काठमाण्डौ । साताको पहिलो कारोबार दिन बजारमा उत्साह देखिएको छ । नेप्से परिसूचक २५.५ अंकले वृद्धिसँगै कारोबार रकम पनि बढेर ६६ करोड ६५ लाखको उचाईमा पुुगेको छ । सस्तोमा राम्रा कम्पनीको सेयर खरीद गर्न पाउने अवसरलाई बम्पर अफरको रुपमा स्वीकार गर्दै लगानीकर्ताले छानी छानी सेयर खरीद गरिरहेका छन् । 

बजार परिसूचकसँगै कारोबार रकम पनि बढ्दै जानुुलाई विश्लेषकहरुले बजारको राम्रो पक्षको रुप्मा बुुझ्ने गर्छन । गत साताको सुरुवातका दिनहरुमा दैनिकजसो पहिरो गइरहेको बजारमा अन्तिम २ दिनबाट देखिएको उत्साह यो साताको पहिलो दिन नै निरन्तरता पाएको हो । विश्लेषकहरुले आगामी दिनमा समेत बजार केही माथि जाने प्रक्षेपण गरिरहेका छन् । उनीहरुका अनुसार घटेर निकै तल पुुगेको राम्रा कम्पनीको सेयर सस्तोमा खरीद गर्न पाउने अवसरलाई नगुमाउने आम लगानीकर्ताको चाहनाले बजारलाई माथि उठाउन सहयोग गरेको हो । यही कारण बजारमा सेयर खरीदको चाप समेत परेको छ । 

आइतबार नेप्से परिसूचक १३६९.३५ अंकको उचाईमा पुुगेको छ भने क वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्समा ५.६४ अंकको वृद्धि देखिएको छ । फ्लोट इण्डेक्स पनि १.६६ अंकले बढेको छ । 

आइतबार होटल र उत्पादनमूलक समूहको झिनो गिरावट देखिए पनि बाँकी सबै समूहमा हरियाली छाएको छ । अघिल्लो साताको सुरुवातका दिनमा बजारमा पहिरो लैजान सहयोग गर्ने बिमा समूह आइतबार सबैभन्दा बढी अंकले बढेको छ । यो समूहको परिसूचक २९५.९७ अंकले बढेको हो । 

वाणिज्य बैंक समूह १४.१९, विकास बैंक २९.६९, बित्त समूह २०.८५ र अन्य समूह २४.५८ अंकले वृद्धि भएका छन् । 

होटल समूह १९.२२ अंकले घट्यो भने उत्पादनमूलकमा ३.४९ अंकको गिरावट देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
आइतबार १ सय ४४ कम्पनीका २० लाख ७७ हजार बढी सेयर ६६ करोड ६५ लाख बढीका किनबेच भयो । 

सबैभन्दा बढी बैंक अफ काठमाण्डू लुम्बिनी लिमीटेडले ३ करोड १५ लाख बढीको कारोबार गर्यो । नेपाल लाइफ इन्स्योरेन्सले ३ करोड १२ लाख, प्रभूू बैंकले २ करोड ५७ लाख, शिखर इन्स्योरेन्सले २ करोड ६ लाख, सानिमा बैंकले १ करोड ८६ लाख बढीको कारोबार गरे । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमध्ये वाणिज्य बैंक ५ स्थानमा खुम्चियो भने बिमा कम्पनीको ४ स्थानमा बर्चश्व रह्यो । बाँकी एक स्थान जलविद्युत समूहको पोल्टामा गयो । 

धेरै कमाउने र गुमाउने कम्पनी
आइतबार ७ कम्पनीका लगानीकर्ता मालामाल भए । राष्ट्रिय बिमा कम्पनी लिमीटेडको सेयर मूल्यमा सबैभन्दा बढी १० प्रतिशतको वृद्धि भयो । यसैगरी, एनबी इन्स्योरेन्स, ओमी माइक्रो फाइनान्स, नेपाल इन्स्योरेन्स कम्पनी लिमीटेड, नेशनल माइक्रो फाइनान्स बित्तीय संस्था, कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंक र गुराँफ लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । 

आइतबार पनि गत बिहीबारको झै सबैभन्दा बढी दिव्यश्वरी हाइडोपावर कम्पनीले गुमायो । यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको हाराहारीले पहिरो गयो । गुड्विल फाइनान्सको सेयर मूल्यमा पनि ७ प्रतिशतको हाराहारीमा पहिरो गयो ।