वासिङटन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पारिवारिक कारोवार बढाउन राष्ट्रपति पदको दुरुपयोग गरेको आरोप लागेको छ।आफ्नी छोरीको कपडा पसललाई लिएर उनले ट्विट गरेपछि डेमोक्र्याट सभासद्ले यस्तो आरोप लगाएका हुन् । 

अमेरिकी राष्ट्रपति ट्रम्पकी छोरी इभांकाले कपडाको ब्रान्ड चलाउँछिन्। हालै नोर्डस्ट्रामले ट्रम्पपुत्री इभांकाको ब्रान्डलाई आफूले बिक्री गर्न हटाएको थियो। यसै विषयलाई लिएर राष्ट्रपति ट्रम्पले नोर्डस्ट्रामको आलोचना गर्दै ट्विट गरे।

डेमोक्र्याटिक पार्टीका सांसद बब केसीले राष्ट्रपतिले पदीय गरिमा उल्लंघन गरेको आरोप लगाएका छन्। ट्रम्पको कार्यलाई ‘फेडरल एथिक्स अफिस’ले छानबिन गर्नुपर्ने माग गरेका छन्। पारिवारिक कारोबार बढाउन राष्ट्रपति पदको दुरुपयोग भएको भन्दै उनका विरुद्ध आवाज उठ्न थालेका छन्।

सिनेटर केसीले अमेरिकन अफिस अफ गभर्मेन्ट एथिक्सको ध्यान आकर्षण गराएका छन्। ट्रम्पले ट्विटमा लेखेका छन्, ‘मेरी पुत्री इभांकासँग नोडस्ट्रामले दुव्र्यवहार गरेको छ। उनी निकै असल मानव हुन्। उनले सधैं असल काम गर्छिन्।’ इभांकासँग भएको व्यवहार निकै अभद्र भएको ट्रम्पको जिकिर छ।

ट्रम्पले उक्त ट्विटलाई केही समयपछि अमेरिकी राष्ट्रपतिको आधिकारिक ट्विटर ह्यान्डलबाट पनि ट्विट गरिएको थियो। डेमोक्र्याटिक पार्टीका नेतृ नान्सी पलोसीले पनि यसै विषयलाई लिएर सिनेटमा ट्रम्पको आलोचना गरेकी छन्। उनले भनिन्, ‘मेरो विचारमा यो अनुचित काम हो। ट्रम्प पूर्ण रूपमा एक अनुचित राष्ट्रपति हुन्। उनले आफूले जे गर्न सक्छन्, त्यही नै गरेका छन्।’

नोर्डस्ट्रामले गत साता इभांकाको ब्रान्डलाई बिक्री नगर्ने घोषणा गरेको थियो। यो ब्रान्डको बिक्री निकै कम भएको भन्दै उसले बिक्री नगर्ने बताएको थियो। नोर्डस्ट्रामले भनेको थियो, ‘हामीले पटक पटक भन्दै आएका छौं। हामीले बिक्री र प्रदर्शनको आधारमा निर्णय गर्छौं। हामीसँग हजारौं ब्रान्ड छन्।’ समय समयमा गरिएको बजार विश्लेषणअनुसार यस्तो निर्णय गर्नुपरेको उसको भनाइ छ।

यसअघि ट्रम्पको विरोध गर्दै आएको ‘ग्रयाब योर वालेट’ले हप्तौंसम्म इभांका ब्रान्डको बहिष्कार अभियान चलाएको थियो। उक्त संगठनले नोर्डस्ट्रामसँग ट्रम्प परिवारसँगको कारोबार बन्द गर्न चेतावनी दिएको थियो। इभांकाको बिक्री हटाउनुभन्दा ३ दिनअघि नोर्डस्ट्रामले डोनाल्ड ट्रम्पको ‘मुस्लिम र शरणार्थी प्रवेश प्रतिबन्ध’को कडा विरोध गरेको थियो।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका प्रेस सचिव सिन स्पाइसरले ट्रम्पको ट्विट अनुचित नभएको दाबी गरे। उनले भने, ‘राष्ट्रपतिलाई आफ्नो परिवारको कारोबार र सफलताको प्रशंसा गर्ने पूरा अधिकार छ। कसैले राष्ट्रपतिको नीतिलाई लिएर उनका परिवारका सदस्यलाई निसाना बनाउँछ भने त्यो अस्वीकार्य छ।’

कुनै पनि बाबुले राष्ट्रपति भए पनि परिवारलाई साथ दिने पूरा अधिकार भएको उनले बताए। नार्डस्ट्रामले भने जनवरीको सुरुदेखि नै आफूले यस्तो निर्णयको तयारी गरेको बताएको छ। यो खबर आजको अन्नपूर्णमा छापिएको छ ।