काठमाण्डौ । सनराइज बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफातर्फ कमालको प्रगति गरेको छ । 

यो वाणिज्य बैंकले २५ करोड ३१ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा यो बैंकको खूद नाफा ११ करोड ७८ लाखमा सीमित थियो ।

बैंकले आइतबार प्रकाशन गरेको बित्तीय विवरणका अनुसार यो बैंकको खूद ब्याज आम्दानीतर्फ पनि कमालको प्रगति भएको छ । अघिल्लो वर्ष २८करोड ६ लाखमा सीमित खूद ब्याज आम्दानी यो वर्ष वृद्धि भई ५१ करोड ५६ लाख पुगेको छ । 

अघिल्लो आर्थिक वर्षमा पहिलो त्रैमासमा ३५ करोड २६ लाख निक्षेप संकलन गरेको यो बैंकले चालु आबको सोही अवधिमा ५४ अर्ब ८ करोड निक्षेप संकलन गर्न सफल भएको छ । अघिल्लो वर्ष यही अवधिमा २९ अर्ब २२ करोड कर्जा प्रवाह गरेकोमा यो वर्ष ४६ अर्ब ४५ करोड कर्जा प्रवाह भएको छ । 

यो बैंकको चुक्तापूँजी ५ अर्ब ३० करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा १ अर्ब ९ करोड रुपैयाँ छ । 

बैंकको संचालन नाफा दोब्बर वृद्धि भएको छ । १५ करोड ८९ लाख रहेकोमा यो वर्ष संचालन नाफा ३० करोड ४९ लाख पुगेको हो । 

सनराइज बैंकले नारायणी नेशनल फाइनान्सलाई मर्ज गरेका कारण समेत विजिनेशमा वृद्धि भई चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कमालको प्रगति देखिएको हो । 

बैंकले निस्क्रिय कर्जा दरलाई समेत घटाएको छ । अघिल्लो आबको पहिलो त्रैमासमा २.६९ प्रतिशत रहेको एनपीएल यो वर्ष १.६९ प्रतिशतमा झारिएको छ । 

बैंकको प्रति सेयर आम्दानी रु.१९.१०, प्रतिसेयर नेटवर्थ १२०.६८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३३.४६ गुणा कायम भएको छ ।