काठमाण्डौ । सिभिल बैंक लिमीटेडले बैंक तथा बित्तीय संस्थाहरुमध्येकै सबैभन्दा कम लाभांश वितरणको घोषणा गरेको छ । 

आफ्ना लगानीकर्तालाई खिन्न बनाउँदै यो बैंकले आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट २.८८ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको हो । 

चैत ८ गते बसेको बैंक संचालक समितिको बैठकले २.८८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१५१६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको नेप्सेमा प्रकाशित सूचनामा उल्लेख छ । 

यो प्रस्ताव नेपाल राष्ट्रबैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ । गत वर्ष यो बैंकले आफ्ना सेयरधनीलाई ६.७५ प्रतिशत लाभांश वितरण गरेको थियो । 

हालै यो बैंकले आफ्ना लगानीकर्तालाई १० बराबर २ को अनुपातमा हकप्रदको प्रस्ताव गरेको थियो । 

सिभिल बैंक युनिक फाइनान्स र हामा मर्चेन्ट एण्ड फाइनान्स लिमीटेडलाई अक्वायर गर्ने प्रक्रियामा छ । यो बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १७ करोड १४ लाख खूद नाफा आर्जन गरेको छ । हाल यो बैंकको चुक्तापूँजी ४ अर्ब ५८ करोड रुपैयाँ रहेको छ ।