एजेन्सी । भारतीय सुपरस्टार रजनीकान्तको आउन लागेको फिल्म ‘कबाली’ रिलिजअघि नै हिट भएको छ । यो फिल्म आगामी जुलाई १५ मा रिलिज हुने मिति तय भएको छ । तर रिलिजअघि नै यो फिल्मले ३ सय करोड सहजै कमाउने अवस्था देखिएको भारतीय संचारमाध्यमहरुले बताएका छन् । 

भारतीय मिडियाहरुका अनुसार यो फिल्मले अहिलेको अवस्थामा पनि १ सय करोड सजिलै नाफा कमाउने देखिएको छ । 

रजनीकान्तको यो फिल्मको टेलर नै औधी हिट भइसकेको छ । यूट्यूबमा यो फिल्मको टेलर हालसम्म २ करोड ३५ लाखले हेरिसकेका छन् । कुनै पनि फिल्मको टेलर यति धेरै हिट हुनु पनि एउटा रेकर्ड भएको संचारमाध्यमहरुले भनेका छन् । 

मिडिया रिपोर्टका अनुसार कबाली निर्माणमा ८० देखि १ सय करोडसम्म खर्च भएको थियो । यो फिल्मलाई रजनीकान्तको सबैभन्दा महंगो तेश्रो फिल्म भन्ने गरिएको छ । 

यसअघिको आइ फिल्म रोबोटको बजेट २ सय करोड र कोचादाइयानको बजेट १ सय २५ करोड रहेको थियो । 

रजनीकान्तको यो फिल्म हिन्दी अलावा विदेशी भाषामा समेत एकसाथ रिलिज गर्ने तयारी भइरहेको छ । यसलाई तमिल, तेलुगू र कन्नड भाषाको साथमा हिन्दी, थाई, मलाया, चाइनिज र जापानिज भाषामा समेत एकसाथ रिलिज गरिनेछ । 

विज्ञका अनुसार ब्राण्ड एशोसिएसन, वितरकसँगको डिल र स्याटेलाइट्स राइटको बिक्रीबाट प्रोड्यूसरलाई २ देखि ३ सय करोड रुपैयाँ कमाई हुने अवस्था अहिले नै देखिइसकेको छ । यसको अर्थ, फिल्म रिलिज हुनुअघि नै १ सय करोडको न्यूनतम मुनाफामा रहेको छ । रिपोर्ट अनुसार यो फिल्मलाई ब्राण्ड एशोसिएसन र स्याटेलाइट राइट्सबाट बम्पर कमाई भएको हो । रजनीकान्तको यो फिल्मलाई ५ वटा ठूला ब्राण्डले तत्कालै लिइसकेका छन् । यसमा एयर एशिया, क्याडबरी ५ स्टार, अमेजन, सोपक्लूज र एयरटेल जस्ता ब्रान्डहरु रहेका छन् ।  

‘कबाली’ फिल्मका थप दृश्य र त्यसमा रजनीकान्तको लुक्स हेर्न तलको फोटोमा प्रत्येकलाई डबल क्लिक गरेर हेर्नुहोस् ।