काठमाण्डौ । 'ग्यालेक्सी नोट ७' पड्किने समस्याले पूरा व्यापार चौपट भइरहेको सामसङको त्यो भर्सन नेपालका विमानमा समेत बोक्न निषेध गरिएको छ । 

बुधबार यति एयरलाइन्सले एक विज्ञप्ति प्रकाशित गर्दै आफ्ना सबै आन्तरिक उडानहरुमा सामसङको ग्यालेक्सी नोट ७ भर्सनको मोवाइल बोक्न प्रतिबन्ध गरिएको जनाएको छ । 

सामसङको यो भर्सनको मोवाइलको ब्याट्री पड्किएर धेरै देशमा मानवीय र भौतिक क्षति भइसकेको छ । कैयन देशमा यो मोवाइल प्रतिबन्धित भइसकेको छ र सामसङ स्वयम्ले नोट ७ नबोक्न र तुरुन्त आएर आफ्ना डिलर तथा बिक्री केन्द्रबाट फोन परिवर्तन गर्न सार्वजनिक आह्वान नै गरिसकेको छ । 

विश्वभरि नोट ७ को आतंक छाइरहेको बेला यति एयरलाइन्सले यात्रुहरुलाई भरसक सामसङको नोट ७ यात्राको क्रममा नबोक्न र बोक्नै पर्ने बाध्यता भए फोन फ्लाइट मोडमा लगी स्वीच अफ गरेर हाते झोलामा राख्नुपर्ने बताएको छ ।