काठमाण्डौ । सरकारी कर्मचारी सरकारप्रति इमान्दार हुन्छ । जनताको सेवा गर्नु उसको पहिलो कर्तव्य र दायित्व हुन्छ । तर सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलिया जसरी हुन्छ त्यसरी नै कमाउ धन्दा गर्न लागिपरेको थाहा भएको छ । सञ्चार मन्त्रालयमा बसेर एमालेको भन्दा अरु कुनै पनि काम नगर्ने तथा एमाले मात्रै मुलुकको पहिलो पार्टी हो, नेपाली काँग्रेस र माओवादी केही पनि होइनन् भन्दै तर्क गर्ने सञ्चार सचिव थपलियाको हर्कतले सीमा नाघेको छ।

सचिव थपलियाले रेडियो नेपालका संस्थापक तारणीप्रसाद कोइरालाको नाममा विराटनगरमा स्थापना गर्न लागिएको सञ्चारग्रामको बजेटमा आँखा लगाएका छन् । सो सञ्चारग्राम बनाउन सरकारले रु तीन करोड बजेट व्यवस्था गरेको थियो । आवश्यकताअनुसार सो परियोजनाका लागि बजेट थप गर्दै जाने र मुलुककै एउटा सुविधा सम्पन्न ग्राम बनाउने योजना छ । तर सचिव थपलियाले विराटनगर उपमहानगरपालिकालाई त्यस वापतको रकम दिएर रु पचास लाख घुस मागेको बताइन्छ ।

उपमहानगरपालिकाका एक लेखा अधिकृतकाअनुसार सचिव थपलियाले मैलै पैसा मिलाइदिएको छु उपमहानगरले नै काम गर्ने हो भन्दै पचास लाख आफूहरुलाई उपलब्ध गराउन निर्देशन छन् । मैलै मिलाइदिएको पैसा मैले अलिकति त पाउनै प¥यो नी भन्दै सचिव थपलियाले बार्गेनिङ गरेका छन् । रेडियो नेपालका पूर्व कार्यकारी निर्देशक शुरेशकुमार कार्कीले सर योत अलिक सुहाउँदो विषय भएन कि भन्दा सचिव थपलियाले तिमी सचिव कि म सचिव भन्दै हकारेका थिए । विराटनगरमा रेडियो नेपालको संस्थापक कोइरालाको पनि सम्मान हुने भन्ने ध्येयका साथ सरकारले उपलब्ध गराएको पैसामा आँखा गाडेर सचिव थपलियाले राम्रो नगरेको स्वयम् कार्की पनि बताउँछन् ।

रेडियो नेपाल आफैले गर्न सक्ने कामलाई सचिव थपलियाले उपमहानगर मार्फत गर्न लगाउनुको मक्सद नै पचास लाख कमिसन पड्काउनु रहेको बताइन्छ । उपमहानगरपालिकाको कार्यकारी प्रमुखमा सचिव थपलियाका आफन्त छन् । लेखा शाखाका मान्छेलाई समेत सहभागी नगराई भित्र भित्रै मिलाउने प्रपञ्च गरिएको भएपनि अन्त्यमा आएर सचिव थपलियाको पोल उनै लेखा शाखाले खोलिदिएको छ । बजेट थपौला नी के को चिन्ता हो भन्दै सचिव थपलियाले पहिलो चरणमा आफूलाई पचास लाख उपलब्ध गराउन भनेको बताइन्छ । लेखा शाखाले सचिव थपलियाको हर्कत सार्वजनिक गर्ने र रेडियोको गरिमा मेटाउने काम गर्न नहुने बताएपछि सचिव थपलियाले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई भनेर लेखा शाखाका अधिकृतलाई सरुवा गराउने प्रपञ्च समेत गरेका छन् । यस वारेमा सचिव थपलियालाई फोन सम्पर्क गर्दा कुरा गर्न चाहेनन् । अाजकाे जनअाव्हान साप्ताहिकमा खबर छ ।

