काठमाण्डौ । नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ दर्ता प्रमाणपत्रका लागि लिएको विशेष चिकित्सक दर्ता परीक्षामा करिब ३० प्रतिशत चिकित्सक अनुत्तीर्ण भएका छन् । अनुत्तीर्ण हुनेमा चीन र फिलिपिन्सबाट पढेकाहरू बढी छन् । चिकित्सा शिक्षामा आधारभूत शैक्षिक कार्यक्रम पूरा गरेपछि एमडी/एमएस/एमडीएसमा तीनवर्षे विशेषज्ञता हासिल गरेका ४ सय ९६ चिकित्सकहरूमध्ये करिब ३० प्रतिशतले परीक्षामा आफ्नो क्षमता सिद्घ गर्न नसकेका हुन् ।

‘विशेषज्ञ चिकित्सक दर्ता परीक्षामा भाग लिएकामध्ये १ सय ४५ जना फेल भएका छन्,’ काउन्सिलका रजिस्टार डा. दिलीप शर्माले कान्तिपुरसँग भने । यो परीक्षा पास गरेपछि मात्र विशेषज्ञ चिकित्सकका रूपमा काम गर्न पाइन्छ । विशेषज्ञ चिकित्सक दर्ता परीक्षामा ‘प्रयोगात्मक परीक्षा’ पनि समावेश गर्ने हो भने अनुत्तीर्ण हुनेको संख्या अरू बढ्ने काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बाँस्कोटाले बताए । ‘गुणस्तरहीन चिकित्सकलाई नेपाली स्वास्थ्य बजारमा प्रवेश गर्न रोक्न नसकिए भविष्यमा स्वास्थ्य उपचारसम्बन्धी भयावह स्थिति उत्पन्न हुन सक्छ,’ उनी भन्छन् ।

काउन्सिलले निकट भविष्यमा विशेषज्ञ दर्ता परीक्षामा प्रयोगात्मक परीक्षासमेत समावेश गर्ने जनाएको छ । काउन्सिल स्रोतका अनुसार गत वर्ष ७३ जनाले रेडियोलजी विषयको विशेषज्ञ परीक्षा दिएकोमा १३ जना मात्र उत्तीर्ण भएका थिए । गत वर्ष पनि अनुत्तीर्ण हुनेमा चीन, फिलिपिन्सलगायतबाट पढेका चिकित्सक बढी थिए । एमडी/एमएस/एमडीएसको विशेषज्ञता हासिल गरेर मुलुकमा आएको एक वर्षसम्म चिकित्सकका रूपमा काम गर्न पाइन्छ । तर, विशेषज्ञ बन्नका लागि एक वर्षभित्र परीक्षा उत्तीर्ण गर्नुपर्छ । विशेषज्ञता प्राप्त गरेको एक वर्षसम्ममा दर्ता परीक्षा पास नगरे विज्ञका रूपमा काम गर्न नपाइने प्रावधान छ । 

विशेष चिकित्सक दर्ता परीक्षा पास नभई विशेषज्ञका रूपमा काम गर्नेहरूविरुद्घ काउन्सिलमा उजुरी पनि परेका छन् । ‘त्यस्तालाई कानुनअनुसार कारबाही हुन्छ,’ डा. शर्मा भन्छन्, ‘परिमार्जन गर्न लागिएको काउन्सिलको ऐन र आचारसंहितामा यस्तो काम गर्दा दर्ता खारेज गर्नेसम्मको प्रावधान छ ।’ करिब १९ हजार चिकित्सक काउन्सिलमा दर्ता छन् । यसमध्ये करिब ६ हजार विशेषज्ञ चिकित्सकका रूपमा दर्ता छन् । यो खबर आजको कान्तिपुरमा छापिएको छ।