काठमाण्डौ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले मुलुकको विकासको लागि युवा शक्ति परिचालन हुनुपर्नेमा जोड दिएका छन् । 

नेपाल चेम्वर अफ कमर्समा गठित युवा उद्यमी मञ्चद्वारा बुधबार चेम्वर भवनमा आयोजना गरिएको ‘युनिविस विस्किट्स’को लञ्च कार्यक्रमलाई सम्बोधन गर्दै उद्योगमन्त्री पाण्डेले सो कुरा बताएका हुन् । 

पाण्डेले नेपालमा उपलव्ध स्रोत र साधनको अधिकतम सदुपयोग गर्न सके मुलुकको द्रूत आर्थिक विकास हुने बताए । उनले विकासका संवाहक निजी क्षेत्र रहेको र युवा उद्यमीहरुले यसको नेतृत्व गर्नुपर्ने बताउँदै सरकार निजी क्षेत्रलाई हर तरहले सहयोग गर्न तयार रहेको बताए । 

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले अष्ट्रेलियामा लगानी रहेको यस कम्पनीले नेपालमै उत्पादन गर्ने विश्वास व्यक्त गर्दै सरकारलाई लगानीमैत्री वातावरण बनाउन अनुरोध गरे । उनले नेपाल चेम्वर अफ कमर्स मुलुकको आर्थिक विकासका लागि सरकार र सरोकारवालासंग सहकार्य गर्दै आइरहेको प्रष्ट पारे । 

युवा उद्यमी मञ्चका उपाध्यक्ष दिपेशकाजी तुलाधरले मञ्चले चेम्बरमा विभिन्न सामाजिक क्रियाकलाप संचालन गरेको जानकारी गराउंदै कार्यक्रमले विदेशी लगानीकर्ताहरुमाझ नेपालमा लगानी गर्न उत्प्रेरित गर्ने विश्वास  व्यक्त गरे । 

उत्पादनलाई नेपाली बजारमा भित्र्याउने टुंचे टुचें ट्रेडिङ कन्सर्नका प्रोप्राइटर त्रिकाल तुलाधरले गुणस्तरीय बस्तुको उत्पादनमा आफू कटिवद्ध रहने प्रतिवद्धता व्यक्त गरे ।