काठमाण्डौ । सन् २०१६ मा पहिलोपटक बिहीबार कच्चा तेलको भाउ प्रति ब्यारेल ५० डलर नाघेको छ । 

आपूर्तिमा भएको कमी र विश्वको मागमा भएको बढोत्तरीसँगै विश्वको अर्थतन्त्रमा सुधारको संकेतको रुपमा यसलाई हेरिएको विश्लेषकहरुले बताएका छन् । 

बिहीबार ब्रेट कच्चा तेलको भाउ प्रति ब्यारेल ५०.२२ डलरसम्म पुगेको छ । गएको नोभेम्बरपछि कच्चा तेलको मूल्य ५० डलर प्रति ब्यारेल नाघेको यो नै पहिलो घटना हो । 

बिहीबार अमेरिकामा जारी तथ्यांकमा तेलको सञ्चितीमा गिरावट दर्ज भएको थियो । यसैका कारण तेलको मूल्यमा उछाल आएको अधिकारीहरुले बताएका छन् । 

तथ्यांकका अनुसार मे महिनाको तेश्रो हप्तामा अमेरिकामा कच्चा तेलको सञ्चिती ४२ लाख ब्यारेलसम्म कम भइसकेको छ । 

कच्चा तेलको मूल्य सन् २०१६ को सुरुवातमा पछिल्लो १३ वर्षकै सबैभन्दा तल्लोस्तर अर्थात प्रति ब्यारेल २८ डलरसम्म झरेको थियो । त्यसबेलादेखि हालसम्म मूल्यमा ८० प्रतिशतले सुधार आइसकेको छ । 

अमेरिकाले आफूलाई आवश्यक कच्चा तेलको अधिकांश हिस्सा क्यानडाबाट आयात गर्छ । क्यानडाको पश्चिमी क्षेत्रको जंगलमा भीषण लागेको आगोका कारण तेलको उत्पादन प्रति दिन १० लाख ब्यारेलले कमी आइसकेको छ । 

हालै ओपेक देश र रुसबीच भएको कुराकानीपछि तेलको उत्पादन घटाइएलगत्तै मूल्यमा सुधार आउन थालेको हो ।