काठमाण्डौ । कमल थापालाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति उल्टिएपछि राप्रपा महाधिवेशनमा नेतृत्वको रस्साकस्सी भएको छ । नेताहरूबीच आइतबारसम्म कुनै सहमति नभए अध्यक्षमा पार्टी अध्यक्ष थापा र राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीबीच प्रतिस्पर्धा हुनेछ । आइतबार दिउँसो अध्यक्षसहित केन्द्रीय सदस्यको उम्मेदवारी दर्ताको कार्यक्रम छ । 

नेता लोकेन्द्रबहादुर चन्दको निवासमा गत बुधबार भएको बैठकमा अध्यक्ष थापालाई सर्वसम्मत बनाउन चन्द, थापा, पशुपतिशमशेर राणा र डा. लोहनीबीच सहमति भएको थियो । तर, लोहनीले पार्टी एकताको स्पिरिटलाई विलयका अर्थमा बुझिएको भन्दै आफू अघि बढ्ने सार्वजनिक गरेपछि नेतृत्वमा भीडन्त हुने भएको हो । लोहनीले शुक्रबार महाधिवेशन उद्घाटन समारोहमा पनि शक्ति सन्तुलनमा सहमति भए मात्र थापालाई सर्वसम्मत बनाउन सकिने प्रस्ट भनाइ राखेका थिए । ‘दुई पक्ष मिलेर महाधिवेशनमा जाँदै छौँ । त्यसैले दुवैको शक्ति सन्तुलन भएर जाने हो भने सहमति हुन्छ,’ उनको भनाइ थियो । अन्यथा आफूहरूले उम्मेदवारी घोषणा गर्ने जनाउ उनले दिएका थिए।

लोहनी अध्यक्ष मात्र नभएर पदाधिकारीसमेत प्रतिनिधिले चुन्न पाउनुपर्ने पक्षमा छन् । राप्रपामा पदाधिकारीमा अध्यक्षको मात्र चुनाव हुँदा २३ पदाधिकारी अध्यक्षले मनोनीत गर्ने प्रावधान छ । यस्तो व्यवस्था राख्दा पार्टी एकता गरेकोभन्दा विलय गराएको सन्देश जाने डरका कारण लोहनीको अडान सार्वजनिक भएको निकटस्थले बताएका छन् । स्रोतका अनुसार पूर्वअध्यक्ष राणाले पनि लोहनीलाई मौन समर्थन गरेका छन् ।

सहमतिका लागि अनशन
नेताहरूलाई मिल्न दबाब दिँदै केन्द्रीय सदस्य धनबहादुर बुढाले महाधिवेशनस्थलमै अनशन सुरु गरेका छन् । त्यसो त बन्दसत्रमा जारी छलफलमा सहभागी महाधिवेशन प्रतिनिधिले भने केही दिनअघि चार नेताबीच भएको सहमतिलाई कार्यान्वयन गर्न सुझाब दिएका छन् । ‘राप्रपाले राष्ट्रिय राजनीतिमा प्रभाव बढाउन नेताहरू मिल्नुपर्छ भन्ने अधिकांशको सुझाब छ,’ सहप्रवक्ता मोहन श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘चार नेताबीच सहमतिअनुसार सर्वसम्मत रूपमा नेतृत्व चयनमा लाग्नुपर्छ भन्ने सुझाब आएको छ ।’

दोस्रो तहका नेता कता ?
सर्वसम्मत नभएर थापा र लोहनीबीच प्रतिस्पर्धा भए दोस्रो तहका नेता निर्णायक बन्ने देखिएको छ । लोकेन्द्रबहादुर चन्द, सुनीलबहादुर थापा, राजाराम श्रेष्ठ, विक्रम पाण्डे, धु्रुवबहादुर प्रधान, दीपक बोहरा, बुद्धिमान तामाङ, राजेन्द्र लिङदेनजस्ता नेता कुन पक्षमा लाग्ने हुन् भन्ने कौतुहलता पनि देखिएको छ । यद्यपि, उनीहरूले सर्वसम्मत रूपमै अघि बढ्न सुझाब दिइरहेका छन् । थापाले सर्वसम्मतिबाहेकको अवस्थामा अध्यक्षका लागि कमललाई समर्थन गर्ने घोषणा गरिसकेका छन् । यीमध्ये बोहरा, प्रधान र तामाङ खुलेका छैनन्, बाँकीले थापालाई समर्थन गर्ने वचन दिएको उनीनिकट एक नेताले बताए ।

