काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले नेपाली सर्वसाधारणहरुसँग रहेको भारु ५ सय र १ हजार रुपैयाँको नोटलाई सटहीको व्यवस्था मिलाउन पहल गरिदिन अनुरोध गर्दै बिहीबार नेपाल सरकारको अर्थ मन्त्रालय र भारतको केन्द्रीय बैंकलाई पत्र लेखेका छन् । 

नेपालमा ठूलो परिमाणमा भारु ५ सय र १ हजार रहेको र सम्बद्ध पक्षले पहल नगर्दा ती नोटमाथि भारतले लगाएको प्रतिबन्धपछि ठूलो घाटा हुनसक्ने भन्दै सर्वत्र चिन्ता व्यक्त भइरहेको बेला नेपालको केन्द्रीय बैंकले पहल थालेको हो । 

'सर्वसाधारणसँग भएको भारु ५ सय र १ हजार रुपैयाँको नोट विभिन्न प्रक्रिया र माध्यमबाट सटहीको व्यवस्था गर्नुअघि हामीलाई रिजर्ब बैंक अफ इण्डिया(भारतको केन्द्रीय बैंक)ले हामीले सटही गरेको पैसा लिइदिने ग्यारेण्टी गर्नुुपर्छ ।' राष्ट्रबैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले भने-'गभर्नर साबको लेभलबाट त्यही निश्चितता माग्दै बिहीबार आवश्यक पहलका लागि अर्थमन्त्रालय र भारतको केन्द्रीय बैंकमा पत्र गएको छ ।' 

पण्डितका अनुसार विभागीय तहबाट यस्तो पत्र दुवै निकायमा बुधबार नै पठाइएको थियो । तर, त्यो स्तरको पत्रले काम नगर्ला कि भन्ने आशंका उत्पन्न भएपछि गभर्नर आफैं भारु ५ सय र १ हजार रुपैयाँको नोटमाथि लागेको प्रतिबन्धपछि नेपाली सर्वसाधारणमा समेत उत्पन्न असहज परिस्थति अन्तका लागि तातेका हुन् । 

'हाम्रो अर्थ मन्त्रालयले पनि सोही लेभलको पहल थाल्छ होला ।' पण्डितले भने-'आरबीआईले पनि केही भन्ला, त्यसपछि केही दिनभित्रमै उपयुक्त विकल्प निस्कने हाम्रो अपेक्षा हो ।' 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कालोधन निकाल्ने तथा नक्कली भारुको कारोबार निरुत्साहित पार्ने उद्देश्यले दुई दिनअघि भारु ५ सय र १ हजारको नोटमाथि प्रतिबन्धको घोषणा गरेका हुन् । यो घोषणाका कारण भारतमा खैलाबैला मच्चिएको छ भने नेपालमा समेत असंगिठत क्षेत्रमा रहेको भारु रद्धीको टोकरीमा पर्ला कि भन्ने चिन्ता व्याप्त छ । १ हजार र ५ सय भारु नचल्ने भएपछि सीमावर्ती बजारको कारोबार सुस्ताएको छ भने भारत भ्रमणमा रहेका वा जान लागेका, भारतमा अध्ययनरत विद्यार्थी, व्यापारी लगायतलाई बढी  असुविधा भएको छ । 

कति होला नेपालमा भारु ५ सय र १ हजार ?
मुलुकका बैंक तथा वित्तीय संस्थासँग एक हजार र ५०० दरका भारतीय नोट दुई करोडको हाराहारीमा रहेको केन्द्रीय बैंकले जनाएको छ । हजार र ५०० दरका नोटमाथि भारतको केन्द्रीय सरकारले प्रतिबन्ध लगाएपछि ती नोटबारे सर्वसाधारण नेपालीमा अन्योल बढेपछि राष्ट्र बैंकले त्यस्तो जानकारी दिएको हो । मुलुकका बैंक तथा वित्तीय संस्थामा उक्त दरका नोटका ठूलो रकम छैन तर बैंकिङ प्रणालीमा नभए पनि साधारणसँग ठूलो रकम भएको अनुमान गरिएको छ ।

राष्ट्र बैंकले बुधबार एक निर्देशन जारी गरेर बैंक, वित्तीय संस्था एवम् मुद्रा सटही केन्द्रलाई उक्त दरका नोटको कारोबार नगर्न निर्देशन दिएको थियो । त्यस्तै, भारतीय केन्द्रीय बैंकलाई नेपालमा रहेको भारुको व्यवस्थापनका विषयमा पत्राचार गर्ने निर्णय पनि गरेको थियो ।

भारतका सर्वसाधारणले यही नोभेम्बर १० देखि डिसेम्बर ३० सम्ममा आफूसँग भएका उक्त दरका नोट बैंक तथा हुलाकमार्फत जम्मा गर्न पाउने भारत सरकारले व्यवस्था गरेको छ । सोही  अवधिमा नेपालको नोट समेत व्यवस्थापन गर्ने बाटो खोज्न केन्द्रीय बैंक लागिपरेको हो ।