काठमाण्डौ । विजिनेशको संसारमा सफल बन्न उति सजिलो छैन । तर, तपाईंसामु कयौं सफल उदाहरण भए भने तपाईंले त्यहाँबाट सिकेर सफलता हात पार्न सक्नुहुन्छ । कतिपय फिल्म यस्ता बनेका छन्, ती फिल्म हेरेर समेत तपाईंले सफल व्यवसायी बन्ने धेरै टिप्सहरु पाउन सक्नुहुन्छ, धेरै कुराहरु सिक्न सक्नुहुन्छ । फिल्म यस्तो क्षेत्र हो, जसबाट धेरै मानिस सजिलै प्रभावित हुन्छन् र सिकाईमा पनि फिल्म एक प्रभावकारी माध्यम हो । बलिउड र हलीउडमा सफल व्यवसायी बन्न सिकाउने कयौं फिल्म बनेका छन् । यदि तपाईं पनि आफ्नो व्यवसाय सुरु गर्न चाहनुहुन्छ भने अवश्य केही फिल्म हेर्नुहोस् । यी फिल्म तपाईंलाई निकै काम लाग्न सक्छन् ।

द सोसल नेटवर्क (social-network)
द सोसल नेटवर्क फिल्म सन् २०१० मा रिलिज भएको थियो । यो फिल्म फेसबुकका फाउण्डर मार्क जुकरबर्गको सफलताको कथासँग सम्बन्धित छ । फिल्ममा जुकरबर्गको मेहेनत र मोटिभेसनलाई प्रस्तुत गरिएको छ । फेसबुकको सुरुवातदेखि मार्कको सफलतासम्मका कथाहरुलाई यो फिल्ममा समेटिएको छ । 

किन हेर्ने ?
फिल्ममा मार्कको सोंच र एकाग्रतालाई प्रस्तुत गरिएको छ । वेबसाइट बनाउन जस्तो किसिमको सोंच र भिजन चाहिन्छ, ती सबै कुरा फिल्ममा प्रस्तुत गरिएको छ । फेसबुक कसरी तयार गरियो, कसरी त्यसलाई बिस्तार गरियो र सफलताको सिढीमा कसरी मार्कले काम गरे भन्ने कुरा  फिल्ममा देखाइएको छ । यो फिल्मले तपाईंलाई मोटिभेट गर्नेछ ।

बेण्ड बाजा बारात


यो फिल्म दुई ग्राजुएट्सको आसपासमै घुम्छ । यी दुई पात्र एकअर्कालाई चिन्दैनन्, तर एक साथ विवाह समारोह व्यवस्थापनको काम सुरु गर्छन । तर, त्यसपछि फिल्म लभ स्टोरीमा बदलिन्छ । एक स्टार्टअपलाई जुन किसिमको चुनौतिको सामना गर्नुपर्छ, त्यसलाई निकै सुन्दर ढंगले फिल्ममा प्रस्तुत गरिएको छ ।

किन हेर्ने ?
यो फिल्मको सबैभन्दा ठूलो सन्देश भनेकै तपाईंको व्यवसाय र व्यक्तिगत जीवनका विविध पक्षहरुलाई बिल्कुल अलग अलग राख्न आवश्यक हुन्छ । योग्यता भन्दा ठूलो कुरा धैर्यता, निर्णय क्षमता र समूहमा काम गर्न सक्नु रहेको फिल्मले स्पष्ट सन्देश दिएको छ । यो फिल्म हेरेपछि ग्राहकलाई बुझ्न, ठूलो सपना देख्न, प्रतिस्पर्धीको चिन्ता नलिन, भेण्डर्सलाई पार्टनरको रुपमा हेर्ने लगायतका शिक्षा व्यवसायीलाई सिकाइदिन्छ । 

पाइरेट्स अफ सिलिकन भ्याली (Pirates of Silicon Valley)


यो फिल्म बिल गेट्स र स्टीव जब्सको उदयको बिषयमा बनाइएको छ । यो फिल्म सन् १९९९ मा रिलिज भएको थियो । यो फिल्म एक टेलिभिजनका लागि सामान्य डकूमेन्ट्रीको हिसाबले मात्र बनाइएको थियो । फिल्म हेरेर तपाईले माइक्रोसफ्टका फाउण्डर बिल गेट्स र एप्पलका फाउण्डर स्टीव जब्सको जिन्दगीसँग निकै नजिक हुन पाउनुहुन्छ । यो फिल्मले देशमा टेक्नोलोजीको सुरुवातका दिनहरुको बिषयसँग जोडिएका कथाहरुलाई समेटेको छ । 

किन हेर्ने ?
फिल्ममा प्रस्तुत गरिएको बिल गेट्स र स्टीव जब्सको संघर्षको कथाबाट जीवनमा कसरी लक्ष्य प्राप्त गर्न सकिन्छ भन्ने कुरा सिक्न सकिन्छ । जुन व्यक्ति आफ्नै विजिनेश सुरु गर्न चाहन्छ, यो फिल्मले त्यस्ता व्यक्तिलाई उत्साहित बनाउन सक्छ । 

रकेट सिंह


ग्राजुएसनमा ३९ प्रतिशत नम्बर ल्याउने हरप्रित सिंह आफ्ना हजुरबुबासँग बस्छ र एवाईएस कम्प्युटर्स कम्पनीमा सेल्सम्यानको नोकरी गर्न थाल्छ । उसका ठूला अफिसर र सहयोगीले समेत उसलाई निकै तल्लो दर्जाको रुपमा व्यवहार गर्न थाल्छन् । उसलाई तुरुन्तै थाहा हुन्छ कि इमानदारी सही नीति होइन । त्यसपछि उसले सोही कम्पनीको रिसोर्सेज र चार अन्य कर्मचारीसँग मिलेर सेल्स कम्पनी सुरु गर्छ । रकेट सेल्स कर्पोेरेसनको सुरुवातसँगै एक व्यवसायीको जन्म हुन्छ । 

किन हेर्ने ?
यो फिल्मले पनि एउटा महत्वपूर्ण ज्ञान दिन्छ । यसले औपचारिक शिक्षामा असफलहरुले सफलता पाउन सक्छन् भन्ने ज्ञान दिन्छ । यसबाहेक जोखिम लिनु, टिमका लागि सही मानिसलाई साथमा लिनु र ग्राहकहरुका लागि आफ्नो प्रतिबद्धता लगायतका बिषयमा समेत यो फिल्मले व्यवसायीलाई सिकाउँछ ।

सिटिजन केन (Citizen Kane)


ओर्सन बेल्लेसको यो फिल्म सन् १९४१ मा रिलिज भएको थियो । फिल्ममा एक न्यूजपेपर टाइकुनको बिषयमा बताइएको छ । यसमा देखाइएको छ कि फिल्मको अन्तमा एक न्यूजपेपर टाइकुनले जिन्दगीको सबैभन्दा महत्वपूर्ण पक्षको बिषयमा कसरी थाहा पाउँछ । 

किन हेर्ने ?
फिल्मको माध्यमबाट यो बताउन खोजिएको छ कि एक सफल विजिनेशमेन बन्नु नै एक व्यवसायीको लक्ष्य हुन्छ, तर उसको जिन्दगीको एक मात्र लक्ष्य यही मात्र हुँदैन । बाँकी फिल्म हेरेपछि तपाईलाई थाहा हुन्छ । 

गुरु


भारतका चर्चित सफल व्यवसायी धिरुभाई अम्बानीको जीवनमा आधारित फिल्म गुरु पनि हेर्नैपर्ने फिल्मको सूचिमा छ । गुरुकान्त देसाई एक मध्यमवर्गीय महत्वकांक्षी ठिटा हुन्, जसको एक धनी कारोबारीकी छोरीसँग विवाह हुन्छ । दाइजोमा प्राप्त भएको पैसा लगानी गरेर उसले मुम्बईमा आफ्नो कपडाको विजिनेश सुरु गर्छ । उसले चाँडो समयमै सफलता हासिल गर्छ र आफ्नै गार्मेन्टका लागि मेसिनको तस्करी सुरु गर्न थाल्छ । गैरकानूनी ढंगले सामान बनाउन थाल्छ र धेरै नाफा कमाउन चाहिंदो नचाहिंदो काम गर्न थाल्छ । 

किन हेर्ने ?
यो फिल्मबाट एक व्यवसायीको महत्वकांक्षा र सफलताको बिषयमा थाहा पाउन सकिन्छ । यो फिल्मबाट भारत स्वतन्त्र भएदेखि अहिलेसम्म व्यवसायिक क्षेत्रमा आएका परिवर्तनहरुको बिषयमा समेत थाहा पाउन सकिन्छ । एक व्यवसायीको रुपमा गुरुले सपनामाथि विश्वास र भरोसा राख्न हरेक सपनाप्रेमीहरुलाई सिकाउँछ । 

ग्लेनग्यारी ग्लेन रोस (Glengarry Glen Ross)


