काठमाण्डौ । म्युचुअल फण्डमा गरिएको लगानीबाट बैंकहरुले दिएको बचत स्कीमकोभन्दा बढी रिटर्न(नाफा) प्राप्त हुन्छ । नेपालमा पनि १० वटा म्युचुअल फण्डहरु छन्, थप एउटा फण्डले संचालनको स्वीकृति पाएको छ । पछिल्लो समय लगानीकर्ताको आकर्षण यस्ता कोषतर्फ तीव्र गतिमा बढिरहेको छ । तर, यो चाहि निश्चित भन्न सकिन्न कि सबै म्युचुअल फण्डहरुले सबै लगानीकर्तालाई राम्रै रिटर्न दिन्छन । कतिपय अवस्थामा यस्तो कोषमा गरिएको लगानीबाट घाटा पनि हुनसक्छ । विज्ञहरुले भनेका छन् कि यहीकारण लगानीकर्ताहरुले फण्डको बिषयमा राम्रो जानकारी हासिल गर्न आवश्यक हुन्छ । आफूले लगानी गर्ने यस्तो फण्डको बिषयमा सही जानकारी सही समयमा नलिंदा घाटा खानुपर्ने अवस्था समेत आउनसक्छ ।

पछिल्लो समय बजारमा केही राम्रा सुधारहरु भएका छन् । धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले सेयर बजार सु धारका लागि केही महत्वपूर्ण कामहरु गरेका छन् । जसको फलस्वरुप बजारमा लगानीकर्ताको आकर्षण बढेको छ । यसले १२ सयको स्तरमा झरेको बजार बढेर फेरि १६ सय माथि पुगेको छ । बजार बढेका कारण विभिन्न कम्पनीमा लगानी गरेका म्युचुअल फण्डहरुको पछिल्लो बित्तीय अवस्था समेत मजबुत बन्दै गएको छ । फागुन मसान्तको तुलनामा चैत मसान्तसम्मको अवस्था हेर्दा देशमा संचालित सबै म्युचुअल फण्डहरुको प्रगति राम्रो छ । सबैको नेट एसेट भ्यालू बढेको छ भने फागुनसम्म उच्च घाटामा रहेका कतिपय फण्डहरुले एक महिनाको अवधिमै यूटर्न भई नाफाको यात्रा सुरु गरिसकेका छन् । हामीले यहाँ कुन फण्डले कस्तो प्रगति गरे, प्रत्येकको समाचार दिने कोशिश गरेका छौ :

सिद्धार्थ क्यापिटल लिमीटेडले प्रवद्र्धन गरिरहेको २ म्युचुअल फण्डले समेत चैत मसान्तसम्म राम्रो प्रदर्शन गरेका छन् ।

सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्कीम र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम १ ले फागुन मसान्तको तुलनामा चैत मसान्तमा उत्सहाप्रद नतिजा निकालेका हुन् ।

यी दुवै म्युचुअल फण्ड ५ वर्षे बन्दमुखी स्कीम हुन् ।

शुक्रबार प्रकाशित बित्तीय विवरण अनुसार 'सिद्धार्थ ओरिएन्टेड स्कीम'को खुद सम्पत्ति मूल्य(नेट एसेट भ्यालु–एनएभी)१३ रुपैयाँ ५० पैसाबाट बढेर १६ रुपैयाँ कायम भएको हो ।

एक अर्ब रुपैयाँबाट सुरु भएको यो स्किमले चैत मसान्तसम्म सूचिकृत कम्पनीको सेयरमा ९२ करोड ६३ लाख, सार्वजनिक निश्कासन, हकप्रद र बोनस सेयरमा १० करोड २१ लाख लगानी गरेको छ ।

फागुन मसान्तसम्म यो स्कीम ३३ करोड ३३ लाख खुद घाटामा रहेकोमा त्यसलाई घटाएर चैत मसान्तसम्म ८ करोड १२ लाखमा झार्न सफल भएको छ ।

यो स्किमले सबैभन्दा धेरै एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १ को कुल २९ लाख ७० हजार इकाई खरीद गरेको छ । यो स्किमको बिहीबारको अन्तिम कारोबार मूल्य प्रति इकाई १२ रुपैयाँ ७४ पैसा रहेको छ ।

यसैगरी, 'सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम'ले समेत राम्रो प्रगति गरेको छ । फागुन मसान्तसम्म यो स्किमको एनएभी २३ रुपैयाँ ४८ पैसा रहेकोमा चैत मसान्तसम्म बढेर २८ रुपैयाँ ५४ पैसा कायम भएको छ ।

