काठमाण्डौ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले विभिन्न ६ पदका लागि २ सय ४९ जना कर्मचारीका लागि जागिरको अवसर खुलाएको छ । 

प्रवीणता प्रमाणपत्र तह उत्तीर्णदेखि स्नातकोत्तर उत्तीर्णसम्मका लागि जागिरको अवसर खुलेको हो । 

वाणिज्य बैंकले सबैभन्दा धेरै प्रशासन समूहतर्फ छैठौं तहको सहायक प्रबन्धक पदमा ६९ जना कर्मचारी मागिएको छ । यो संख्यामा ३८ जना खुल्ला, १० महिला, ८ आदिवासी जनजाति, ७ मधेशी, ३ दलित, २ अपांग र १ पिछडिएको क्षेत्रका लागि कोटा छुट्याइएको छ । 

यो पदमा आवेदन दिन चाहनेसँग अर्थशास्त्र वा व्यवस्थापनतर्फ स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने उल्लेख छ । 

यसैगरी, प्रशासनतर्फकै वरिष्ठ सहायककोे पदमा १९ जनाका लागि जागिर खुलाइएको छ । यसमा १० जना खुल्ला, ३ महिला, २ आदिवासी जनजाति, २ मधेशी, १ दलित र १ अपांगका लागि कोटा छुट्याइएको छ । 

पाँचौ तहकै प्रशासनतर्फ वरिष्ठ सहायक(नगद) पदमा ५० जना मागिएको छ । यसमा २८ खुल्ला, ७ महिला, ६ आदिवासी जनजाति, ५ मधेशी, २ दलित, १ अपांग र १ पिछडिएको क्षेका लागि कोटा छुट्याइएको छ । 

वरिष्ठ सहायक र वरिष्ठ सहायक(नगद) पदका लागि व्यवस्थापन, अर्थशास्त्र वा वाणिज्य शास्त्रमा स्नातक उत्तीर्णले दरखास्त दिनसक्ने बैंकले प्रकाशित गरेको आवश्यकता सम्बन्धी सूचनामा उल्लेख छ । 

प्रशासनतर्फको पाँचौ तहको वरिष्ठ सहायक(कम्प्युटर अपरेटर) पदमा ६ जना कर्मचारी मागिएको छ । ३ खुल्ला तथा महिला, आदिवासी जनजाति, मधेशीका लागि १ १ जनाको कोटा छुट्याइएको छ । 

यसैगरी, प्रशासन सेवाको प्रशासन समूहकै चौथो तहको सहायक पदमा ५५ कर्मचारी मागिएको छ । यो संख्यामध्ये ३० खुल्ला, ८ महिला, ७ आदिवासी जनजाति, ६ मधेशी, २ दलित, १ अपांग र १ पिछडिएको क्षेत्रका लागि कोटा छुट्याइएको छ । 

यस्तै, नगद समूहको प्रशासन सेवातर्फ चौथो तहको सहायक(नगद) पदका लागि ५० कर्मचारी मागिएको छ । यसमध्ये २८ खुल्ला, ७ महिला, ६ आदिवासी जनजाति, ५ मधेशी, २ दलित, १ अपांग र १ पिछडिएको क्षेत्रका लागि कोटा छुट्याइएको छ । 

वरिष्ठ सहायक(कम्प्युटर अपरेटर) पदका लागि मान्यताप्राप्त  शिक्षण संस्थाबाट कम्प्युटर वा कम्प्युटर साइन्स, वा कम्युनिकेशन, वा सूचना प्रविधि विषयमा स्नातक तहको उपाधि हासिल गरेकोले आवेदन दिन सक्ने बताइएको छ । 

यसैगरी, सहायक वा सहायक(नगद) पदका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट दश  जोड दुई वा प्रवीणता  प्रमाणपत्र तह उत्तीर्णले आवेदन दिन सक्ने बताइएको छ । 

इच्छुक उमेद्वारले ३० दिन अर्थात् असोज २८ गतेभित्र सिंहदरबार अगाडि रामशाहपथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा दरखास्त बुझाउनुपर्ने हुन्छ । दोब्बर दस्तुर तिरेर थप ७ दिन आवदन फारम बुझाउन सक्ने बैंकले जनाएको छ । बैंकको वेवसाइड www.rbb.com.np मा गएर क्यारियर नोटिस बाट आवेदन फारम डाउनलोड गरी भर्न सकिने छ । तर, बुझाउन भने बैंकमै जानुपर्छ ।

लिखित परीक्षा लोक सेवा आयोगले लिने भएकाले उम्मेदवारहरुबीच प्रतिस्पर्धा गरी बढी अंक प्राप्त गर्नेलाई छनौट गरिने बैंकले जनाएको छ । लिखित परीक्षा पास गरेकाहरुलाई बैंकले मौखिक परीक्षा पनि लिनेछ ।

तलव तथा सुविधा बैंकको नियम अनुसार हुने सूचनामा उल्लेख छ । बैंकमा जागिर खाने नयाँ कर्मचारीका हकमा महिलालाई ६ महिना र पुरुषलाई १ वर्ष परीक्षण अवधि रहेको बैंकले जनाएको छ ।