यो फिल्म डेविड मामेटका पुलित्जर पुरस्कार विजेता प्लेमा आधारित छ । यसमा शिकागोको रियलस्टेट बजार र त्यहाँ हुने कडा प्रतिस्पर्धालाई देखाइएको छ । यो फिल्ममा एक सफल व्यवसायी बन्न आफ्नो विजिनेशमा कुन हिसाबले संयम र होशियार हुनुपर्छ भन्ने कुरा सुन्दर ढंगले देखाइएको छ । 

किन हेर्ने ?
फिल्मले विजिनेशका दुनियाँ निकै धेरै नराम्रो र उदेकलाग्दो पनि हुनसक्ने देखाएको छ । तर यस्तो दुनियाँमा संयम र होशियारीले काम गर्नुपर्छ भन्ने सन्देश पनि दिइएको छ । यो फिल्म स्न १९९२ मा रिलिज भएको थियो । 

कर्पोरेट


यो फिल्म दुई कर्पोरेट्सबीचको द्वन्द्वमा आधारित छ । यी दुई कर्पोरेट्स धेरैभन्दा धेरै नाफा कमाउन धेरै गलत कदम समेत उठाउने गर्छन् । सन् २००३ मा एक कोल्ड ड्रिंक कम्पनीको उत्पादनमा धेरै पेस्टीसाइड पाइएपछि त्यसैको रिपोर्टका आधारमा यो फिल्म बनाइएको थियो । फिल्ममा विजिनेशको खराब रुप, राजनीति तथा सधैं उत्कृष्ट बन्नका लागि हुने पावर गेमको बिषयमा समेत बताइएको छ । 

किन हेर्ने ?
कर्पोरेट फिल्मको माध्यमबाट व्यवसायीले संचालन गर्ने विजिनेशको खराब पक्षहरुको बिषयमा थाहा पाउन सकिन्छ । फिल्मको माध्यमबाट कर्पोेरेट सेक्टरसँग सबै राम्रो मात्र हुँदैन र यो क्षेत्रमा किन नैतिकवान र इमानदार हुन आवश्यक हुन्छ भन्ने कुराको पाठ सिक्न सकिन्छ । 

मनी बल (Moneyball)


यो ब्राड पिटको फिल्म हो, जसमा उनले बिली बिनको भूमिका निर्वाह गरेका छन् । फिल्ममा एक टिमसँग खेलाडीका लागि खर्च गर्ने पर्याप्त पैसा नभएको र यस्तो अभावामा ब्राडले कसरी अनौठो तरिका अपनाएर पैसा जोहो गर्छन् भन्ने कुरा देखाइएको छ । यो फिल्ममा व्यवस्थापनको बिषयमा समेत निकै राम्रो ढंगले देखाइएको छ । 

किन हेर्ने ?
यो फिल्ममा बिन नामक पात्रलाई निकै इनोभेटिभ देखाइएको छ । यो नै एक व्यवसायीको सबैभन्दा ठूलो क्षमता र मन्त्र पनि हो । कम स्रोत भएर समेत कसरी राम्रो उपायबाट समस्यालाई टार्न सकिन्छ भन्ने कुरा फिल्मले देखाएको छ । यो फिल्ममा बिनले यस्ता व्यक्तिहरुको कयौं कुरा सुन्दैनन्, जसले उनलाई केही गर्नबाट रोक्न खोज्छन् । उनले कयौं चुनौतिका बीच आफ्नो विजिनेश पनि छाड्दैनन् । 

मञ्जिल


एक बेरोजगार, तर महत्वकांक्षी युवा, जसले आफ्नै विजिनेश सुरु गर्ने सोंच राख्छ । उसले इलेक्ट्रिक करेन्ट चेक गर्ने मेसिन(गेलोमिटर)को विजिनेश सुरु गर्छ । तर, बजारमा तीव्र प्रतिस्पर्धा भएका कारण उसको कम्पनी असफल हुन्छ । उसको टाउकोमाथि निकै धेरै ऋण समेत जम्मा हुन्छ । 

किन हेर्ने ?
यो फिल्मले तपाईंलाई आफ्नो वर्ग र हैसियत अनुसारको विजिनेश सुरु गर्ने  कुरा सिकाउँछ । यो फिल्मले एक सफल व्यवसायी त्यो मात्र हुन्छ, जसले आफ्नो गल्तीलाई स्वीकार गर्छ र त्यसबाट पाठ सिकेर अगाडि बढ्नसक्छ भन्ने राम्रो सन्देश दिन खोजिएको छ ।