यो स्किम ५० करोडबाट सुरु भएको थियो । चैत मसान्तसम्म यो स्किमले सूचिकृत कम्पनीको सेयरमा ८७ करोड ५३ लाख, सार्वजनिक निश्कासन, हकप्रद र बोनस सेयरमा १० करोड लगानी गरेको छ ।

फागुन मसान्तसम्म ३४ करोड ३४ लाखको उच्च घाटामा रहेको स्किमले चैत मसान्तसम्म घाटालाई घटाएर ९ करोड ४ लाखमा झारेको छ ।

कुल लगानीमध्ये यो स्किमले सबैभन्दा धेरै जलविद्युत लगानी तथा विकास कम्पनीको ४६ हजार २ सय ८७ कित्ता सेयर खरीद गरेको छ ।

एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेडले प्रवद्र्धन गरेका दुवै म्युचुल फण्डको खुद सम्पत्ति मुल्य पनि बढेको छ ।

सात वर्षे बन्दमुखी म्युचुअल फण्ड 'एनआइबिएल समृद्धि फण्ड-१' को खुद सम्पत्ति मुल्य(एनएभी) फागुन मसान्तको तुलनामा चैत मसान्तमा बढेको छ ।

फागुन मसान्तसम्म एनएभी १२ रुपैयाँ ७७ पैसा रहेकोमा बढेर चैत मसान्तसम्म १५ रुपैयाँ ९८ पैसा पुगेको हो ।

१ अर्बबाट सुरु भएको यो स्किमले चैत मसान्तसम्म ८७ सूचिकृत कम्पनीको सेयरमा १ अर्ब १५ करोड लगानी गरेको छ । ३ करोड ३० लाख विभिन्न ऋणपत्र, १० करोड ७८ लाख सार्वजनिक निश्कासन, बोनस र हकप्रद सेयरमा लगानी गरेको छ ।

फागुन मसान्तसम्म २८ करोड २९ लाख घाटामा गएको स्किम चैत मसान्तसम्म ३ करोड १९ लाख नाफामा गएको छ ।

सूचिकृत कम्पनीमा यो स्किमले गरेको कुल लगानीमध्ये सबैभन्दा बढी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम १ मा १५ लाख ६४ हजार इकाईमा रहेको छ । सबैभन्दा ठूलो लगानी चाहि एभरेष्ट बैंकको सेयरमा ६ करोड २६ लाख रुपैयाँ रहेको छ ।

यसैगरी, सात वर्षे बन्दमुखी अर्को स्किम 'एनआइबिएल प्रगति फण्ड'को नेट एसेट भ्यालु(एनएभी) समेत बढेको छ ।

फागुन मसान्तसम्म ९ रुपैयाँ ९१ पैसामा सीमित एनएभी बढेर चैत मसान्तसम्म १० रुपैयाँ ७४ पैसा पुगेको हो ।

७५ करोड रुपैयाँबाट सुरु भएको यो स्किमले चैत मसान्तसम्म ३६ सूचिकृत कम्पनीको सेयरमा २९ करोड ५० लाख, सार्वजनिक निश्कासन, हकप्रद र बोनस सेयरमा २ करोड ३३ लाख लगानी गरेको छ ।

फागुन मसान्तसम्म यो स्किम पनि ६७ लाख बढी घाटामा थियो । तर चैत मसान्तसम्म आइपुग्दा ४ करोड ७२ लाख नाफामा गएको छ ।

कुल लगानीमध्ये यो स्किमले सबैभन्दा बढी नेपाल बैंक लिमीटेडको २९ हजार १ सय २५ कित्ता खरीद गरेको छ ।

एनएमबी क्यापिटल लिमीटेडले प्रवद्र्धन गरेका दुवै म्युचुअल फण्डहरुको नेट एसेट भ्यालु(एनएभी) वृद्धि भएको छ ।

सात वर्षे बन्दमुखी म्युचुअल फण्ड 'एनएमबी हाइब्रीड फण्ड एल-१' को नेट एसेट भ्यालु फागुन मसान्तको १० रुपैयाँ २६ पैसाबाट वृद्धि भई चैत मसान्तसम्म १० रुपैयाँ ५७ पैसाको उचाईमा पुगेको छ ।

एक अर्बबाट सुरु भएको यो स्किमले चैत मसान्तसम्म २१ करोड ७४ लाख रुपैयाँ सूचिकृत कम्पनीको सेयरमा, सार्वजनिक निश्कासनमा १  करोड ८३ लाख रुपैयाँ र ४९ करोड रुपैयाँ फिक्स्ड डिपोजिटमा राखेको छ ।

