी छँदा नयाँ शक्ति नेपालको अन्तरिम केन्द्रीय परिषद सदस्य अरुणकुमार साह जेलमा कोचिएका छन् । यिनीमाथि आरोप मात्र लागेको होइन, अदालतबाट अभियोग पुष्टि नै भइसकेको छ । अभियोग छ चोरीको । यिनले केही वर्षअघि चोरीमा संलग्न भएको प्रमाण भेटिएपछि अदालतमा मुद्धा दायर गरिएको थियो र अदालतले अभियोग पुष्टि भएको भन्दै ४ वर्ष जेल सजाय तोकेको थियो । सजाय तोकिए पनि फरार रहँदै आएका उनलाई प्रहरीले पक्राउ गरी जेल पठाएको हो । बाबुरामको नयाँ पार्टीमा साहले सप्तरी जिल्लाको संयोजक समेत भएर काम गरिरहेका थिए । 

उता, सत्तासीन नेकपा एमालेको खोटाङका जिल्लास्तरीय नेता दीपनारायण रिजालमाथि दिक्तेलस्थित शुभदिन नामको होटलमा काम गर्दै आएकी एक महिलामाथि यौनशोषण गरेको गम्भीर आरोप लागेको छ । होटल संचालक समेत रहेका रिजालले ती महिलामाथि बन्धक बनाई यौनशोषण गरेको र उनकी ३ वर्षीया छोरीलाई समेत कुटपिट गरेको आरोप लागेको छ । राजनीतिक प्रभावका आधारमा लेनदेनमा घटना मिलाउन खोजिएपछि राष्टिय मानवाधिकार आयोगको उपक्षेत्रीय कार्यालयले पीडित आमा छोरीलाई उद्धार गरेको समाचार सार्वजनिक भएको छ । रिजाललाई दोषबाट मुक्त गराउन र संभावित कारबाहीबाट बचाउन पार्टीको सिंगो जिल्ला पंक्ति लागेको दाबी गरिएको छ । एमाले सरकारमै भएका कारण उनलाई प्रहरीले समेत नपक्रेको संगीन आरोप समेत लगाइएको छ ।