टेलिकम टावरमा पनि आँखा
सञ्चार मन्त्रालयमा बसेरएमालेलाई मासिक चन्दा बुझाउनुपर्छ भन्दै सचिव थपलियाले नेपाल टेलिकमको टावर समेत निर्माण हुन दिएका छैनन् । सूचना तथा सञ्चार मन्त्री राम कार्कीले पटक पटक टेलिकमको गुणस्तर किन कमजोर भएको हो भन्दा पनि सचिव थपलियाले मन्त्रीज्यू काम भइरहेको छ भन्दै काम गर्न दिएका छैनन् । उनले टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई अहिले टावर बनाउने काम गरे, तिम्लाई प्रबन्ध निर्देशकबाटै हटाइदिएला नी भन्दै सचिव थपलियाले धम्की दिएको गुनासो गर्ने गरेकी छिन् । सचिव ज्यूले नै टावर अहिले नबनाउनु, राम कार्कीले मन्त्री पद छाडेपछि मात्रै बनाउने हो, यसलाई जसरी भएपनि असफल बनाउनुपर्छभ न्दै टावर बनाउन दिनुभएको छैन, राजभण्डारीले आफ्ना निकटस्थहरुसँग गुनासो गर्ने गरेकी छिन् ।

कुल १२३५ वटा टावर निर्माण गर्नुपर्ने भएपनि कुनै पनि प्रक्रिया अगाडि बढेको छैन । त्यसमा ३१५ वटा टावर टेलिकम आफैले बनाउनुपर्नेछ । शहरमा कोही कसैले पनि घर दिएनन् हजुर भन्दै प्रतिवेदन बनाएर ल्याउन सचिव थपलियाले कामिनीलाई भनेको बताइन्छ । दुरसञ्चार प्राधिकरणले तत्काल टावर बनाउन र थ्री जीलाई अपग्रेड गरेर फोर जी चलाउन निर्देशन दिएको भएपनि सचिव थपलियाकै कारण सबै काम रोकिएको बताइन्छ । यस सम्बन्धमा प्राधिकरणका एक अधिकारीसँग सम्पर्क गर्दा सचिव ज्यू नै अहिले टावर नबनाउ भनेर लाग्नु भएको छ, हामीलाई के सोध्नुहुन्छ सर उतै सोध्नुस न भन्ने जवाफ दिन्छन् ।

सरकारी सञ्चार माध्यममा आँखा
सचिव थपलियाले रेडियो नेपाल, नेपाल टेलिभिजन, रासस र गोखापत्रमा एमालेका कार्यकर्ता भर्ती गराउन न्वारनदेखिकै बल निकालेर लागिपरेको बताइन्छ । अघिल्लो सञ्चारमन्त्री शेरधन राईलाई समेत काम गर्न नदिएका थपलियाले एमाले कार्यकर्ता भर्ती गराउन लागिपरेका छन् ।

उनले चार वटै संस्थाका प्रमुखलाई दबाव दिएको बताइन्छ । यस्तै उनले हरेक शुक्रबार यसो रमाइलो त गर्नुप¥यो नी भन्दै उपसचिव गोविन्द सिंह भण्डारीलाई रकम उठाउन पठाउने गरेका छन् । सचिव थपलिया आफ्नो लंगूटियार दोस्त भएको भन्दै भण्डारी रासस, रेडियो नेपाल, गोखापत्र संस्थान र नेपाल टेलिभिजनका कर्मचारीलाई धम्की दिएर पैसा उठाउँदै धुलीखेल पुगेर रमाइलो गरेर फर्कने गरेको बताइन्छ । त्यसो त काविल उपसचिव मानिएका गौरव गिरि, भरतबहादुर ढुङ्गानालाई भने सचिव थपलियाले पजनी गरेका छन् । कुनै पनि काम नदिएर उनीहरुलाई रुनु न हाँस्नु बनाएको बताइन्छ । ढुङ्गानाले त आफूलाई मिनेन्द्र रिजालले समेत पेलेको, शेरधनको पालामा तल्लामुनीको कोठामा बस्नुपरेको बताउँदै आएका छन् । जनतालाई न्याय दिन्छु भनेर बन्दुक उठाएर आएका राम कार्कीले समेत आफूलाई कुनै जिम्मेवारी नदिएको गुनासो गर्दै आएका छन् ।

यस्तै भण्डारीले राससलाई दबाव दिएर अर्का उपसचिव रुद्रादेवी खतिवडालाई स्कुटर किन्न लगाएको बताइन्छ । राससको नाममा किनिएको स्कुटर हाल खतिवडाले चढ्ने गरेकी छिन् । यति त गर्नुप¥यो नी तपाईहरुले भन्दै सचिव थपलिया, उपसचिव भण्डारीले राससका अध्यक्ष कुलचन्द्र वाग्लेलाई दबाव दिएर सो स्कुटर किन्न लगाएको बताइन्छ । सो स्कुटरको बजार मूल्य रु दुई लाख २५ हजार रहेको छ ।

