नयाँदिल्ली । पतञ्जली आयुर्वेद कम्पनीलाई रातारात लोकप्रिय बनाउन भलै बाबा रामदेवको नाम अगाडि आउँछ, तर तपाईंलाई थाहा नहुन सक्छ, बाबा रामदेवले पतञ्जली चलाएका होइनन् वा उनको लगानीले यो कम्पनी आजको उच्च स्तरमा आएको होइन । 

देशी र विदेशी मल्टिनेशन कम्पनीलाई टक्कर दिने हैसियत बनाएको पतञ्जली आयुर्वेद कम्पनीको सबैभन्दा ठूला मालिक नेपाली मूलका भारतीय नागरिक आचार्य बालकृष्ण हुन् । भारतको मिनिस्ट्री अफ कर्पोरेट अफेयर्सका अनुसार पतञ्जली आयुर्वेदमा एक्ला बालकृष्णको मात्र ९४ प्रतिशत शेयर स्वामित्व छ । पतञ्जलीमा बाबा रामदेवको भूमिका ब्राण्ड प्रमोटरको मात्र हो । 

पतञ्जलीमा कस–कसको लगानी ?
मिनिस्ट्री अफ कर्पोरेट अफेयर्सका अनुसार पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य बालकृष्णको शेयर स्वामित्व ९३.७  प्रतिशत छ । उनी बाहेक सर्वन पोद्धारको शेयर स्वामित्व ३.०१६ प्रतिशत, सुनिता पोद्धारको पनि ३.०१६ प्रतिशत, रजत प्रकाशको ०.१२१, गोविन्द अग्रवालको ०.१२१, राम भरतको ०.०१५ तथा मुक्तानन्दको ०.००२ प्रतिशत शेयर स्वामित्व रहेको छ । बालकृष्ण बाहेक अन्य अधिकांश लगानीकर्ता गैरआवासीय भारतीयहरु हुन् ।  

सन् १९९५ मा जब बाबा रामदेव चर्चित योग गुरुको रुपमा उदाए, तब बालकृष्णले स्वामी शंकर देवको आश्रममा दिव्य फार्मेसी सुरु गरेका थिए । उनले आयुर्वेद र हर्बल दबाई बनाउन सुरु गरे । दिव्य फार्मेसी ट्रस्ट अन्तर्गत दर्ता थियो । रामदेवको लोकप्रियतासँगै कयौं गैरआवासीय भारतीयबाट आर्थिक सहयोग उपलब्ध हुन थाल्यो । 

सन् २००६ मा पतञ्जली आयुर्वेद एक प्राइभेट कम्पनीको रुपमा स्थापित भयो । यसपछि यो कम्पनीले हेल्थकेयर, हेयर केयर, डेण्टल केयर तथा खाद्यान्नसँग सम्बन्धित प्रडक्टहरु बजारमा ल्यायो । 

कसरी बढ्यो पतञ्जलीको कारोबार ?
स्वामी रामदेवले भनेका छन् कि पतञ्जलीले मात्र चार वर्षको अवधिमा ११ सय प्रतिशतको प्रगति हासिल गर्यो । उनका अनुसार पतञ्जलीले २०११–१२ मा ४४६ करोड भारु, २०१२–१३ मा ८५० करोड भारु, २०१३–१४ मा १२०० करोड भारु तथा २०१४–१५ मा २००६ करोड भारु बराबरको कारोबार गरेको छ । 

गत आर्थिक वर्षमा कम्पनीले १५० प्रतिशतको उन्नति कायम गरी ५ हजार करोड भारु कारोबारको लक्ष्य हासिल गरेको छ । आगामी आर्थिक वर्षका लागि पतञ्जलीले १० हजार करोड भारु बराबरको कारोबारको लक्ष्य केही दिनअघि सार्वजनिक गरेको थियो । 

