काठमाण्डौ । वाणिज्य बैंकहरुको योगदानका कारण साताको अन्तिम कारोबार दिन बिहीबार ४.२८ अंकले उक्लिएको छ । 

अधिकांश समूहको परिसूचकमा रातो पोतिए पनि वाणिज्य बैंक एकाएक चम्किँदा घट्दो बजारमा उत्साह भर्दै नेप्से परिसूचक उचालिएको हो ।

नेप्से परिसूचक १७५३.३८ को उचाईमा पुगेको छ भने बुधबार भन्दा करिब ६ करोड बढीको कारोबार भएको छ । 

लगानीकर्ताहरु वाणिज्य बैंकको सेयरमा झुम्मिएपछि इण्डेक्ससँग कारोबार रकम पनि बढेको हो । 

वाणिज्य बैंक समूह १२.८७ अंकले उक्लिएको छ भने उत्पादनमूलक १८.१४ र होटल ६.७७ अंकले बढेको छ । बाँकी सबै समूहको सूचक राताम्मे भए । 

विकास बैंक १८.९८, बिमा १९.८२, बित्त समूह २.९७, जलविद्युत २.४४ र अन्य समूह २.३१ अंकले ओरालो लागे । 

वाणिज्य बैंकको उच्च कारोबारकै कारण सेन्सेटिभ इण्डेक्समा १ अंकको बढोत्तरी भयो भने फ्लोट इण्डेक्स ०.४३ अंकले उक्लियो । 

धेरै कारोबार गर्ने कम्पनी
बिहीबार १ सय ४२ कम्पनीका कुल ९ लाख २६ हजार ९ सय ४५ कित्ता सेयर ८१ करोड २४ लाख रुपैयाँमा किनबेच भयो । 

कुल कारोबारको करिब ५० प्रतिशत हिस्सा वाणिज्य बैंकले धान्यो । सबैभन्दा बढी वाणिज्य बैंक समूहको सेयर कारोबार भयो । यो समूहले मात्रै ४० करोड ३४ लाखको सेयर कारोबार गर्न सफल भयो । 

विकास बैंक समूहको पनि १३ करोड बढीको कारोबार भयो भने बिमा कम्पनीले १७ करोड बढीको कारोबार गरे । 

बिहीबार सबैभन्दा बढी एनबी बैंकको ८ करोड ८७ लाख बराबरको सेयर किनबेच भयो । सनराइज बैंकले ४ करोड ३२ लाखको कारोबार गर्यो भने एभरेष्ट बैंकले ३ करोड ७९ लाख बराबरको कारोबार गर्यो । शिखर इन्स्योरेन्सको ३ करोड २८ लाख, सिद्धार्थ बैंकको ३ करोड ११ लाख, एनएमबी बैंकको २ करोड ९१ लाख, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ६४ लाख, प्रभू इन्स्योरेन्सको २ करोड ५१ लाख, नेपाल एसबीआई बैंकको २ करोड ४५ लाख र माछापुच्छे बैंकको २ करोड ३८ लाख बराबरको कारोबार भयो । 

धेरै कमाउने र गुमाउने कम्पनी
बिहीबार तीन कम्पनीले पैसा छापे । बैंक अफ काठमाण्डू लुम्बिनी लिमीटेड, ज्योति विकास  बैंक र कुमारी बैंक लिमीटेडको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । नाग्दी ग्रुप पावर लिमीटेड, एनबी इन्स्योरेन्स र अरनिको डेभलपमेन्ट बैंकको सेयर मूल्य ६ प्रतिशत भन्दा बढीले वृद्धि भयो । 

इण्डेक्स उक्लिए पनि बिहीबार दुई कम्पनीको सेयर मूल्यमा पहिरो गयो । निर्धन उत्थान बैंक लिमीटेड र एभरेष्ट बैंक लिमीटेडको कन्भरटेवल सेयरको मूल्यमा १० प्रतिशतको पहिरो गयो । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ५ प्रतिशत भन्दा बढीले घट्यो ।