काठमाण्डौ । राजधानीको सार्वजनिक यातायातको अवस्था भद्रगोल छ । अस्तव्यस्त ढंगले सार्वजनिक यातायातको प्रयोग गर्नुपर्ने बाध्यतामा छन् सर्वसाधारण । केही वर्षअघि सरकारी निकायसँगको सहकार्यमा व्यवस्थित ढंगले संचालन भई राजधानीको सार्वजनिक यातायातमा आयाम थप्न सफल साझा यातायातका लामा र केही व्यवस्थित गाडी देख्ने बित्तिकै चढ्नेको लाम लाग्छ । तिनै गाडीमा चढ्नेहरुले साझा यातायातबाट थप केही व्यवस्थापन, मनपरी भाडा असूली लगायतका गलत कम बन्द हुनुपर्ने अपेक्षा राखेका हुन्छन् । तर व्यवस्थापनले यस्ता अपेक्षाप्रति खासै ध्यान पुर्याएको देखिन्न । 

शुक्रबार साझा यातायातको बुढानिलकण्ठ–लगनखेल रुटमा संचालन हुने बा ३ ख २२१६ नम्बरको बसको यात्रुले उभिएर पक्रिने ठाउँ(ह्याण्डल)भित्रको कागजमा सुझाव लेखेको भेटियो । कुनै यात्रुले सुझाव लेखेर ह्याण्डलमा राखेका देखिए पनि यसलाई अहिलेसम्म साझा यातायातको व्यवस्थापन समूहले ख्याल नै गरेको छैन । 

ह्याण्डलमा कोही यात्रुले लेखेको छ–‘साझामा पिउने पानीको व्यवस्था गर्नुपर्छ । मेरो सुझाव, टिकट पनि कहिले १५ त कहिले २० रुपैयाँ लाग्छ, फिक्स्ड(निश्चित) हुन्न ।’ 

हेर्दा छोटो र सामान्य लागे पनि यो सुझावले साझाप्रति आस्था र शुभेच्छा राख्ने सेवाग्राहीहरुको बोली मुखरित भएको  छ । गर्मी मौसम सुरु भइसकेको अवस्थामा साझा बसमा चढ्नेहरुले स्तरीय सेवाको अपेक्षा गर्दै पानीको व्यवस्था होस् भन्ने माग राख्नुलाई स्वभाविक मान्न सकिन्छ । व्यवस्थित ढंगले समान भाडादरको आधारमा संचालन भएको भनिएको साझा यातायातका बसहरुमा मनपरी भाडा असूल्नु चाहि गलत देखिएको छ । हुन त लेखिएको सुझाव देखेर साझा यातायातका अधिकारीले रुट अनुसार भाडादर केही फरक परेको होला भन्न सक्ला, तर सुझाव लेख्नेले १५ र कहिले २० रुपैयाँ भाडा असूलिन्छ भनेका छन्, यसको अर्थ, साझा यातायातमा एउटै रुटमा नियमित यात्रा गर्ने यात्रुको सुझाव हो भन्ने कुरा प्रष्टै बुझिन्छ । यसबाट साझा यातायातका मजदूरहरुले एउटै रुटमा समेत फरक फरक भाडा असूल्ने गरेका छन् भन्ने बुझ्न गाह्रो छैन । यो एकप्रकारको लुट नै हो । यो लुटलाई अन्त गर्न र भाडादरमा समानता कायम गरी यात्रुहरुलाई ठगिनबाट बचाउन साझा यातायातको व्यवस्थापन जाग्न जरुरी देखिएको छ । 

साझा बसको सो गाडीका मजदूरहरुसँग सुझावको विषयमा जिज्ञासा राख्दा थाहा नभएको जवाफ दिए । 

साझा यातायातका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले प्रेरक र गम्भीर सुझाव दिने अज्ञात यात्रुप्रति धन्यवाद व्यक्त गर्दै दैनिक सयौंले यात्रा गर्ने बसमा खानेपानीको व्यवस्था गर्न तत्काल असंभव भएको बताए । ‘हाम्रा यात्रुलाई यो गर्मीमा पानी खुवाउन पाए हामी पनि गौरवान्वित हुन्थ्यौं ।’ उनले थपे–‘तर तत्काल यो व्यवस्था गर्न सकिन्न ।’ भाडा दर एउटै भएन भन्ने सुझाव चाहि गम्भीर र संवेदनशील रहेको उल्लेख गर्दै पाण्डेले विभिन्न रुटमा साझामा १३ रुपैयाँदेखि २५ रुपैयाँसम्मको भाडा रेट रहेकोले एउटा यात्रुले फरक फरक रुटको यात्रा गर्दा भाडा दर फरक परेको हुनसक्ने बताए । ‘तर यदि एउटै रुटमा एउटै यात्रुलाई फरक फरक भाडा असूलिएको भए चाहि यो बिषयमा छानबिन गर्छौ र कुनै हाम्रा कर्मचारीले नियत खराब गरेको भेटिए कारबाही गर्छौ ।’  उनले भने–‘भाडादरमा ठगिएको प्रमाणसहित उजुरी परे हामीलाई अझ सहज हुने थियो ।’ साझा यातायातले बढीमा ६ महिनाभित्र राजधानीमा व्यवस्थित र लामा ३० वटा भन्दा बढी बसहरु काठमाण्डौ महानगरपालिकासँग सहकार्यमा भित्र्याउने तयारी गरिरहेको बताइएको छ ।