काठमाण्डौ । नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइराला अकस्मात अस्वस्थ भएपछि ओम अस्पताल भर्ना गरिएको छ । 

उनको अचेत अवस्थामा अस्पतालको आइसियूमा राखी उपचार भइरहेको ओम अस्पतालका चिकित्सकहरुले बताएका छन् । 

पारिवारिक स्रोतका अनुसार कोइरालाले मंगलबार राति पिज्जा खाने क्रममा सर्किएर एक्कासी बान्ता भएको थियो । बान्ता लगातार भई स्थिति नाजुक बनेपछि उनलाई राति नै ओम अस्पताल भर्ना गरिएको थियो । 

उपचारमा संलग्न चिकित्सकका अनुसार उनको फोक्सोमा समस्या देखिएको छ । फोक्सोको एक्सरेको क्रममा उनलाई निमोनिया समेत देखिएको छ । 

उनको बुधबार बिहान ब्लड प्रेसर अत्यन्त न्यून बनेको बताइएको छ । उनलाई हाल भेन्टिलेटरमा राखिएको छ । भेन्टिलेटरसँगै एन्टिबायोटिक समेत दिन थालिएको चिकित्सकहरुले बताएका छन् । उनीहरुका अनुसार कोइरालाको स्वास्थ्य गम्भीर, तर स्थिर छ । 

थप उपचारका लागि उनलाई देश बाहिर लाने विषयमा छलफल भइरहेको पारिवारिक स्रोतले जनाएको छ । 

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओली बुधबार विहान डा. कोइरालाको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे । प्रम ओलीले चिकित्सकहरुलाई भेटेर डा. कोइरालाको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन समेत दिएका छन् । 

अस्पतालमा भर्ना भएका डा. कोइरालाको स्वास्थ्य अवस्था बुझ्न नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, अन्य दलका नेताहरु, मन्त्रीहरु समेत पुग्ने क्रम जारी छ । ओम अस्पताल परिसरमा कार्यकर्ताकोसमेत ठूलो जमघट छ।