रासस लेखा शाखा र प्रशासन शाखाका प्रमुखले पनि सचिव थपलिया र उपसचिव भण्डारीको दबावमा नै आफूहरुले बाध्य भएर स्कुटर किनिदिएको बताउने गरेका छन् । उपसचिव खतिवडा भने सचिवको निगाहा पाएको स्कुटर आफ्नै भएको दावी गर्दै हिडेकी छिन् । स्कुटरको बारेमा उनलाई सोध्दा राससको काम गरिदिएको थिए, उहाँहरुले खुसी भएर उपहार दिनुभएको बताउने गरेकी छिन् ।

कर्मचारीलाई तलब खुवाउन सक्ने अवस्था छैन, मन्त्रालयका अधिकारी नै स्कुटर किन्दे, शुक्रबार शुक्रबार जाँड खुवाउनुप¥यो भन्दै फोन गर्छन नगरिकन पनि भएन , हामी त बढे अप्ठ्यारोमा परेका छौ राससका ती अधिकारीले भने ।

यस्तै सचिव थपलियाले धनेन्द्र विमललाई थर्काएर रेडियो नेपालको हुन्डाइ जिप आफ्नी श्रीमतीको नाममा लिएका छन् । भने गोरखापत्र संस्थानलाई समेत स्यान्ट्रो कार पठाइदिन भन्दै महाप्रबन्धक सुशील कोइरालालाई दबाव दिएको बताइन्छ ।

सचिव थपलियाकै कारण सरकारी सञ्चार माध्यम क्रमशः डुब्ने अवस्थामा पुगेको छ । गोखापत्र संस्थानले प्रकाशन गर्ने गोरखापत्रको सम्पादक परिवर्तन गर्न उनै थपलियाले दिएका छैनन् भने , रेडियो नेपालको कार्यकारी निर्देशकमा समेत उनले एमाले कार्यकर्ता ल्याउनुपर्ने अडान राख्दै आएका छन् । गोरखापत्रमा एमाले कार्यकर्ता पुस्कर माथेमा प्रधानसम्पादक रहेपछि सबै काम प्रचार विभाग सदस्य रहेका निर्मल आचार्यले गर्दै आएका छन् । एमालेका कनिष्ठ कार्यकर्ताले सरकारको समाचार दोस्रो, तेस्रो पेजमा कोचेर एमालेको प्रचार यन्त्र बनाएका छन् । राससमा समेत उनले एमाले कार्यकर्ता सुरेन्द्रबहादुर नेपालीलाई महाप्रबन्धक बनाउने भन्दै उपसचिव भण्डारीलाई अह्राएका छन् ।

उनै भण्डारीको दबावमा राससले केही समय पहिले धुलीखेलमा लगेर भण्डारीलाई पचास हजारको भोज गराएको बताइन्छ । रक्सीको तालमा भण्डारीले लौ तिमी भयौ महाप्रबन्धक भन्दै नेपालीलाई धाप मारेका थिए र भनेका थिए , हामी त्यो राम कार्कीलाई त क्वाप्पै खाइदिन सक्छौ, तिमी चिन्ता नगरे हुन्छ भन्दै हिडेका थिए ।

यस्तै सचिव थपलियाले नेपाल टेलिभिजनमा एमाले कार्यकर्ता भर्ती गराउने भन्दै केहीसँग उठती धन्दाको समेत सुरु गरिसकेको बताइन्छ । दिपक धिताललाई महाप्रबन्धक बनाउनुपर्ने उनको माग रहेको छ । सो सम्बन्धमा सचिव थपलियासँग बुझन खोज्दा उनले आफू बैठकमा भएको र अहिले कुरा गर्न नभ्याउने जवाफ दिएका छन् । मोबाइलमा उनले त्यसो भनेपछि उनको कार्यकक्षमा फोन गर्दा उनको सहयोगीले सचिव प्रेस चौतारीका नेताहरुसँगको छलफल रहनु भएको जवाफ दिए । त्यसो त शेरधन राई सञ्चारमन्त्री हुँदा उनको सहयोगी रहेका एक कर्मचारीले भने सचिव ज्यू खड्ग ओलीको मान्छेको मात्रै काम गर्नुहुन्छ, एमालेको पनि होइन भन्ने बताए ।