काठमाण्डौ । नेपाल टेलिकमले यही भदौ ४ गतेदेखि ७५ वटै जिल्लामा माइक्रोवेभ रेडियो लिंकको पहुँच पुर्याई सेवा उपलब्ध गराउन थालेको छ । 

त्यसअघि विशेषगरी कर्णाली अञ्चलका मुगु, हुम्ला र डोल्पा जिल्लाका सदरमुकामहरुमा स्याटेलाइट प्रविधि मार्फत सेवा उपलब्ध गराइँदै आएको र सेवा उपभोगका सन्दर्भमा विभिन्न कठिनाइको सामना गर्नुपर्ने स्थिति रहेको टेलिकमले जनाएको छ । 

सो माइक्रोवेभ लिंक स्थापना पश्चात १७० एमबिपीएसको लिंकमार्फत ल्याण्डलाइन, जिएसएम, सिडिएमएका टेलिफोन सेवा तथा एडीएसएल, टुजी, इभिडियो इन्टरनेट सेवाको डाटा क्षमतामा उल्लेख्य सुधार हुने कम्पनीले दाबी गरेको छ । भविष्यमा थ्रीजी र वाइम्याक्स सेवा पनि सञ्चालन गर्न सकिने बताइएको छ । यसबाट विशेषगरी कर्णालीबासी उपभोक्ताहरुले अधिकतम लाभ प्राप्त गर्ने कम्पनीले जनाएको छ । 

२०७३ भदौ ४ गते कम्पनीले ७५ औंं जिल्लाको रुपमा हुम्लाको सिमिकोटमा सो प्रविधिमार्फत सेवा उपलब्ध गराउन थालेको हो । यसअघि गत असार २१ गते डोल्पा जिल्लामा र त्यसअघि मुगु जिल्लामा माइक्रोवेभ रेडियो लिंकको पहुँच पुर्याइएको थियो । 

कम्पनीले धेरै पहिलेदेखि नै ७२ वटा जिल्लामा माइक्रोवेभ रेडियो लिंकमार्फत सेवाको पहुँच पुर्याइरहेकोमा भौगोलिक विकटता समेतका कारण तीन जिल्लामा माइक्रोवेभ रेडियो लिंकमार्फत सेवा उपलब्ध गराउन सकेको थिएन । ती जिल्लाहरुमा माइक्रोवेभ रेडियो लिंकमार्फत सेवा उपलब्ध गराउने कार्यलाई सूचना प्रविधिको क्षेत्रमा ऐतिहासिक कोशेढुंगा बनेको टेलिकमको दाबी छ । 

आगामी दिनमा सम्भब भएका अन्य ग्रामीण क्षेत्रमा समेत माइक्रोवेभ रेडियो लिंकमार्फत सेवा विस्तार गर्ने कम्पनीको योजना रहेको प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन ।