काठमाण्डौ । केपी शर्मा ओली नेतृत्वको सरकार गिराउन ठूलो कसरत गरेको भारत असफल भएपछि उसको लगानीमा तराई–मधेश र पूर्वी पहाडी भेगका आदिवासी जनजातिहरु आन्दोलनमा उतारिन्छन् भन्ने चर्चा चलिरहेकै बेला त्यही पूर्व घोषणालाई पुष्टि गर्दै सिंहदरबारलाई धक्का दिने भन्दै प्रदर्शनमा उत्रिएका संघीय गठबन्धनका नेताहरुले आइतबार नराम्रो झट्का भेटेका छन् । 

जिल्ला–जिल्लाबाट कार्यकर्ता र सोझा जनतालाई काठमाण्डौमा उतारी करिब १ लाखको विशाल जुलुसले सिंहदरबारलाई चारैतिर घेराबन्दीमा पारी सरकारलाई धक्का दिने भाषण गर्दै हिँडेका गठबन्धनका नेता आइतबारको न्यून उपस्थितिले हिस्स परेका विश्लेषण गर्न थालिएको छ । 

आइतबारको प्रदर्शनमा निकै कम सहभागिता थियो । प्रहरीले नेताहरुको भाषणलाई आधार बनाएर ठूलै सहभागिता होला भन्ने आँकलनसहित करिब ३ हजार सुरक्षाकर्मी आन्दोलनमा खटाएको थियो । तर प्रहरीको संख्याकै हाराहारीमा समेत गठबन्धनले जनता तथा कार्यकर्ता उतार्न नसकेपछि सिंहदरबारलाई धक्का दिन्छौ भन्नेहरु आफैंले धक्का पाएका छन् । ‘बेमौसममा आन्दोलनको कुरा गर्दा र अरुबाट निर्देशित आन्दोलनले परिवर्तन गर्छु भन्दा उल्टो जनताले धक्का दिन्छन् भन्ने कुरा सायद नेताहरुले आइतबारदेखि बुझेका छन् ।’–एक राजनीतिक विश्लेषकले भनेका छन् । 

आइतबार प्रदर्शनमा माइतीघर मण्डला क्षेत्रतर्फ केही मानिसहरु भए पनि हनुमानथानतर्फ चाहि केही सयको मात्र सहभागिता थियो । सो क्षेत्रमा सद्भावना अध्यक्ष राजेन्द्र महतोले आन्दोलनको नेतृत्व गरेका थिए । उनको नेतृत्वमा सिंहदरबारको पूर्वी गेटतर्फ धर्नामा बसेको समूहको संख्या मुश्किलले ३ सय पनि थिएन । 

महतोको भन्दा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले कमाण्ड सम्हालेको माइतीघरतर्फको क्षेत्रमा चाहि प्रदर्शनकारीको राम्रो उपस्थिति थियो । सो क्षेत्रमा करिब २ हजार प्रदर्शनकारीहरु सडकमा उत्रिएका थिए ।

संघीय लिम्बूवान राज्य परिषद तथा अन्य लिम्बूवानी संगठन, संघीय समाजवादी फोरम र अन्य जातीय संगठन समेत सो क्षेत्रमा थुप्रिएका थिए । तर स्वस्फूर्त आन्दोलनमा उत्रने प्राय कोही पनि थिएनन् । अधिकांश विभिन्न दलका सक्रिय कार्यकर्ताको मात्र उपस्थिति देखिन्थ्यो । माइतीघर मण्डला क्षेत्रको प्रदर्शनमा एमाओवादी र अन्य माओवादी निकट जातीय संगठनका नेताहरुको समेत उपस्थिति रहेको अनौठो दृश्य देखिएको थियो । 

सिंहदरबारलाई भनेजस्तो धक्का दिन नसके पनि संघीय गठबन्धनको आन्दोलनले राजधानीको केही क्षेत्रको ट्राफिक व्यवस्थापनलाई भने अस्तव्यस्त पार्ने गरी नै धक्का दियो । थापाथलीदेखि त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, भद्रकाली, सिंहदरबार हुँदै माइतीघर मण्डला, त्यहाँबाट बबरमहल हुँदै बानेश्वर सम्मको यातायात प्रदर्शनका कारण अस्तव्यस्त बनेको थियो । 

मोर्चाका नेताभित्र तीव्र विवाद


आन्दोलनमा भनेजस्तो सहभागिता नभएपछि गठबन्धनका नेताहरुबीचको विवाद थप उत्कर्षमा पुगेको छ । उपेन्द्र यादव र राजेन्द्र महतोले आन्दोलनमा न्यून जनसहभागिता रहनुमा एकअर्काको टाउकोमाथि दोष थोपरेका छन् । यसले गठबन्धनका नेताबीचको तिक्तता अझ बढेको देखिएको छ ।

स्रोतका अनुसार आन्दोलनको जस कस्ले लिने भन्ने बिषयमा विवाद हुँदा तमलोपा अध्यक्ष महन्थ ठाकुरले यो आन्दोलनमा सहभागिता नै जनाएनन् भने अर्का नेता हृदयेश त्रिपाठी समेत सिंहदरबारलाई धक्का दिने भनिएको आन्दोलन छाडेर एकदिनअघि जिल्लातिर हानिए ।

यसरी आन्दोलनको नेतृत्व गर्ने, जस लिने, तर असफल हुँदा अपजस व्यहोर्न तयार नहुने गठनबन्धनका नेताहरुको चरित्रका कारण केही सय नै भए पनि काठमाण्डौ आएका कार्यकर्ताहरुको दुःख खेर जाने देखिएको छ । उनीहरुका लागि यो आन्दोलन र प्रदर्शन उपलब्धिमूलक भन्दा पनि काठमाण्डौको तीर्थाटनको अवसर मात्र बन्ने निश्चित देखिएको राजनीतिक विश्लेषकहरुले दाबी गरेका छन् । 

तर प्रदर्शनपछि बिजशालासँग कुरा गर्दै गठबन्धनका केही नेताहरुले आइतबारको प्रदर्शन शानदार रुपमा सफल भएको दाबी गरे । 

सबै तस्विरहरु : बिजशाला