काठमाण्डौ । एक वरिष्ठ पत्रकार तथा साँघु साप्ताहिकका सम्पादक गोपाल बुढाथोकीले भारतले केपी ओली नेतृत्वको सरकार गिराएको बदला लिन एमालेले महाअभियोगको तीर हानेको दाबी गरेका छन् । 

एभिन्यूज टेलिभिजनको कार्यक्रम ‘विशेष संवाद’मा अर्का वरिष्ठ पत्रकार प्रतीक प्रधानसँगै बहसमा उत्रिएका भने–‘भारतलाई एमालेले हान्नु थियो, लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगको बिषय ल्याएर हान्यो  । यो तीरले अहिले धेरैलाई लाग्यो ।’ उनले महाअभियोग प्रकरणबाट एमालेले भरपूर राजनीतिक नाफा हासिल गर्ने विश्लेषण गरे । ‘यो  प्रकरणले एमालेको दुवै हातमा लड्डू पर्ने निश्चित देखिन्छ ।’ उनले थपे–‘महाअभियोग पास हुँदा जस एमालेलाई जानेछ भने पास नहुँदा पनि अरुलाई अपजस लगाएर एमालेले भरपूर राजनीतिक फाइदा उठाउनेछ ।’ 

एमालेको निकै दह्रो चालको रुपमा महाअभियोग प्रकरणलाई प्रस्तुत गर्दै उनले यो प्रकरणले सत्ता गठबन्धनभित्रकै दलबीच शंका–उपशंका पैदा गरिदिएको दाबी गरे । 

सबै दलको सहमतिमा रातारात अख्तियार प्रमुख  बनाएर रातो कार्पेट ओछ्याउनेहरु नै अहिले लोकमानसिंह कार्कीविरुद्ध लागेकोमा आफू आश्चर्यमा परेको उनको भनाई छ । ‘लोकमानमाथि लगाइएका आरोप त बाहाना मात्र हुन् ।’ उनले थपे–‘यसभित्र थुप्रै कारणहरु लुकेका छन् ।’ 

उनले अख्तियारले त्रास पैदा गरेको आरोपलाई गलत रुपमा व्याख्या गरिएकोमा आपत्ति जनाए । ‘भ्रष्टाचारीलाई तह लगाउने निकाय थोरै निर्मम पनि हुनुपर्छ ।’ उनले भने–‘भ्रष्टहरुको मनमा त्रास नै भएन भने त त्यस्तो अख्तियारको के काम ?’ उनले अहिले लोकमानविरुद्ध भ्रष्टाचारमा लिप्त भएर सात पुस्तालाई पुग्ने पैसा कमाएका भ्रष्टहरु नै बढी कुर्लिरहेका आरोप पनि लगाए । 

अर्का वरिष्ठ पत्रकार प्रतिक प्रधानले चाहि आफ्नै गलत गतिविधिका कारण लोकमान फसेका दाबी गरे । ‘यति ठूलो लडाई लडेर ल्याएको लोकतन्त्रलाई लोकमानतन्त्रले अपहरण गरेको लगेको थियो ।’ उनले भने–‘पहिला ज्ञानेन्द्र पात्र बने, अहिले लोकमान पात्र बने । लोकमानविरुद्ध महाअभियोग आउनै पर्ने थियो, आयो ठीकै भयो ।’

उनले लोकमानले अख्तियार प्रमुख भएर समानान्तर सरकार चलाउन खोजेका दाबी पनि गरे । लोकमानसिंह कार्कीले केही नेताविरुद्ध भ्रष्टाचारको कारबाही प्रक्रिया अगाडि बढाउन खोजेका कुरा सही पनि हुनसक्ने बताउँदै उनले भने–‘तर मैले बुझे अनुसार उनीमाथि महाअभियोगको प्रस्ताव दर्ता गर्ने बिषयमा केही महिनाअघिदेखि नै ठूला दलका नेताहरुबीच छलफल चलिरहेको थियो ।’ 

उनको बुझाईमा यही तयारीको सूचना पाएपछि लोकमानले ‘म पनि देखाइदिन्छु’ भन्दै लागेका र त्यसलाई रोक्न छापामार शैलीमा महाअभियोग प्रस्ताव दर्ता भएको हो । उनले लोकमानसिंह कार्की अब पदच्यूत हुने दाबी गर्दै भने–‘लोकमानले अगाडि बढाउन खोजे पनि नसकेका राजनीतिक आवरणमा भएका भ्रष्टाचारका सबै फाइलहरु अब अख्तियारले अगाडि बढाउनुपर्छ ।’ 

उनले महाअभियोगको यो प्रस्तावलाई राजनीतिक लडाईको रुपमा हेर्न नहुने  विश्लेष गर्दै नेपाली कांगे्रसले जनमतको कदर गरेर लोकमानविरुद्धको महाअभियोगको पक्षमा निर्णय गर्ने दाबी पनि प्रधानले गरे । उनले लोकमान शक्तिमा रहँदा अख्तियारको डर देखाएर राजश्व अनुसन्धान जस्ता निकायहरुले व्यापारीलाई लगेर पैसा असूली छाडिदिने गरेका थुप्रै उदाहरणहरु आफूहरुसँग रहेको पनि दाबी गरे । ‘लोकमानले कर्मचारीलाई खटाएर पैसा कमाउने धन्दा संचालन गरेका थिए ।’ उनले थपे–‘अख्तियारले आफ्नो शक्तिको दुरुपयोग गर्यो । अदालतको मानहानी हुने काम लोकमानबाट भयो । मिडियाकर्मीलाई धम्की दिइयो ।’

(दुवै वरिष्ठ पत्रकारसँगको कुराकानीको पूरा अंश भिडियोमा हेर्नुहोस् ।)