काठमाण्डौ । शेयर बजारमा साताको पहिलो कारोबार दिन आइतबार तीनवटा नयाँ रेकर्ड बनेका छन् । एकै दिन हालसम्मकै सबैभन्दा धेरै रकमको शेयर कारोबार भएको छ भने नेप्से परिसूचकले ऐतिहासिक उचाई चुमेको छ । बिमा समूहको परिसूचक एकैदिन ३३६.८२ अंकले बढेर समेत अर्को रेकर्ड बनेको छ । 

नेप्से परिसूचक आइतबार १०.०७ अंकले बढी १५०९.३९ अंकको ऐतिहासिक उचाई चुम्न सफल भएको हो । यो दिन १ सय ३५ कम्पनीका २८ लाख २३ हजार ७ सय २० कित्ता शेयर १ अर्ब २४ करोड ९० लाख ७१ हजार रुपैयाँमा किनबेच भएको छ । एकैदिन यति धेरै कारोबार पनि अहिलेसम्म भएको थिएन । 

बजारमा सबैभन्दा बढी बिमा समूहको परिसूचक एकैदिन ३३६.८२ अंकले बढी ७५०७.१३ अंकको उचाईमा पुगेको छ । बजारमा एकैदिन तीनवटा नयाँ रेकर्ड बन्दा बैकिंग समूहतर्फ १.०९ को झिनो बढोत्तरी देखियो भने बिकास बैंक ४.१८ अंकले उक्लियो । अन्य समूह स्थिर हुँदा बाँकी सबै समूहको परिसूचकमा रातो पोतियो । उत्पादनमूलक र होटल समूहको सूचक क्रमशः ३३.९४ र २९.९४ अंकले ओर्लिए । जलविद्युत समूह २.९६ अंकले घट्दा बित्त समूहको सूचकमा पनि २.१ अंकको गिरावट देखियो । 

आइतबार बजारमा सबैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्सको ६ करोड ६५ लाखको शेयर किनबेच भयो । नेपाल बंगलादेश बैंकको ६ करोड ६२ लाख, शिखर इन्स्योरेन्सको ५ करोड १७ लाख, सोल्टी होटेलको ४ करोड ४६ लाख,  नेपाल बैंक लिमीटेडको ४ करोड २१ लाख, सेञ्चुरी कमर्सियल बैंकको ४ करोडको शेयर कारोबार भयो । 

आइतबार क वर्गका कम्पनीको परिसूचक नेप्से सेन्सेटिभ इण्डेक्स र दोश्रो बजारमा कारोबार गर्न सकिने शेयरलाई मात्र आधार मानी गणना गरिएको परिसूचक फ्लोट इण्डेक्स क्रमशः २.१९ र ०.७८ अंकले बढे ।