काठमाण्डौ । धबाङ–८ रोल्पाकी मनसरा डाँगी अहिले १९ वर्षकी भइन्। सत्र वर्षको कलिलो उमेरमा धबाङ–८ रोल्पाका २० वर्षीय सुरेश पुनको मायाजालमा परेपछि २०७१ साल मङ्सिर २९ गते उनीहरूकाे विवाह भयाे ।

विवाह भएको करिव २ वर्षमै डाँगीले २०७३ साल मङ्सिर २७ गते जिल्ला अदालत रोल्पामा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गरिन्।

डाँगीका अनुसार २०७१ साल फागनुमा उनका श्रीमान् वैदेशिक रोजगारीका लागि बिदेसिएर फोनबाटै गालीगलौज गर्ने, घरमा खर्च नपठाउने, फोनबाटै मेरो घर तुरुन्त छोड भन्ने जस्ता शब्द प्रयोग गरेर डर धम्की दिने गर्न थालेपछि डाँगी अन्तमा सम्बन्ध विच्छेदको निर्णयमा पुगेकी हुन्।

हाल उनले दर्ता गराएको सम्बन्ध विच्छेदको मुद्दा विचाराधीन अवस्थामा रहेको जिल्ला अदालत रोल्पाले जनाएको छ। 

यसरी १७/१८  उमेर समूहका महिलाहरु सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत रोल्पामा आउने गरेको मुद्दा फाँटका नासु दामोदर दाहालले जानकारी दिए।

मुद्दा फाँटका खरिदार दिपेन्द्रराज श्रेष्ठका अनुसार जिल्ला अदालत रोल्पामा यस आर्थिक वर्षमा मात्र जम्मा ५० वटा नयाँ र २० वटा अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका गरी कुल ७० वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन्।

यस आवमा ३३ वटा सम्बन्ध विच्छेदका मुद्दाको फैसला भइसकेका छ। सातवटा मुद्दामा अंशसहित सम्बन्ध विच्छेद गर्न खोजेको भएपछि अन्य कसैले पनि अंश दावी गरेको देखिएको छैन। यो खबर आजको राजधानी दैनिकले छापेको छ ।