विधानमा हिन्दूराष्ट्र र राजसंस्था पारित
राप्रपाले विधान संशोधन प्रस्तावलाई पारित गर्दै प्रस्तावनामा सनातन हिन्दूराष्ट्र नेपाल र राजसंस्थाको विषय उल्लेख गरेको छ । महाधिवेशनले मस्यौदाका रूपमा प्रस्तुत राजासहितको प्रजातन्त्र, हिन्दूराष्ट्र र सुदृढ स्थानीय स्वायत्त शासनको राजनीतिक लाइन सामान्य परिमार्जनसहित सर्वसम्मतले पारित गरेको हो । यसअघि कार्यसम्पादन समितिबाट पारित प्रस्तावमा यी विषय उल्लेख थिएनन् ।

चुनाव चिह्नको विषय टुंगिएन
महाधिवेशनका दौरान वैचारिक मतभेद नदेखिए पनि चुनाव चिह्नको विवाद टुंगिएको छैन । यसअघि राप्रपाका नेताहरूले हलोलाई चुनाव चिह्न बनाउनुपर्ने लबिङ गरिरहेका छन् भने राप्रपा नेपाल पक्षधरले गाईलाई चुनाव चिह्न बनाउनुपर्ने अडान राखिरहेका छन् । बन्दसत्रमा पनि दुवै पक्षधरले आआफ्ना पूर्व पार्टीका चुनाव चिह्नको पक्षमा मत व्यक्त गरिरहेका छन् । विवादकै कारण विधानमा चुनाव चिह्नको विषय टुंगिन सकेन । चुनाव चिह्नको निर्णयविना सामान्य परिमार्जनसहित विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित भएको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राजनीतिक र आर्थिक कार्यपत्रमा छलफल जारी
शुक्रबार बन्दसत्रमा प्रस्तुत भएको राजनीतिक र आर्थिक कार्यपत्र आइतबार मात्र पारित हुने भएको छ । कार्यपत्रमाथि शनिबार १ सय १४ जना प्रतिनिधिले बोलेकामा अझै सयजनाले बोल्न नाम लेखाएका छन् । तर, बोल्न बाँकीबाट अझै कटौती गरेर आइतबार दुई कार्यपत्र पारित गर्ने निर्वाचन कार्यक्रम सुरु गर्ने तयारी राप्रपाको छ ।

एक अध्यक्ष र ९८ सदस्यमा निर्वाचन
सर्वसम्मत हुन नसके अध्यक्ष चयन गर्न निर्वाचन हुनेछ । निर्वाचन हुँदा एक अध्यक्ष र १ सय ६३ केन्द्रीय सदस्यको ६० प्रतिशत अर्थात् ९८ सदस्यको निर्वाचन हुनेछ । १ सय ६३ को ४० प्रतिशत अर्थात् ६४ सदस्य मनोनीत हुन्छन् । केन्द्रीय कार्यसम्पादन समितिले यसअघि १ सय ६१ सदस्यीय कार्यसमितिको प्रस्ताव गरे पनि विधान संशोधन समितिको प्रस्तावमा महाधिवेशनले दुई सदस्य थप गरेको हो । यसअघि १ सय ६१ केन्द्रीय सदस्य तोकिए पनि बन्दसत्रले दुईजना थपेको हो । १, ६ र १ जोड्दा आठ अंक हुने र यो अशुभ मानिने भन्दै दुईजना थपिएको एक नेताले जानकारी दिए ।

पदाधिकारीमा केन्द्रमा पाँच र जिल्लामा एक महिलासहित तीन उपाध्यक्ष रहनेछन् । यसअघि जिल्लामा ३ सय ५५ मनोनीत रहने व्यवस्थालाई परिवर्तन गरी ४ सय ५ कायम गरिएको छ । विधानमा उल्लेखित विभागहरूमा थप गरी अपांग हकहित विभाग र विपत् व्यवस्थापन विभाग पनि थपिएका छन् ।

बन्दसत्रमा थापा नाचेपछि
शनिबार बन्दसत्रको अन्तिममा सांस्कृतिक कार्यक्रम आयोजना भएको थियो । कोमल ओलीले गीत गाइन् । त्यसपछि अध्यक्ष कमल थापा र श्रीमती प्रलिता थापा उठेर नाचेका थिए । महामन्त्री राजेन्द्र लिङदेन र धवलशमशेर पनि मञ्चमै नाचेका थिए ।

