काठमाण्डौ । अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा भाग लिन काठमाडौं आएका एशियाली पूर्वाधार लगानी बैंक(AIIB) अध्यक्ष जीन लिक्वुनले शुक्रबार नेपाल उद्योग परिसंघका पदाधिकारी र प्रबुद्ध परिषदका सदस्यहरुसँग भेटवार्ता गरे । 

राजधानीस्थित सोल्टी होटलमा भएको भेटवार्ता नेपालको पूर्वाधार विकासमा लगानी बैंकको सहयोग परिचालनका विषयमा केन्द्रित थियो ।

लिक्वुनलाई स्वागत गर्दै परिसंघका अध्यक्ष हरिभक्त शर्माले सन् २०३० सम्म मध्यम आय भएको विकासोन्मुख देशको सूचीमा स्तरोन्नति हुने नेपालको लक्ष्य भेट्न पूर्वाधारमा ठूूलो लगानी आवश्यक रहेको बताउँदै त्यसका लागि सहयोग गर्न आग्रह गरे । ‘हामी एशियाली पूर्वाधार लगानी बैंकलाई केही यस्ता आयोजनामा लगानीका लागि अनुरोध गर्छौं, जसबाट नेपालको आर्थिक परिदृष्य नै परिवर्तन सम्भव छ।’ शर्माले भने–‘ती आयोजना हुन निजगढको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, पूर्व पश्चिम विद्युतीय रेलमार्ग र केही अन्तर्राष्ट्रिय स्तरका औद्योगिक क्षेत्र ।’ 

देशको आर्थिक सामाजिक रुपान्तरण गर्ने खालका ठूूला र रणनीतिक महत्वमा पूर्वाधार आयोजना विकासका लागि नेतृत्वको दुरदृष्टि तथा प्रतिवद्धता र त्यसलाई कार्यान्वयनमा लैजान राजनीतिक स्थायित्व आवश्यक आवश्यक हुने लिक्वुनको भनाई थियो । ‘यस विषयमा अहिले नेपालमा विकसित वातावरणबाट म निकै प्रभावित भएको छु,’ उनले भने, ‘हिजो लगानी सम्मेलनमा सबै प्रमुख दलका नेताहरुको अभिब्यक्तिले नेतृत्वको प्रतिवद्धता पुष्टी भएको छ र छिट्टै हुन गइरहेका निर्वाचनले स्थायित्व समेत प्रदान गर्नेमा म विश्वस्त छु ।’ 

अब नेपालको पूर्वाधार विकासले गति लिने र त्यसका लागि आवश्यक लगानी गर्न लगानी बैंक प्रतिवद्ध रहेको उनले बताए । निजी क्षेत्रबाट उचित आयोजना आएमा सरकारी प्रत्याभूति बना पनि लगानी गर्न सकिने लिक्वुनको भनाई थियो । 

परिसंघका उपाध्यक्ष सतिश कुमार मोरले लगानी बैंकको लगानीका साथै चिनिया निर्माण व्यवसायी र प्रविधि समेत नेपालको पूर्वाधार विकासमा उपयोगी हुने बताए । 

त्यसैगरी, परिसंघका अर्का उपाध्यक्ष विष्णु अग्रवालले हालै आयोजित नेपाल पूर्वाधार शिखर सम्मेलनमा लगानी बैंकको उच्चस्तरीय सहभागिता गराउन प्रयास गरे पनि सम्भव हुन नसकेको बताउँदै परिसंघमा स्थापित पूर्वाधार सेलले लगानी बैंकसँग सहकार्य गर्न चाहेको बताए । ‘त्यस्तो सहकार्यले पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिता बढाउन हौसला मिल्ने हाम्रो विश्वास छ,’ अग्रवालले भने । 

परिसंघको प्रवुद्ध परिषदका संयोजक डा. शम्भुराम सिम्खडाले नेपाल जस्ता अल्पविकसित देशको आर्थिक सामाजिक विकासका लागि अपरिहार्य पूर्वाधार विकासमा लगानी बैंकले प्राथमिकताका साथ लगानी बिस्तार गर्ने रणनीति लिनुपर्ने बताए । भेटमा प्रबुद्ध परिषदका सदस्य डा. बिन्दुनाथ लोहनी, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख डा. गोविन्द पोखरेल, राष्ट्रिय योजना आयोगका सदस्य डा. स्वर्णिम वाग्ले लगायतले नेपालमा पूर्वाधारको अवस्था, त्यसका लागि आवश्यक लगानी, पछिल्लो समय सहज बन्दै गएको लगानीको वातावरण र लगानी बैंकजस्ता बहुपक्षीय लगानी बैंकले खेल्नसक्ने भूूमिकाका विषयमा धारणा राख्दै आगामी समयमा नेपालका ठूूला आयोजनाहरुमा लगानी बैंकको लगानी भएको देख्न चाहेको बताएका थिए ।