यो स्किमको फागुन मसान्तसम्म २ करोड ३३ लाखमा सीमित भएको खुद नाफा बढेर चैत मसान्तसम्म ३ करोड ४३ लाख रुपैयाँको उचाईमा पुगेको छ । यो स्किमले २९ सूचिकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा बढी नेपाल दुरसंचार कम्पनी लिमीटेडको ४४ हजार ८ सय ५ कित्तामा लगानी गरेको छ ।

यसैगरी, एनएमबी क्यापिटल मार्केट लिमीटेडले नै प्रवद्र्धन गरेको अर्को पाँच वर्षे बन्दमुखी म्युचुअल फण्ड 'एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड-१'को खुद सम्पत्ति मूल्य समेत बढेको छ ।

फागुन मसान्तसम्म १४ रुपैयाँ ९५ पैसामा सीमित प्रति इकाई सम्पत्ति मूल्य चैत मसान्तसम्म बढेर १७ रुपैयाँ २४ पैसाको उचाईमा पुगेको हो ।

७५ करोड रुपैयाँबाट सुरु भएको यो स्किमले ६८ सूचिकृत कम्पनीको सेयरमा ६६ करोड ८ लाख, ६ करोड ८५ लाख सार्वजनिक निश्कासन, बोनस र हकप्रदमा लगानी गरेको छ । यस्तै, २२ करोड रुपैयाँ फिक्स्ड डिपोजिटमा राखेको छ भने १ करोड ४ लाख रुपैयाँ विभिन्न ऋणपत्रहरुमा लगानी गरेको छ ।

यो स्किमले पनि नेपाल दुरसंचार कम्पनीकै सबैभन्दा बढी ४४ हजार २ सय ९५ कित्ता सेयर खरीद गरेको छ । सबैभन्दा धेरै लगानी चाहि नवील बैंकको कुल २३ हजार ६ सय ८५ संस्थापक सेयरमा २ करोड ९७ लाख रुपैयाँ गरेको छ ।

चैत मसान्तसम्म यो  स्किमले २१ करोड ५९ लाख नाफा कमाएको छ ।

नबील इन्भेष्टमेन्ट बैकिङ लिमीटेडले प्रवद्र्धन गरेको दुवै म्युचुअल फण्डको प्रति इकाई मूल्यमावृद्धि भएको छ ।

पाँचवर्षे बन्दमुखी म्युचुअल फण्ड नवील ब्यालेन्स फण्ड–१ ले चैत मसान्तसम्म राम्रो प्रगति गरेको छ ।

फागुन मसान्तको तुलनामा नेट एसेट भ्यालु(खुद सम्पत्ति मुल्य–एनएभी)मा ३ रुपैयाँ ५४ पैसा वृद्धि भई २४ रुपैयाँ ८७ पैसाको उचाई प्राप्त गरेको हो । फागुन मसान्तसम्म यो स्कीमको एनएभी २१ रुपैयाँ ३३  पैसामा सीमित थियो ।

७५ करोड रुपैयाँको कोषबाट सुरु भएको यो स्किमले चैत मसान्तसम्म ९१ करोड २० लाख रुपैयाँ विभिन्न ७२ सुचिकृत कम्पनीको सेयरमा लगानी गरेको छ । यस्तै, ११ करोड ४४ लाख रुपैयाँ विभिन्न ऋणपत्रहरु, १३ करोड ६८ लाख रुपैयाँ सुचिकृत नभएका कम्पनीको सेयरमा लगानी छ ।

फागुन मसान्तसम्म ३४  करोड ३७ लाख खुद घाटा व्यहोरेको फण्डलाई त्यसलाई घटाएर चैत मसान्तसम्म ७ करोड ७९ लाखमा झारेको छ ।

कुल लगानीमध्ये यो फण्डले ६५ हजार ६० कित्ता सेयर जलविद्युत लगानी तथा विकास कम्पनीको खरीद गरेको छ ।

यसैगरी, सात वर्षे बन्दमुखी म्युचुअल फण्ड नबील इक्वीटी फण्डको नेट एसेट भ्यालु(एनएभी) समेत वृद्धि भएको छ ।

यो स्किमले बिहीबार सार्वजनिक गरेको मासिक बित्तीय विवरण अनुसार फागुन मसान्तसम्म प्रति इकाई एनएभी ९ रुपैयाँ ७४ पैसा रहेकोमा चैत मसान्तसम्म वृद्धि भई १० रुपैयाँ १९ पैसा कायम भएको छ ।

