काठमाण्डौ । यो साताभरि सुनको भाउमा भारी गिरावट आएको छ । साताभरि सुन प्रति तोलामो १ हजार ६ रुपैयाँले घटेको हो । 

साताको सुरुवात आइतबार सुनको भाउ प्रतितोला ५६ हजार रुपैयाँ थियो । सोमबार यो मूल्य स्थिर रह्यो । 

मंगलबार तोलामा २ सय रुपैयाँ घट्दै सुन ५५ हजार ८ सयमा किनबेच भयो । बुधबार एकैदिन तोलामा ७ सय रुपैयाँले घटेर ५५ हजार १ सयमा खरीद बिक्री भयो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ सय रुपैयाँले घटेर ५५ हजारमा कारोबार भइरहेको सुन साताको अन्तिम दिन शुक्रबार तोलामा ६ सय रुपैयाँ घटेको छ । शुक्रबार सुन प्रति तोला ५४ हजार ४ सयको दरले किनबेच भइरहेको छ । 

सुनसँगै चाँदीको भाउमा समेत गिरावट आएको छ । यो साता चाँदी तोलामा २० रुपैयाँले घटेको छ । आइतबार प्रति तोला ७७० रुपैयाँमा किनबेच भएको चाँदी सोमबार तोलामा ५ रुपैयाँले घटी ७६५ कायम भएको थियो । मंगलबार, बुधबार र बिहीबार चाँदी तोलाको ७६० रुपैयाँमा किनबेच भयो । शुक्रबार चाहि तोलामा १० रुपैयाँ घटी चाँदी ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

अन्तर्राष्ट्रिय बजारमा घट्दो भाउ तथा आन्तरिक बजारमा समेत खासै माग नभएका कारण सुन र चाँदीको भाउ निरन्तर ओरालो लागेको महासंघका अधिकारीहरुले बताएका छन् । जेठ महिनामा विवाह वा ब्रतबन्धको मौसम समेत नपरेका कारण समेत आन्तरिक माग कम भएकोले भाउमा गिरावट आएको दाबी महासंघले गरेको छ ।