काठमाण्डौ । पूँजीबजारमा पछिल्लो समय वाणिज्य बैंकका लगानीकर्ताहरु मालामाल बनिरहेका छन् । अघिल्लो सातासम्म घट्ने क्रममा रहेको बजारमा समेत निराशाजनक नरहेको वाणिज्य बैंकहरुको कारोबार र लगानीकर्ताको आकर्षण यो साताको पहिलो कारोबार दिनदेखि झनै बढ्यो । लगानीकर्ताहरुको यही आकर्षणका कारण वाणिज्य बैंकहरु एकाएक चम्किन थालेका छन् । 

मौद्रिक नीतिलाई पछ्याउँदै ८ सय करोड चुक्तापूँजी बनाउने क्रममा रहेका वाणिज्य बैंकहरुमा लामो समयका लागि लगानी जोखिमरहित देखेका लगानीकर्ताहरुका कारण समेत यो समूहप्रतिको आकर्षण अचाक्ली बढ्दै गएको छ । केही दिनअघि सेयर लगानीकर्ता संघको कार्यक्रममा अनुभवी सेयर लगानीकर्ताहरुले वाणिज्य बैंकमा ढुक्क भएर लगानी गर्न र अन्य समूहभन्दा लगानीको सुरक्षा वाणिज्य बैंकमै बढी रहेको भन्दै अन्य लगानीकर्तालाई घचघच्याएका थिए । 

अनुभवी र पुराना लगानीकर्ताहरुको यस्तो सुझाव र वाणिज्य बैंकहरुले दिइरहेका आकर्षक बोनस, धमाधम घोषणा भइरहेको हकप्रद लगायतका कारणले समेत भविष्य यो समूहमै देखेर लगानीकर्ताको आकर्षण बढेको हो । 

यही आकर्षणका कारण बुधबार पनि नेपाल स्टक एक्सचेञ्जमा वाणिज्य बैंकमै लगानीकर्ता थुप्रिए । बुधबार कुल कारोबार ९२ करोड ८४ लाखको हुँदा वाणिज्य बैंकको मात्रै ५७ करोड ८८ लाखको सेयर किनबेच भयो । यसले समेत वाणिज्य बैंकहरुको चकाचक अवस्था दर्शाउँछ । 

बुधबार नेप्से परिसूचक ८.१ अंकले वृद्धि भई १८ सय ६ दशमलव ६० अंकको उचाईमा पुगेको हो । इण्डेक्सले निकै लामो समयको अन्तरालपछि हालसम्मकै सर्वाधिक १८८२ को उचाईलाई पछ्याउन थालेको देखिएको छ । 

बुधबार सबैभन्दा बढी होटल समूहले फड्को मारेको छ । यो समूहको सूचक २.५५ प्रतिशत अर्थात ५८.९८ अंकले उक्लिएको हो । वाणिज्य बैंक १३.४६ अंकले उकालो लाग्यो भने विकास बैंक समूहमा पनि ४.८३ अंकको बढोत्तरी देखियो । बित्त समूह ४.६१ अंकले बढ्दा अन्य समूहमा २.६ अंकको बढोत्तरी देखियो । बाँकी समूहमा रातो पोतियो । बिमा समूह १८.७१ अंकले घट्यो भने उत्पादनमूलकमा २५.८७ र जलविद्युतमा २३.८ अंकको गिरावट देखियो । 

१ सय ३२ कम्पनीको कुल १० लाख १८ हजार २ स्य ४५ सेयर किनबेच भएको बजारमा इण्डेक्स घटे पनि बिमा समूहले करिब साढे २३ करोड बराबरको कारोबार गर्यो । 

धेरै कारोबार गर्ने कम्पनी
मर्जरका कारण लामो समयसम्म सेयर कारोबार निलम्बनमा परी हालै मात्र बजारमा प्रवेश गरेको बैंक अफ काठमाण्डू लुम्बिनी लिमीटेडले बुधबार पनि कारोबारमा बाजी मारेको छ । यो कम्पनीले मात्र एकैदिन २९ करोड ८८ लाख बराबरको कारोबार गर्यो । एभरेष्ट बैंकले १० करोड ३९ लाखको कारोबार गर्दा शिखर इन्स्योरेन्सको ६ करोड १८ लाख बराबरको सेयर किनबेच भयो । प्रभू इन्स्योरेन्सको ४ करोड ६४ लाख, एनबी बैंकको ३ करोड १३ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सको २ करोड २१ लाख, नेपाल लाइफको २ करोड १७ लाख, चिलिमे हाइड्रोपावरको १ करोड ६७ लाखको कारोबार भयो । नेको इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सले क्रमशः  १ करोड ४१ र १ करोड ४० लाखको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
बढ्दो बजारमा बुधबार पनि ४ कम्पनीको चकाचक चल्यो । यी चार कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएपछि लगानीकर्ता पनि दशैंको मुखमा मालामाल बने । कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंक, सेवा विकास बैंक, कुमारी बैंक र ज्योति विकास बैंकको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । विगत केही दिनदेखि प्रत्येक दिनजसो कुमारी र ज्योति विकास बैंकले सेयर मूल्यमा १० प्रतिशतकै हाराहारीमा वृद्धि हासिल गरिरहेका छन् । 

सानिमा माई हाइडो लिमीटेडका लगानीकर्ताले पनि धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ८ प्रतिशतको हाराहारीमा घट्यो । रिलायन्स लोटस फाइनान्सका लगानीकर्ताले पनि धेरै गुमाए ।