१ अर्ब २५ करोड रुपैयाँबाट सुरु भएको यो स्किमले २६ करोड ९० लाख रुपैयाँ सुचिकृत कम्पनीको सेयरमा, १२ करोड ५० लाख रुपैयाँ फिक्स्ड डिपोजिटमा, ४ करोड ४१ लाख रुपैयाँ सुचिकृत नभइसकेका सेयरमा लगानी गरेको छ ।

फागुन अन्तसम्म यो फण्ड ३ करोड २५ लाख रुपैयाँ घाटामा थियो, तर चैत मसान्तसम्म भने २ करोड ३३ लाख नाफामा गएको छ । सुचिकृत कम्पनीका भएको कुल लगानीमध्ये यो स्किमले सबैभन्दा बढी प्राइम कमर्सियल बैंक लिमीटेडको २१ हजार ८ सय ९२ कित्तामा लगानी गरेको छ।

ग्लोबल आइएमई क्यापिटल लिमीटेडले प्रवद्र्धन गरेको ग्लोबल आइएमई समुन्नति स्कीम १ को नेट एसेट भ्यालू(एनएभी)मा वृद्धि भएको छ ।

फागुन मसान्तसम्म ८ रुपैयाँ ७४ पैसाको न्यून बिन्दुमा रहेको एनएभीले चैत मसान्तसम्म आइपुग्दा प्रति इकाई मूल्यलाई जितेको हो । यो अवधिमा यसको एनएभी वृद्धि भई १० रुपैयाँ ३१ पैसा  पुगेको छ । प्रति इकाई मूल्य १० रुपैयाँ हो ।

कुल १ अर्बबाट सुरु भएको यो स्किमले चैत मसान्तसम्म सूचिकृत कम्पनीहरुको सेयरमा ५४ करोड ९ लाख रुपैयाँ लगानी गरेको छ । यस्तै १४ करोड ४६ लाख रुपैयाँ सूचिकृत नभएका सेयरमा लगानी गरेको छ ।

फागुन मसान्तसम्म १७ करोड ३० लाख रुपैयाँ रहेको घाटालाई घटाएर चैत मसान्तसम्म १ करोड ५२ लाखमा झार्न कम्पनी सफल भएको छ ।

सूचिकृत कम्पनीमा रहेको कुल लगानीमध्ये यो स्किमले सबैभन्दा बढी नबील ब्यालेन्स फण्डको १२ लाख ३७ हजार कित्ता खरीद गरेको छ । सबैभन्दा धेरै लगानी चाहि नबील बैंक लिमीटेडको प्रोमोटर सेयरमा ३ करोड ३ लाख रुपैयाँ रहेको छ ।

लक्ष्मी क्यापिटल मार्केट लिमीटेडले प्रवद्र्धनमा संचालित ५ वर्षे बन्दमुखी म्युचुअल फण्ड लक्ष्मी भ्यालु फण्ड १ को खुद सम्पत्ति मुल्य(नेट एसेट भ्यालु) वृद्धि भएको छ ।

यो स्किमको फागुन मसान्तको तुलनामा चैत मसान्तसम्म नेट एसेट भ्यालुमा वृद्धि भएको हो ।

फागुन मसान्तसम्म ११ रुपैयाँ ५५ पैसा रहेको नेट एसेट भ्यालु बढेर १३ रुपैयाँ ४६ पैसा कायम भएको हो ।

यो स्किमको नाफामा पनि वृद्धि भएको छ । फागुन मसान्तसम्मको नाफा २ करोड ६३ लाख रुपैयाँ रहेकोमा चैत मसान्तसम्म वृद्धि भई १२ करोड १९ लाखको उचाईमा पुगेको छ ।

५० करोडबाट सुरु भएको यो फण्डमा चैत मसान्तसम्म सुचिकृत कम्पनीहरुको सेयरमा २२ करोड ९४ लाख, सार्वजनिक निश्कासनहरुमा १ करोड ३३ लाख लगानी गरेको छ । यो स्किमले ३५ सुचिकृत कम्पनीको २ लाख ५ हजार ३ सय ८५ कित्तामा लगानी गरेको छ ।

सुचिकृत कम्पनीको कुल लगानीमध्ये लक्ष्मी भ्यालु फण्ड १ ले सबैभन्दा धेरै नेपाल दुरसंचार कम्पनी लिमीटेडको ३५ हजार ७ सयमा लगानी गरेको छ । यो स्किमले ९ करोड रुपैयाँ फिक्स्ड डिपोजिटमा राखेको छ भने २२ करोड ३७ लाख रुपैयाँ बैंक ब्यालेन्स गरेको छ ।