काठमाण्डौ । कुनै राष्ट्रसेवक कर्मचारीले आफ्नै विभागीय मन्त्रीसँग कमिसनको रुपमा घूस मागे भन्दा पत्याउनुुहुन्छ ? सायद नपत्याउनुहोला । तर, हालै यस्तै अपत्यारिलो काण्ड मच्चिएको छ । नेपाल विद्यूत प्राधिकरणका तीन संचालकले उर्जामन्त्री जनार्दन शर्मालाई आफूहरुले पनि कमिसन पाउनुपर्ने प्रस्ताव पठाएपछि अवस्था तनावपूर्ण बनेको छ । 

नेपाल विद्युत प्राधिकरणका तीन संचालकविरुद्ध मन्त्री जनार्दन शर्माले यस्तै संगीन आरोप लगाई कारबाहीको प्रक्रिया सुरु गरेका छन् । 

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको लोडसेडिङमुक्त अभियानमा बाधक बन्दै आएको आरोप समेत खेपिरहेका प्राधिकरणका सञ्चालकत्रय मनोजकुमार मिश्र, लक्ष्मणलाल अग्रवाल र सुरज लामिछानेले आफूूसँग कमिसनको अफर गरेको भन्दै उर्जामन्त्रीले उनीहरुलाई स्पष्टीकरण सोध्न लगाएका छन् ।

कुलमानसँग कुरा नमिलेपछि यी ती संचालकले तीन दिनअघि अख्तियार दुुरुपयोग अनुुसन्धान आयोग गुहारेका थिए । अख्तियारमा कुरा पुुगेपछि मन्त्री शर्माले तीन संचालकको कुरा बुुझ्न प्रतिनिधि पठाएका थिए । मन्त्रीको प्रतिनिधिलाई यी तीन संचालकले स्पष्ट रुपमा आफूहरुले खाइपाई आएको कमिसन पाउनुपर्ने भन्दै घूस मागेका आरोप लगाइएको छ । आफ्ना प्रतिनिधिसँगै कमिसन मागेपछि आक्रोशित भएका उर्जामन्त्रीले तत्काल उर्जासचिवलाई तीन संचालकलाई स्पष्टीकरण सोध्न कडा निर्देशन दिएका बताइएको छ । 

उनीहरुलाई मन्त्री शर्माले विगतमा विद्युत बिक्री गरेर लाखौं कमिसन खाँदै आएका भनी चिनाउने गरेका छन् । मन्त्री शर्मा र कुलमानले आफू निकटकासँगको कुराकानीमा विगतमा लोडसेडिङ हुने कारणमा समेत यी संचालककै द्रव्यमोह रहेको दाबी गर्ने गरेका छन् । 

उर्जा मन्त्रालयस्थित स्रोतका अनुसार कुलमानविरुद्ध मंसिर ११ गते किन बैठक बसेको भनी स्पष्टीकरण सोधिएको छ । ७ जना सदस्य रहने बोर्डमा मंसिर ११ गते कोरमै नपुगी तीनजनाको बैठक बसेर कुलमानविरुद्ध अख्तियार गुुहारिएको थियो । विद्युत प्राधिकरणमा ७ सदस्यीय बोर्ड रहने व्यवस्था छ । बोर्डको अध्यक्षमा उर्जासचिव अनुपकुमार उपाध्याय छन् ।

मन्त्री शर्माले चित्तबुुझ्दो जवाफ नआए तीनैजनालाई संचालक समितिबाटै हटाउने तयारी गरेका छन् । 

को हुन् यी तीन भाई ?
स्पष्टीकरण सोधिएका तीन संचालकमध्ये मनोजकुमार मिश्र र लक्षमण लाल अग्रवाल खिलराज रेग्मीका पालामा नियुक्त भएका हुन् । उनीहरुलाई तत्कालीन उर्जामन्त्री उमाकान्त झाले नियुक्त गरेका थिए । एमाले नेतृ राधा ज्ञवाली उर्जामन्त्री छँदा उनले मिश्र र झालाई हटाएकी थिइन् । तर, उनीहरु अदालतबाट पुनर्वहाली भएर फेरि प्राधिकरणमा आए । 

राधा ज्ञवालीका पालामा प्राधिकरणको सञ्चालक सदस्यमा नियुक्त भएका सुरज लामिछानेलाई पनि वामदेव गौतमले कार्यबाहक उर्जामन्त्री भएका बेला हटादएका थिए । उनी पनि अदालतबाट हालै पुनर्वहाली भएका हुन् ।