काठमाण्डौ । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्नका लागि नेपालले आफै पहल अघि बढाएको छ। २०७२ सालको भूकम्पका कारण सगरमाथाको उचाइ घटेको हुन सक्ने चर्चा विश्वव्यापी रूपमा चलेको बेलामा नेपालले आफै पहल अघि बढाएको हो। नापी विभागले सगरमाथाको उचाइ नेपालले नाप्न सक्ने जनाएको छ। त्यसका लागि नापीले चरणबद्धरूपमा विभिन्न निकायसँग छलफल गरेको छ ।

सगरमाथाको उचाइ नाप्न कम्तीमा १० करोड रुपियाँ खर्च लाग्ने भन्दै त्यसका लागि आगामी आर्थिक वर्षमा सरकारसँग बजेट माग गरिने गरी तयारी थालिएको विभागका प्रवक्ता अनिल मरासिनीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। चालु आर्थिक वर्षमा बजेट माग गरिए आगामी आथिक वर्षमा सरकारले केही रकम छुटइउन सक्ने भएकाले पनि सगरमाथाको उचाइ मापनका सन्दर्भमा छलफललाई तीव्र पारिएको विभागले बताएको छ।

सो रकम मापन कार्यलाई आधिकारिक तुल्याउन अन्तर्राष्ट्रिय विज्ञ, अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्राविधिक यन्त्र, मापनका लागि खटिनेहरूका लागि विशेषज्ञ तालिम र कर्मचारीहरूमा खर्च हुने बताइएको छ। उचाइ मापनका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रविधि भू–उपगहमा आधारित जीपीएस टेक्नोलोजीअन्तर्गत २० वटा जीपीएस इक्विपमेन्टसमेत विभागमा रहेका छन्।

अहिलेसम्म सन् १८५२ देखि सन् २०११ सम्म दश पटक सगरमाथाको मापन गरिएको छ। विभागले सन् १९५४ को भारतीय नापी टोलीलाई पहिलोपटक स्वीकृति दिएको थियो। नेपालले अहिलेसम्म आधिकारिकरूपमा मान्दै आएको उचाइ यही भारतीय टोलीको रहेको नापी विभागले बताएको छ। यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।