काठमाण्डौ । नेपाल राष्ट्रबैंकले तोकेको ८ अर्ब चुक्तापूँजी पुर्याउन लगानीकर्तालाई १ सय प्रतिशत बोनस दिने संकेत दिएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको बहुचर्चित एफपीओका लागि एनएमबी क्यापिटल लिमीटेडले बिक्री प्रबन्धकको काम गर्ने भएको छ । 

एफपीओ निश्कासन तथा व्यवस्थापनका लागि एनएमबी क्यापिटल लिमीटेडसँग बैंकले बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । 

आइतबार अपरान्ह स्ट्याण्डर्ड चार्टर्ड बैंकका अधिकारीसँग एफपीओ निश्कासन तथा व्यवस्थापनको बिषमा सम्झौता भएको एनएमबी क्यापिटलले जनाएको छ । 

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले केही दिनअघि ३ अर्ब ३० करोड रुपैयाँको अतिरिक्त निश्कासन(एफपीओ)को प्रस्ताव पेश गरेको थियो । यो बैंकले १ सय रुपैयाँ अंकित दरको सेयरमा ११९० रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता १२९० रुपैयाँमा एफपीओ निश्कासनको अनुमति माग्दै धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लगायतका निकायलाई पत्र पठाएकोमा बिक्री प्रबन्धक नियुक्तिको महत्वपूर्ण काम पनि सकेको हो । 

सन् २०१६ डिसेम्बर १५ मा सम्पन्न बैंकको ३० औं वार्षिक साधारणसभा र बिहीबार सम्पन्न ३५० औं बोर्ड बैठकले राष्ट्रबैंकले तोकेको चुक्तापूँजी पुर्याउने रणनीतिका साथ ३३० करोड रुपैयाँ बराबरको एफपीओ निश्कासनको प्रस्ताव अगाडि बढाउने निर्णय गरेको थियो । 

स्ट्याण्डर्ड चार्टर्डले आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट आफ्ना सेयरधनीलाई ३३.३३ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव साधारणसभाबाट स्वीकृत गराइसकेको छ । बोनस सेयर वितरणपछि बैंकको चुक्तापूँजी ३ अर्ब ७५ करोडको उचाईमा पुुग्नेछ । 

बित्तीय अवस्था राम्रो हुँदा हुँदै पनि लगानीकर्तालाई बोनस वितरणमा कञ्जुस्याई गरेको भनेर आलोचित यो बैंकले एफपीओबाट प्रति कित्ता १ सय दरको अंकित मूल्यबाट आउने रकम समेत जोडिँदा चुक्तापूँजी ४ अर्ब पुर्याउनेछ । 

बैंकका अनुसार एफपीओबाट प्रति कित्ता ११९० को दरले संकलन भएको प्रिमियम रकम आर्थिक वर्ष २०७३/७४ को बोनस बाँड्न प्रयोग गरिनेछ । नाफा समेत थप गरी ८ अर्ब चुक्तापूँजी पुर्याउन यो बैंकले ४ अर्ब चुक्तापूँजी भएको अवस्थामा १ सय प्रतिशत बोनस सेयर दिनुपर्ने हुन्छ । बैंकको भित्री रणनीति पनि लगानीकर्तालाई मालामाल बनाई १ सय प्रतिशतसम्म बोनस सेयरको बाटो नै रोज्ने रहेको स्रोत बताउँछ ।