काठमाण्डौ । नेपाल एसबीआई बैंकले खुलाएको एफपीओमा हालसम्म खुलाइएका सार्वजनिक निश्कासनहरुमध्येकै संभवत सबैभन्दा धेरै आवेदन परेको छ । 

एसबीआई बैंकको एफपीओ प्राप्त गरेलगत्तै २८ प्रतिशत बोनस सेयर र ४० प्रतिशत हकप्रद समेत भर्न पाइने अफरले लगानीकर्ताहरुलाई तानेको देखिएको छ । 

एफपीओमा गत बिहीबारसम्म आवेदन दिन सकिने व्यवस्था मिलाइएको थियो । शुुक्रबार र शनिवार विदा परेका कारण त्यसको अन्तिम अपडेट आइतबार मात्र प्राप्त भएको हो । 

नेपाल एसबीआई बैंकले नेपाल राष्ट्रबैंकको निर्देशन अनुसार संस्थापक र साधारण सेयरधनीको सेयर संरचना अनुपात मिलाउन प्रति कित्ता ९७१ रुपैयाँको दरले एफपीओका लागि आवेदन आह्वान गरेको थियो । कुल ६७ हजार ७ सय ६७.८७ कित्ता एफपीओ कुल ६ करोड ५८ लाख मूल्यको हो । तर अन्तिम दिन मात्रै एफपीओका लागि २ अर्बको आवेदन परेको बिक्री प्रबन्धकको काम गरिरहेको एनएमबी क्यापिटल लिमीटेडले जनाएको छ । सबै दिनको गरी ६ करोड ५८ लाखको एफपीओमा कुल ४ अर्ब ८२ करोड बढीको प्रस्ताव परेको हो । मागको तुलनामा करिब ७३ गुणा बढी प्रस्ताव परेको बताइएको छ । 

चार दिनको अवधिमा देशभरका विभिन्न संकलन केन्द्रहरुबाट ५७ हजार ७० वटा आवेदन परेका छन् । 
लगानीकर्ताहरुलाई न्यूनतम १० कित्तादेखि अधिकतम ६७० कित्तासम्म एफपीओ भर्न पाउने व्यवस्था मिलाइएको थियो ।  

हाल नेपाल एसबीआई बैंकको संस्थापक र साधारण सेयरधनीको स्वामित्व संरचना ७०.१२ : २९.८८ प्रतिशत रहेको छ । एफपीओपछि यो संरचना ७० : ३० मा रुपान्तरण हुनेछ । 

यो बैंकले यसअघि आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट आफ्ना सेयरधनीलाई २८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५३ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरिसकेको छ । यसका साथै, बैंकले ४० प्रतिशत हकप्रद सेयरको समेत प्रस्ताव गरेको छ । यी दुवै अफर एफपीओ परेकाहरुले पनि पाउने भएका कारण समेत एसबीआई बैंकको एफपीओमो अचाक्ली आकर्षण देखिएको जानकारहरु बताउँछन । 

यो बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३५ करोड ४४ लाख खूद नाफा आर्जन गरेको छ।