काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार छाड्ने भएको छ । राप्रपाको यो निर्णयसँगै संविधान संसोधनको लागि साना दलहरुलाई मन्त्री उपहार दिएर दुुईतिहाई पुर्याउने प्रचण्ड नेतृत्वको सरकारको प्रयास विफल हुने निश्चित झै देखिएको छ । 

सोमबार राजधानीमा रिपोटर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै राप्रपाका राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारमा आफ्नो पार्टीको उपस्थितिको औचित्य सकिएकोले छिट्टै मन्त्रीहरुलाई फिर्ता बोलाउने स्पष्ट पारेका हुन् । लोहनीले सरकारमा राप्रपाको उपस्थिति भए पनि कुनै पनि कुरामा साझेदारी नभएको गुनासो पोख े। उनले भने,‘सरकारको महत्वपूर्ण काम तथा निर्णयहरुमा राप्रपाको कुनै साझेदारी देखिएन, त्यसैले सरकारमा रहिरहने कुरा अब स्वीकार गर्न सकिँदैन, यसबारेमा पार्टीभित्र पनि गम्भीर रुपमा कुरा उठिसकेको छ।’

तर, औपचारिकताका लागि पार्टी रहने या नरहने भन्ने निर्णय पार्टीको कार्यसम्पादन समितिले गर्ने डा. लोहनीले प्रष्ट्याए । उनले थपे,‘यो सरकारको तौररतरिका हेर्दा अब हाम्रो पार्टी सरकारमा बस्ने औचित्य समाप्त भयो।’

प्रचण्ड चुनाव नगराउने पक्षमा
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारको नियत नै चुनाव गर्ने खालको नभएको आरोप लगाए । डा. लोहनीले थपे,‘संवैधानिक आयोगले अघि सारेको प्रतिवेदनको निहुँ निकालेर अहिले विभिन्न बखेडा झिक्ने काम भैरहेको छ, यो चुनाव पन्छ्याउने काम हो।’

उनले संसदमा टेबुल भएको संविधान संशोधन विद्येयकको कुनै औचित्य नै नरहेको दाबी गरे । लोहनीले थपे,‘अहिले अघि सारिएको संशोधनले मुलुकको हित गर्दैन, संशोधनमा उल्लेख गरिएको कतिपय विषयहरुले देशको राष्ट्रिय हित गर्दैन्।’ उनले ५ नम्बर प्रदेशको सिमांकन हेरफेरको विषय र नागरिकताको प्रावधान गलत भएको टिप्पणी गरे।

उनले आफ्नो पार्टी संविधान संशोधनको विपक्षमा नरहेको जिकिर गर्दै भने,‘हामी पनि संविधान संशोधन गर्नुहुँदैन भन्ने पक्षमा छैनौं, तर अहिले संशोधन प्रस्तावलाई एक ठाउँमा थाँती राखेर निर्वाचनमा जानुपर्छ, अहिले जनताको माग भनेको नै चुनाव हो।’ उनले मधेश र पहाडलाई अलग पार्ने कुरा कुनै हालतमा स्वीकार्य नहुने समेत जिकिर गरे। उनले थपे,‘यस्तो प्रस्तावको पक्षमा हामी छैनौं।’

उनले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई चुनाव गराउँदा आफूले छोड्नुपर्ने हो कि भन्ने पीर देखिएको आशंका व्यक्त गर्दै भने,‘सरकारको यो प्रवृत्ति दुर्भाग्यपूर्ण छ।’

सरकार लाचार, इतिहासकै कमजोर
डा. लोहनीले पछिल्लो समय सरकारी अक्षमता बढिरहेको समेत गुनासो पोखे। उनले भने,‘जनताले कर तिरेको पैसाबाट दुई खर्ब पैसा ढुकुटीमा बसिरहेको छ, खर्च गर्न नसक्दा बैंकमा व्याज बढिरहेको छ।’ उनले सरकारसँग विकासका योजना नहुँदा सुशासनको ठाउँमा कुशासन र ईमानको सट्टा बेईमान बढेको बताए।

उनले भुकम्प पीडितहरुले राहत नपाएको समेत गुनासो पोखे। लोहनीले थपे,‘भुकम्पपीडितले राहत नपाउनु भनेको सरकारको लाचारीपन हो, यो सरकारको नालायकीपन हो।’ उनले सरकारले जनताको नाममा खेलाँची गरिरहेको आरोप लगाए। लोहनीले थपे,‘भुकम्पपीडितलाई राहत दिनुभन्दापनि हाकिम फेर्नतिर लागे, यसरी कसरी हुन्छ ?’

अध्यक्षमा उम्मेद्वारी दिने
फरक प्रसँगमा डा. लोहनीले पार्टीको महाधिवेशनमा आफूले अध्यक्षको उम्मेद्धवारी दिने समेत बताए। उनले भने,‘यो पार्टीलाई राष्ट्रवादी शक्तिको रुपमा स्थापित् गर्न र खासगरी सम्र्वद्धनवादी दल बनाउनको लागि नेतृत्व गरौं भन्ने मेरो चाहना छ, तर म यसबारेमा दुइ–तीन दिनभित्रै निर्णय गर्छु।’