मल्टिनेशन कम्पनी अत्तालिए
पतञ्जलीले भनेको छ कि उसले सन् २०१४–१५ मा २००६ करोड भारु बराबरको कारोबार गर्न सफल भएको छ । यो तथ्याङ्क हाल उच्च व्यापार गरिरहेका मल्टिनेशन कम्पनीका लागि खतराको घण्टी बन्नसक्छ । प्रोक्टर एण्ड गेम्बल(पि एण्ड जी) हेल्थकेयर कम्पनीको कमाई समान वर्षमा २४०९ हजार करोड भारु, ज्योति लेब नामक कम्पनीको सोही वर्षको कमाई १५०४ करोड भारु तथा इमामी लिमीटेडको कमाई २२२० करोड भारु मात्र रहेको छ । 

रामदेवका अनुसार कम्पनीले मात्र ४ वर्षमा ११ सय प्रतिशतको ग्रोथ हासिल गरेको छ । जब दुनियाँ आर्थिक मन्दीबाट पिरोलिएको थियो, सो बेला(अघिल्लो आर्थिक बर्षमा) पनि पतञ्जलीले १५० प्रतिशतको ग्रोथ हासिल गरेको छ । गत आर्थिक बर्षमा यो कम्पनीको खूद कारोबार ५ हजार करोड भारु थियो । यसमा घिउ मात्र १३०८ करोड भारुको कारोबार भएको छ । 

पतञ्जली, रामदेव र विवाद


पतञ्जली आयुर्वेद र यसलाई प्रमोट गर्ने रामदेव बाबाबीचको विवादको नाता निकै पुरानो र लामो छ । सन् २००६ मा सीपीआईका नेता वृन्दा करातले पतञ्जली ट्रस्टको दबाईमा मानिस र जनावरको हड्डीको धूलो प्रयोग हुने गरेको संगीन आरोप लगाए । 

रामदेवले २००९ देखि २०११ सम्म दिल्लीको हाइकोर्टमा होमोसेक्सको अपराधको बिषयमा विवादित बयान दिएका थिए । सो बेला रामदेवले भनेका थिए कि यो एकप्रकारको बिमारीपन हो, जसको निदान योगअभ्यासबाट ६ महिनामा संभव छ । 
सन् २०११, जुन महिनामा रामदेव सेतो रंगको सुटमा रामलीला मैदानमा कालोधनको विरोधमा उत्रिएका थिए । सोबेला त्यहाँ दिल्ली पुलिसले लाठीचार्ज नै गर्नुपरेको थियो । सोही महिना बाबा रामदेवले अमेरिकाको भर्जिनिया राज्यमा संचालन गरेका भनिएको गैरनाफामुखी गतिविधिको प्रहरीले छानबिन गरेको थियो । उनीमाथि गैरकानूनी ढंगबाट अनलाइन माध्यमको प्रयोग गरी हेल्थकेयर प्रडक्ट बिक्री गर्ने गरेका आरोप लागेको थियो । 

आचार्य बालकृष्णमाथि पनि शैक्षिक दस्तावेजमा हेराफेरी गरेको, जाली पासपोर्ट बनाएको, विदेशमा धन जम्मा गरेको आरोप लागेको थियो । सीबीआईले सन् २०११ जुलाई २३ मा उनीविरुद्ध मुद्धा दायर गरेको थियो । 

२०११ नोभेम्बरमा बाबा रामदेवविरुद्ध यूपिए सरकारले  जमिनदारी उन्मूलन र भूमिसुधार अधिनियम सम्बन्धी भारतीय कानून उल्लंघन गरेको आरोपमा अर्को मुद्धा दर्ता गरेको थियो । 

सन् २०१३ अक्टोबरमा पतञ्जली आयुर्वेद कम्पनीमै राजश्व अधिकारीहरुले रेड हानेका थिए । कम्पनीमाथि कस्मेटिक प्रडक्टको कर नतिरेको आरोप लागेको थियो । 

सन् २०१५ मार्चमा  बाबा रामदेवको दिव्य योगा मन्दिर ट्रस्टका ११३ कर्मचारीले न्यूनतम तलब नदिएको र कर्मचारीहरुको अधिकारमाथि समेत हस्तक्षेप गर्ने गरेको आरोप लगाएका थिए । सन् २०१५ को नोभेम्बरमा पतञ्जली आयुर्वेद कम्पनीलाई नूडल्स ब्राण्डको क्लियरेन्स प्राप्त नभएको आरोप समेत लागेको थियो । एजेन्सीबाट अनुवादित