काठमाण्डौ । नेपाल सरकारको गुप्तचर एजेन्सी राष्ट्रिय अनुसन्धान विभागमा रिक्त ७५ पदमा अनुसन्धान अधिकृत र अनुसन्धान सहायकका लागि जागिर खुलेको छ ।    

सोमबार आवश्यकता सम्बन्धी सूचना प्रकाशित गरी राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृत तहमा २७ जना र अनुसन्धान सहायकतर्फ ४८ जनाका लागि आवेदन माग गरेको छ ।    

अनुसन्धान अधिकृतमध्ये खुल्लातर्फ १५ जना, आदिवासी जनजातिका लागि ३, मधेशी ४, महिला २, दलित २ र पिछडिएको क्षेत्रका लागि एउटा आरक्षण कोटा छुट्याइएको छ । यसैगरी, अनुसन्धान सहायकतर्फ पनि खुल्लामा २६, आदिवासी जनजाति ७, मधेशी ६, महिला ४, दलित ३ र पिछडिएको क्षेत्रका लागि २ पद आरक्षित गरिएको छ ।  इच्छुक योग्य उम्मेद्वारले आज(सोमबार)को ३० दिनभित्रमा तोकिएका स्थानमा गएर दरखास्त दिनुपर्ने सूचनामा उल्लेख छ । अधिकृत पदका लागि स्नातक तहको शिक्षा पूरा गरेको, पुरुषको हकमा २१ बर्ष पूरा भई २५ बर्ष ननाघेको तथा महिलाको हकमा २१ बर्ष पूरा भएको ३० बर्ष ननाघेको हुनुपर्ने उल्लेख छ। यसैगरी, सहायकका लागि चाहि कम्तीमा प्रमाणपत्र तह उत्तीर्ण गरेको, २१ बर्ष पूरा भई २५ बर्ष ननाघेको पुरुष तथा २१ बर्ष पूरा भई ३० बर्ष ननाघेका महिलाले आवेदन दिन सक्ने जनाइएको छ । परीक्षार्थीहरुले लिखित र अन्तरवार्तामा सहभागितामा जनाउनुपर्ने छ ।    

दुवै पदमा आवेदन दिन चाहनेले स्वीकृत चिकित्सकबाट तत्काल प्राप्त गरेको निरोगिताको प्रमाणपत्र, नेपाल सरकारका दुई राजपत्राङ्कित अधिकृतबाट राम्रो चरित्रको सिफारिस, कुनै नैतिक पतनदेखि फौजदारी अभियोगको सजाय नपाएको तथा कुनै अबैध संस्थाको सदस्य नभएको हुनुपर्नेछ ।    

इच्छुक उम्मेद्वारले राष्ट्रिय अनुसन्धान विभाग बरफबाग सिंहदबार काठमाण्डौ, राष्ट्रिय अनुसन्धानका क्षेत्रीय कार्यालयहरु धरान(पूर्वाञ्चल), हेटौडा(मध्यमाञ्चल), पोखरा(पश्चिमाञ्चल), वीरेन्द्रनगर(मध्यपश्चिमाञ्चल) र दिपायल(सुदुरपश्चिमाञ्चल)मा गएर दरखस्त दिनसक्नेछन् । दरखास्त फारमका लागि ५० रुपियाँ शुल्क तिर्नुपर्ने छ।     अनुसन्धान अधिकृतका लागि दरखास्त दिन चाहनले एकहजार रुपियाँ र एकभन्दा बढी प्रत्येक समूहका लागि थप ४ सयका दरले दस्तुर बुझाउनुपर्ने छ । सहायकका लागि चाहि ३ सय रुपियाँ र एकभन्दा बढी प्रत्येक समूहका लागि थप १ सयका दरले दस्तुर बुझाउनुपर्ने छ ।