काठमाण्डौ । पटकपटकको ताकेता पछि ठूलाबडाले पानीको बक्यौता तिरेका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई लामो समयसम्म पानीको बिल नतिरेपछि तालुकदार निकाय खानेपानी तथा सरसफाई मन्त्रालयले पत्रै काटेर ताकेता गरेपछि बक्यौता तिरेका हुन् ।

मन्त्रालयका अनुसार प्रधानमन्त्री निवास बालुवाटरले वैशाख १० गतेसम्मको पानी बक्यौता रकम २९ लाख २६ हजार एक सय ३० रुपैंया तिरेको छ । त्यसैगरि प्रधानन्यायाधीश निवास बालुवाटारले १५ लाख ६२ हजार रुपैंया, सभामुख निवासले पाँच लाख ५८ हजार रुपैंया, मन्त्री क्वाटर पुल्चोकले ५१ लाख ९८ हजार रुपैंया केयुकेएललाई तिरेको छ । अख्तियारले यसअघि नै ४७ हजार सात सय ३४ रुपैंया तिरेको थियो ।

खानेपानी तथा सरसफाई मन्त्री जीवन बहादुर शाहीले ठूला तालुकदार निकायले नै पानीको बक्यौता रकम नतिरेपछि अन्यले कसरी तिर्छन् भनेर मन्त्रीपरिषद्को वैठकमै कुरा उठाएका थिए ।

राष्ट्रपति कार्यालयले भने अझै बक्यौता रकम बुझाएको छैन । मन्त्रालयका अनुसार राष्ट्रपति कार्यालयको पानी बक्यौता रकम एक करोड ४४ लाख ४६ हजार ६ सय ३६ रुपैंया छ । राष्ट्रपति कार्यालयसँगै अन्य मन्त्रालय र कार्यालयले केयूकेएललाई ४२ करोड ३१ लाख ९९ हजार दुई सय ४३ रुपैंया पानीको बक्यौता तिर्न बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच केयुकेएलले पानीको बिल तिर्ने र नतिर्ने कार्यालयहरुको लगत राख्न अध्याधुनिक काउन्टर सञ्चालनमा ल्याएको छ । केयुकेएललाई प्रविधिमैत्री बनाउन मन्त्रालयको पहलमा १० वटा शाखा मध्ये ६ वटामा विद्युतीय काउन्टर सुरु गरेको हो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।