काठमाण्डौ । सिद्धार्थ बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफा ५२ प्रतिशतले वृद्धि गरेको छ । 

अघिल्लो आर्थिक वर्षको यही अवधिमा ४९ करोड २८ लाख खूद नाफा आर्जन गरेकोमा यो वर्ष बढेर ७४ करोड ९४ लाखको उचाईमा पुुगेको हो । 

आइतबार जारी वित्तीय विवरण अनुसार सिद्धार्थ बैंकले खूद ब्याज आम्दानीतर्फ पनि राम्रो प्रगति गरेको छ । खूद ब्याज आम्दानीमा वृद्धि हुनुको अर्थ बैंकले व्यवसाय बिस्तारमा समेत एग्रेसिभ मूूभ लिएको बुझिन्छ । अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामा ८० करोड १४ लाख रुपैयाँ रहेको खूद ब्याज आम्दानी वृद्धि भई १ अर्ब ३१ करोड रुपैयाँको उचाईमा पुुगेको छ । 

यस्तै बैंकले ७४ अर्ब २० करोड निक्षेप संकलन गरी ६२ अर्ब ६५ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकले ४८ अर्ब ५० करोड निक्षेप संकलन गरी ४० अर्ब ३० करोड कर्जा प्रवाह गरेको थियो । 

तर बैंकको निस्क्रिय कर्जा दर भने बढेको छ । अघिल्लो वर्षको यही अवधिमा यो बैंकको यस्तो कर्जा दर १.४१ प्रतिशत रहेकोमा चालु आबको दोश्रो त्रैमासमा केही बढेर १.५० प्रतिशतमा पुुगेको हो । 

बैंकको प्रति सेयर आम्दानी २७.७४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४७.२२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३५.९१ गुणा कायम भएको छ । अघिल्लो वर्ष यो अवधिमा बैंकको प्रति सेयर आम्दानी ४० रुपैयाँ ४४ पैसा थियो । यो बैंकले २५ प्रतिशत हकप्रदसँगै ३९ प्रतिशत बोनस समेत वितरण गरेपछि त्यसको प्रति सेयर आम्दानीमा प्रभाव परेको आँकलन गरिएको छ । 

यो बैंकको चुक्तापूँजी ५ अर्ब २३ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ५१ करोड रुपैयाँ छ ।