काठमाण्डौ । प्राय मानिसहरु विदेशमा राम्रो नोकरी भेटाउन सकिन्छ कि भनेर खोजी गरिरहेका हुन्छन् । तर आर्थिक रुपमा बलिया देशहरुको नियम प्रवासी कामदारहरुका लागि निकै कडा हुन्छ । तर जुन देशमा यस्ता नियम सजिला र सहज हुन्छन्, त्यहाँ सजिलै राम्रो नोकरी समेत पाउन सकिन्छ । हामी आज तपाईलाई यस्तै केही देशहरुको बिषयमा बताउन गइरहेका छौ, जहाँ प्रवासीहरु जान तथा बस्न निकै सहज र सरल हुन्छ । साथै, अन्य देशको तुलनामा यी देशमा गएर काम गर्दा तलब समेत राम्रो पाइन्छ । 

खासगरी यस्ता देशमा त्यहाँको सरकारले न्यूनतम ज्यालाको कुनै सीमा राखेको वा तोकेको हुँदैन । यस्ता देशहरुको सरकार र उद्योग संचालक मिलेर कर्मचारीहरुका लागि कमसेकम कति तलब आवश्यक पर्छ भन्ने कुरा तय गर्छन् । यी देशहरुमा उद्योगहरुबाट तय न्यूनतम तलब स्केल विश्वभरमै सबैभन्दा राम्रो न्यूनतम तलब दिने देशहरुको भन्दा पनि निकै धेरै हुन्छ । यसका साथै काम गर्नुपर्ने अवधि र कर्मचारीले पाउने सेवा सुविधाको मामलामा पनि यी देश अन्य देश भन्दा निकै अगाडि छन् । त्यति मात्र होइन, विदेशी कामदारका लागि यहाँको लेबर ल(कामदार कानून) समेत निकै सहयोगी छ । प्रस्तुत छ, एजेन्सीहरुको सहयोगमा जागिर खानका लागि विश्वमै स्वर्गीय केही देशहरुको बिषयमा तयार विशेष सामाग्रीः

१.स्वीट्जरल्याण्ड
स्वीट्जरल्याण्डको न्यूनतम आय कति राम्रो छ भन्ने कुराको अनुमान एउटा घटनाबाट लगाउन सकिन्छ । सन् २०१४ मा  २५ डलर प्रति घण्टाको न्यूनतम पारिश्रमिकको प्रस्ताव भएकोमा त्यसलाई अस्वीकार गरिएको थियो । यहाँ अहिले न्यूनतम पारिश्रमिक सम्बन्धी कुनै नियम त छैन, तर यहाँका टे«ड युनियन कर्मचारी मिलेर न्यूनतम पारिश्रमिक(तलब) तय गर्छन् । बितेका २ वर्षको अवधिमा न्यूनतम तलबमा कुनै परिवर्तन नहुनुु भनेको स्पष्ट रुपमा यहाँका हरेक कामदारले प्रति घण्टा २५ डलर भन्दा बढी पैसा कमाइरहेका छन् भन्ने हो । यो देशमा २ प्रकारले विदेशीहरुलाई नोकरी अफर प्राप्त हुन्छ । यूरोपियन युनियन तथा इएफटीए सदस्य राष्ट्रका नागरिकलाई निकै सहज र सरल ढंगले नोकरी प्राप्त हुन्छ । अर्को, अन्य देशका मानिसको पढाईको आधारमा सीमित संख्यामा रोजगारी प्राप्त हुन्छ । 

२.स्वीडेन
स्वीडेनमा कुनै पनि न्यूनतम तलबको पोलिसी छैन । यहाँको विभिन्न क्षेत्र तथा उद्योगहरु आफै मिलेर कर्मचारी तथा कामदारका लागि न्यूनतम तलबको सीमा तयार गर्छन् । सन् २०१६ अक्टोबरमा यहाँको औसत आय १६६ स्वीडीस क्रोन अर्थात प्रतिघण्टा २१ सय रुपैयाँ बराबर रहेको थियो । यहाँको न्यूनतम तलब प्रतिघण्टा १५ सय रुपैयाँको हाराहारीमा रहेको छ । यसका साथै यहाँको सरकारले प्रत्येक साता ५ दिन मात्र काममा जानुपर्ने, र कर्मचारीले २५ दिनको पेड होलिडे र १६ पब्लिक होलीडेको सुविधा प्रदान गर्नुपर्ने नियम बनाएको छ । स्वीडेन विदेशीहरुका लागि सबैभन्दा धेरै फ्रेण्ड्ली देशको रुपमा चिनिन्छ । 

३.डेनमार्क
डेनमार्कमा ट्रेड युनियन, विभिन्न उद्योग र सरकार बसेर न्यूनतम तलब तय गर्छन् । यहाँको सरकारको पनि कुनै पनि न्यूनतम तलबको पोलिसी छैन । हालै ट्रेड युनियन र यहाँका उद्योगहरुबीच भएको सम्झौता अनुसार प्रतिघण्टा २० डलर बराबरको न्यूनतम तलब स्केल तय गरिएको छ । प्रवासीहरुका लागि डेनमार्कको नियम तथा कानून निकै खुकुलो छ । यहाँको कुल जनसंख्यामा ८ प्रतिशत मानिस विदेशी छन् । हालै यहाँको सरकारले प्रवासीहरुको बिषयमा केही नियम सख्त बनाएको छ, तर यहाँको जीवनशैली तथा जीवनस्तरलाई हेर्ने हो भने ती नियम उति कडा छैनन् । 

४.आइल्याण्ड
विश्वकै सबैभन्दा खुशी तथा सुखी देशको रुपमा आइल्याण्डलाई मानिन्छ । यहाँ अपराध एकदमै कम हुन्छ भने आय स्तर भने निकै उच्च छ । आइल्याण्डमा काम गर्ने हरेक व्यक्ति आपसेआप ट्रेड युनियनको सदस्य हुन्छ । युनियनले यी कर्मचारीको तर्फबाट सम्बन्धित कम्पनीसँग न्यूनतम तलबको बिषयमा कुराकानी गरिदिन्छ । यहाँ पनि सरकारको तर्फबाट न्यूनतम तलबको कुनै नियम बनेको छैन । हाल यहाँ प्रति महिना २२३३ डलर न्यूनतम तलब फिक्स गरिएको छ । यस अलावा कामका लागि सीमित घण्टा खट्नुपर्ने सहजता तथा शिक्षा र स्वास्थ्यमा सरकारले दिने लोभलाग्दो छुट अलग्गै हुन्छ । 

५.नर्वे
नर्वेमा पनि सरकारको तर्फबाट कुनै पनि न्यूनतम तलबको नियम बन्दैन । हाल नर्वेमा प्रति घण्टा १६ देखि २१ डलरसम्म न्यूनतम तलब तोकिएको छ । यहाँ पनि युनियनहरुले नै यस्तो तलब तोक्छन् । नर्वे पनि कुनै समयसम्म विदेशीहरुका लागि निकै नरम देशको रुपमा चिनिन्थ्यो । तर पछिल्लो समय प्रवासीहरुको संख्या बढेसँगै यहाँको नियम समेत केही कडा भएको छ ।