काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकको सेयरमा पनि जनतालाई लगानीको अवसर दिने विषयमा अर्थ मन्त्रालयको असहयोगका कारण लामो समयदेखि परेको गाँठो फुकेको छ ।

एमाले सरकारको पालामै सरकारको पूर्ण स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको संचालक समितिले चुक्तापूँजीको ३० प्रतिशत सेयर जनताका लागि निश्कासन गर्ने प्रस्ताव गरे पनि तत्कालीन अर्थ मन्त्रालयले त्यो प्रस्तावलाई अस्वीकार गरिदिएको थियो । 

तर, कृष्णबहादुर महरा अर्थमन्त्री भएपछि भने यो प्रस्तावले गति लिएको हो । फलस्वरुप अर्थमन्त्रालयबाट स्वीकृति पाएपछि बिहीबार राष्ट्रिय वाणिज्य बैंकले एक पत्रकार सम्मेलनको आयोजना गरी औपचारिक रुपमा चालु आर्थिक वर्षभित्र नै सर्वसाधारणका लागि ३० प्रतिशत सेयर निश्कासन गर्न लागिएको घोषणा गरेको हो । 

पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारीअधिकृत किरणकुमार श्रेष्ठले बैंक तथा बित्तिय संस्थाहरुले अनिवार्य रुपमा ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्नुपर्ने प्रावधान बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐनमा रहेकोले त्यसकै कार्यान्वयनका लागि आफूहरुले अर्थ मन्त्रालयमा लेखी पठाएको र सरकारले समेत निश्कासनको निर्णय गरेको प्रष्ट्याए । ऐनकै प्रावधानअनुसार निजी क्षेत्रका अधिकांश बैंकले सेयर स्वामित्व मिलान गरिसकेका भए पनि सरकारी लगानीको यो बैंकले भने अहिलेसम्म साधारणसभा सेयर निश्कासन नगर्दा ऐनको उल्लंघन भइरहेको थियो । 

सीइओ श्रेष्ठका अनुसार आगामी असारसम्ममा सर्वसाधारणका लागि सेयर निश्कासनको सबै प्रक्रिया पूरा भइसक्नेछ । 

२१ करोडले बढ्यो नाफा
यसैबीच, पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक पनि प्रभूू बैंक झै दोश्रो त्रैमासमा खूद नाफामा उल्लेख्य वृद्धि गरी अर्ब क्लबमा प्रवेश गरेको छ । यो बैंकले पहिलो ६ महिनामै खूद नाफा १ अर्ब ३० करोड रुपैयाँ कमाएको हो । अघिल्लो वर्षको सोही अवधिमा यो बैंकको खूद नाफा १ अर्ब ९ करोड थियो । यो अवधिमा बैंकले १ खर्ब ३८ अर्ब निक्षेप संकलन गरी ९३ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैैंकले खराब कर्जाको अनुुपातलाई ३ प्रतिशतमा झारेको समेत पत्रकार सम्मेलनमा बताइएको थियो । 

हाल यो बैंकको चुक्तापूँजी ८ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । 

यो बैंकले सहायक कम्पनीको रुपमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड पनि स्थापना गरेको छ । लघुवित्त संस्था स्थापनाको समेत तयारी भइरहेको पत्रकार सम्मेलनमा बताइएको छ । 

२०२२ साल माघमा स्थापना भएको बैंकका देशभर १७१ शाखा छन् । यो बैंकमा हाल दुई हजार ३ सय १३ कर्मचारी छन् भने २४ लाख भन्दा बढी ग्राहक छन् । ३ लाख ग्राहकलाई मोबाइल बैंकिङ सेवा उपलब्ध गराएको बताउने बैंकले चालुु आर्थिक बर्षमा २५ स्थानमा शाखारहित बैंकिग सेवा विस्तार गर्ने समेत बताएको छ ।