काठमाण्डौ । जीवनमा सफलता पाउनु र धेरै धनदौलत भेला पार्नुको मतलब तपाईंलाई सबैथोक प्राप्त भएको भन्ने हुँदैन । कर्पोरेट विश्वमा यस्ता घटना पनि भएका छन्, जो अत्यन्त सफल भएका थिए, जसको जीवन अरुका लागि लोभलाग्दो थियो र कमाई र शान सौकत पनि उस्तै थियो, तर तिनै सफल मानिसहरुले आफ्नो जीवन अल्पायूमै अन्त गरिदिने कठोर निर्णय लिएका छन् । यो सूचिमा नयाँ नामको रुपमा इन्साइक्लोपेडिया ब्रिटानिकाका सीओओ विनित विगको नाम समेत थपिएको छ । प्रहरीका अनुसार विनित बिगको सुसाइड नोटमा उनले आफ्नो जिन्दगीबाट आफू चरम निराश भएको र दिक्क बनेको उल्लेख गरेका छन् । उनी मात्र होइन, सफलताको शिखरमा पुगेर पनि आत्महत्याको बाटो रोज्नेमा टाटा मोटर्सका प्रबन्ध निर्देशक कार्ल स्लिम र बलिवड अभिनेत्रीका व्यापारी पति मूकेश अग्रवाल जस्ता टप कार्यकारीले समेत आत्महत्याकै बाटो रोजेका छन् । 

विनित विग
अन्तर्राष्टि!य कम्पनी इन्साइक्लोपेडिया ब्रिटानिकाका प्रमुख संचालन अधिकृत(सीओओ) विनित विगले भारतको गुडगाउँमा रहेको आफ्नो सोसाइटी बिल्डिङको १९ औ तलाबाट हामफालेर आत्महत्या गरे । उनी सो बिल्डिङको  डिएलएफ फेज ३ मा बस्ने गर्थे । विगको साथबाट प्रहरीले ‘सुसाइड नोट’ फेला पारेको थियो । त्यसमा बताइएको छ कि ४७ वर्षीय विग आफ्नो जिन्दगीबाट निकै वाक्क बनेका थिए । उनी मर्निङ वाकका लागि भन्दै घरबाट निस्किएका थिए । 

पुलिसका अनुसार विग आफ्नो परिवारको साथ ‘ब्लक डी’मा रहँदै आएका थिए । तर उनले ब्लक सीको १९ औ तलाबाट छलाङ मारे र आफ्नो जिन्दगीलाई अन्त गरिदिए । बिहीबार सफाई गर्ने क्रममा बिहान ९ बजे बिल्डिङ परिसरमा पुगेका सफाई मजदूरहरुले उनको  मृत शरीर फेला पारेका थिए । 

कार्ल स्लिम


टाटा मोटर्स कम्पनीका प्रबन्ध निर्देशक कार्ल स्लिमले सन् २०१४ मा बैंकको ‘शंघाई ला’ होटलबाट फाल हानेर आत्महत्या गरेका थिए । त्यहाँका एक कर्मचारीले स्लिमको शव चौथो तलाको बरण्डामा भेटेका थिए । उनी २२ औं तलाबाट तल झरेका थिए । ब्रिटेनका नागरिक स्लिम थाइल्याण्डमा कम्पनीको निर्देशक मण्डलको बैठकमा सहभागी हुन आएका थिए । प्रहरीले घटनास्थलमा एक सुसाइड नोट फेला पारेको थियो । टाटा मोटर्सको कारोबारमा मन्दी आएको बेला दक्षिण एशियाको बजार प्रवद्र्धनको जिम्मासहित कम्पनीले उनलाई खटाएको थियो । सन् २०१२ देखि टाटा मोटर्समा जोडिएका उनी आफ्नो रणनीतिमा सफल पनि थिए । 

मूकेश अग्रवाल


बलिउड अभिनेत्री रेखाले सन् १९९० मा सफल व्यवसायी मूकेश अग्रवालसँग विवाह गरेकी थिइन् । तर दुर्भाग्य, सन् १९९१ मै मूकेश अग्रवालले आत्महत्या गरे । मूकेश सो समय चर्चित हटलाइन ग्रुप तथा निकिताश ब्राण्डका मालिक थिए । विवाहको एकवर्षपछि नै रेखाका पति मूकेशले पासो लगाएर आत्महत्या गरेका थिए । त्यसबेला प्रकाशित समाचार अनुसार जुन सलको पासो बनाएर मूकेशले आत्महत्या गरेका थिए, त्यो सल रेखाको थियो । रेखा र मूकेशबीचको सम्बन्धमा किन तिक्तता आयो भन्ने बिषयमा पनि सो बेला भारतीय मिडियाहरुमा निकै ठूलो चर्चा भएको थियो । 

रइजने हुवाई


निकै ठूलो सफ्टवेयर तथा डाटा स्टोरेज कम्पनी फेल्कानस्टोरका पूर्व सीइओ तथा प्रेसिडेन्ट रईजेन हुवाईले सन् २०११ को सेप्टेम्बरमा आफैंले आफूलाई गोली हानी आत्महत्या गरेका थिए । उनले सन् २०१० मा अचानक कम्पनीबाट राजीनामा दिएका थिए । कम्पनीका प्रवक्ताले सो समय भनेअनुसार हुवाईले आफ्नो २०.५ लाख डलरको भव्य महल अगाडि नै आत्महत्या गरेका थिए । 

जोनेथन ब्रेथ


सन् २००९ मा ३५ वर्षका युवा अर्बपति जोनेथन ब्रेथले आफैंले गोली हानेर आत्महत्या गरेका थिए । उनले त्यसको दुई वर्षअघि पोर्टेबल क्याबिन बिजिनेशलाई करिब ५ सय करोड रुपैयाँमा बिक्री गरेका थिए । जोनेथन यो व्यापार आफ्नो बुबाको साथमा गर्थे । उनले घरमा क्रिसमस पार्टी आयोजना गरेका थिए र आफन्त तथा साथीभाईलाई निमन्त्रणा समेत गरेका थिए । क्रिसमस पार्टीको भव्य तयारी भइरहेको बेला पार्टी सुरु हुने भनिएको समय भन्दा ठीक एकघण्टाअगाडि उनले आफूले आफैंलाई गोली हानेर आत्माहत्या गरेका थिए । 
एजेन्सीबाट भावानुवाद