अध्यक्षको उम्मेदवारी महँगो, ५० हजार शुल्क
राप्रपामा उम्मेदवारी दर्ता गराउन मात्र ७ हजारदेखि ५० हजार रुपैयाँ तोकिएको छ । प्रवक्ता राजाराम श्रेष्ठका अनुसार अध्यक्षका लागि उम्मेदवारी दर्ता गराउन ५० हजार शुल्क लाग्नेछ । केन्द्रीय सदस्यले सात हजार रुपैयाँ बुझाउनुपर्नेछ । शनिबार नै मतदाता नामावली सार्वजनिक गरिएको छ । उम्मेदवारी दर्तासहितका निर्वाचनका प्रक्रिया आइतबार हुने र सोमबार मतदान हुनेछ ।

कोमल वलीमा आकर्षण
पार्टी प्रवेश गरेकी गायिका एवं समाचारवाचिक कोमल वलीप्रति राप्रपामा आकर्षण देखिएको छ । राप्रपाले १ सय ६३ सदस्यीय केन्द्रीय समितिमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने गरी विधान तय गरे पनि वलीले खुला केन्द्रीय सदस्यमै निर्वाचन लड्ने घोषणा गरेकी छिन् । वलीले शनिबार बन्दसत्र भइरहेको भृकुटीमण्डपको बगैँचामा ‘महिला कोटामा होइन खुलामा उठेकी छु’ भन्दै भोट मागेकी थिइन् । उनले भोट माग्दै गर्दा उनीसँग फोटो खिचाउने र सेल्फी लिनेको भीड लागेको थियो ।

भन्छिन्, पहिलो नम्बरमा जित्छु
राजनीतिमा मेरो पहिलो पाइला हो । राष्ट्रवादी र देशभक्त राप्रपा, हिन्दूधर्मका लागि आवाज उठाउने, अखण्डताको पक्षमा उभिने, राजसंस्थाको विषय उठाउने पार्टी हो । यो सोच नेपालका लागि आवश्यक छ । यसैले गर्दा राप्रपामा प्रवेश गरेको हुँ । खुला सदस्यमा उठ्नु भनेको म सक्षम छु, मलाई आरक्षण कोटा चाहिँदैन भन्ने हो ।

मैले पार्टीमा एकदमै सपोर्ट पाइरहेको छु । म सत्कर्म गर्ने मान्छे, सकारात्मक विचार र सोच छ, छलकपट छैन । विद्यार्थीकालदेखि नै राजसंस्थाप्रति लगाव थियो । राजा वीरेन्द्र र रानी ऐश्वर्यले दिएको छात्रवृत्तिमा पढेर यहाँसम्म आएकी हुँ । म रङ फेर्ने, यताउति दौडने पक्षमा छैन । मलाई कमल थापाले नै पार्टीमा प्रवेश गराउनुभयो । केन्द्रीय सदस्यमा म सबैभन्दा बढी मत ल्याएर जित्छु भन्नेमा निश्चिन्त छु ।

राजनीति गर्न सरकारी जागिर छाडेँ
सरकारी कर्मचारी भएर चुनाव लड्न सजिलो हुँदैन, गर्नु पनि हुँदैन । यो हिसाबले मैले पदबाट राजीनामा दिएको छु । मैले पाउने सुविधा लिएको छैन, अब लिने प्रक्रियामा छु ।

थापा र लोहनीको प्रचारप्रसार
राप्रपाको एकता महाधिवेशनले भृकुटीमण्डप क्षेत्र उत्सवमय बनेको छ । अध्यक्षका दाबेदार कमल थापा र डा. प्रकाश लोहनीका पक्षधर कार्यकर्ताले मत माग्दै बाजागाजासहित झाँकी प्रदर्शन गरेका छन् । थापालाई अध्यक्ष बनाउनुपर्ने, राजसंस्था ल्याउनुपर्ने भन्दै उनी पक्षधर नेता–कार्यकर्ताले महाधिवेशनस्थलमा मत माग्ने गरेका छन् । लोहनी पक्षधरले ‘सबैलाई हेर्‍यौँ पटकपटक, लोहनीलाई हेरौँ यसपटक’ भन्दै नारा–जुलुससहित प्रदर्शन गरेका छन् । केन्द्रीय सदस्यका आकांक्षीले पनि प्रशस्तै फ्लेक्स र ब्यानर झुन्ड्याएर भृकुटीमण्डपलाई रंगीन बनाएका छन् । यो खबर आजको नयाँपत्रिकामा छापिएको छ ।