काठमाण्डौ ।एमाले नेतृत्वको विपक्षी गठबन्धनले सरकारले दर्ता गराएको संविधान संशोधन विधेयक फिर्ताका लागि दबाब दिन एक तिहाइभन्दा बढी सांसदको हस्ताक्षरसहितको संयुक्त वक्तव्य जारी गर्ने भएका छन् ।

संशोधनमा जनमत र संसद दुवै विपक्षमा रहेको पुष्टि गर्न उनीहरूले यस्तो तयारी गरेका हुन् । यसका लागि विपक्षी गठबन्धनका सांसदहरूको हस्ताक्षर संकलन भइरहेको छ । स्रोतका अनुसार एक–दुई दिनभित्रै उनीहरूले २ सय सांसदको हस्ताक्षरसहितको विज्ञप्ति जारी गर्दै छन् । राजधानी दैनिकमा खबर छ ।

एक तिहाइभन्दा बढी सांसदले संयुक्त वक्तव्य निकाली प्रस्ताव फिर्ता लिन आग्रह गर्ने तयारी गरेको एमालेका एक नेताले बताए । ती नेताका अनुसार संसद्को चौथो ठूलो दल सत्तारूढ राप्रपा र थरुहट पार्टीले समेत यथास्थितिमा विधेयकको समर्थन नगर्ने निर्णय गरिसकेका कारण विपक्षमा हस्ताक्षर पुग्ने भएको हो ।

एमाले प्रमुख सचेतक भानुभक्त ढकालले पारित नहुने सुनिश्चित हुँदाहुँदै पनि विधेयक फिर्ता नलिएर सरकारले मुठभेड निम्त्याएको बताए।