काठमाण्डौ । साउदी अरबको सबैभन्दा ठूलो कम्पनीमध्येको एक बिन लादेन समूहले ५० हजार कामदारलाई जागिरबाट बर्खास्त गरेको छ । बर्खास्त हुनेमध्ये हजारौं नेपाली कामदार  समेत रहेका छन् । 
 
कच्चा तेलको मूल्यमा आएको भारी गिरावटले साउदी अरबले निकै ठूलो क्षति व्यहोर्नु परिरहेको छ र यसलाई कम गर्न तथा सम्हाल्न साउदी सरकारले विभिन्न कदम चालिरहेको छ । 

तर जेद्धाहमा अरब न्यूजका सम्पादक सिराज बहाबले बीबीसीसँग कुरा गर्दै बिन लादेन समूहको फैसला साउदी अरबको आर्थिक स्थितिसँग कुनै सरोकार राख्दैन । 
उनकाअनुसार अघिल्लो वर्ष सेप्टेम्बरमा मक्काको मस्जिदमा भएको क्रेन दुर्घटनामा १०७ व्यक्तिको मृत्युमा यो कम्पनीको दोष देखिएपछि सरकारले यो कम्पनीमाथि रोक लगाएको थियो । उनकाअनुसार कम्पनीसँग ठूलो संख्यामा कर्मचारीलाई विदा दिनु बाहेक अन्य विकल्प थिएन । 

बिन लादेन समूहलाई तिनै व्यक्तिहरुले संचालन गरिरहेका थिए, जसको ओसामा बिन लादेनसँग समेत सम्बन्ध थियो । यो कम्पनीलाई दशकौंदेखि साउदी शाही परिवारबाट ठूला–ठूला निर्माणको ठेक्का मिलिरहन्थ्यो । यो संस्था विश्वमा मुसलमानको सर्वोच्च धार्मिकस्थल मक्कामा हरम शरिफको बिस्तारको परियोजनामा समेत सामेल थियो । 

यो कम्पनीमा कर्मचारी संख्या करिब २ लाखको हाराहारीमा थियो । यसअघि कयौं पटक कम्पनीका कर्मचारीले समयमा तलब नपाएको भन्दै विरोध समेत जनाउने गरेका थिए । 

कम्पनीका एक अधिकारीका अनुसार विदा दिइएका ५० हजार कर्मचारीमा हजारौं नेपालीहरु समेत रहेका छन् । हजारौं संख्यामा भारतीय कामदार पनि छन् ।