काठमाण्डौ । आन्दोलनको घोषणा गरेको मधेशी मोर्चासँग सरकारले स्थानीय निर्वाचन दुुई चरणमा गर्ने सहमति गरेको छ । यो सहमतिसँगै मोर्चाका आन्दोलनका सबै कार्यक्रम फिर्ता भएका घोषणा गरिएको छ । 

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सरकारले परिमार्जनसहित संशोधन प्रस्ताव पारित गर्ने र मोर्चा निर्वाचनमा जान सम्पूर्ण घोषित आन्दोलनका कार्यक्रम स्थगित गर्ने सहमति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले जानकारी दिए । 

उनका अनुसार सरकारले संविधान संसोधन परिमार्जानका लागि मन्त्रीपरिषदबाट निर्णय गराई संसदमा पेश गर्नेछ । संसोधन प्रस्ताव पारित भएपछि मोर्चाले समेत निर्वाचनको तयारी थाल्नेछ । 

सरकारले मोर्चासँग पहिलो चरणमा तोकिएकै समय अर्थात बैशाख ३१ गते र दोश्रो चरणमा जेठ अन्तिम साताभित्र निर्वाचन गर्ने सहमति पनि गरेको मन्त्री लेखकले जानकारी दिए । दोश्रो चरणको निर्वाचन मिति भने निर्वाचन आयोगसँगको परामर्शमा तय हुनेछ । 

सरकार र मोर्चाबीचको वार्तामा भाषा आयोगले सिफारिस गरेका भाषालाई अनुसूचीमा राख्ने, नगरपालिकाको सम्बन्धमा स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकार भित्र राख्ने, जनसंख्याको आधारमा स्थानीय तहको संख्या बढाउने विषयमा पनि सकारात्मक छलफल भएको बताइएको छ।