काठमाण्डौ । अमेरिकाले सिरियामा क्षेप्यास्त्र हमला गरेको छ । विद्रोहीको कब्जामा रहेको इडलिब प्रान्तमा सिरियाली सेनाले रासायनिक हमला गरेको बदलामा अमेरिकाले शुक्रबार सिरियाली हवाई आधार क्षेत्रमा क्षेप्यास्त्र हमला गरेको हो । हमलामा ६ जना सिरियाली सेनाको मृत्यु भएको छ ।

रासायनिक हमला गरिएको अखडामा आक्रमण
अमेरिकाले उत्तरी सिरियाको होम्स सहरको सिरियाली हवाई अखडलाई निशाना बनाएको हो । सोही अखडाबाट गत मंगलबार बिहान सिरियाली सेनाले रासायनिक हमला गरेको थियो । खान सेखहाउन सहरमा भएको सो हमलामा बालबालिका र महिलासहित झन्डै सयजनाको मृत्यु भएको थियो । भूमध्यसागरमा रहेको नौसैनिक युद्धपोतबाट ५९ वटा टोमाहक क्रुज क्षेप्यास्त्र प्रहार गरिएको अमेरिकी रक्षामन्त्रालय भवन पेन्टागनले जनाएको छ । सिरियाले अमेरिकी आक्रमणको भत्र्सना गरेको छ ।

क्षेप्यास्त्रले सिरियाली लडाकु विमान, भण्डारण क्षेत्र, हतियार आपूर्ति गर्ने बंकर, हवाई रक्षा प्रणाली र होमप्रान्तको स्यारत हवाई अखडलाई निशाना बनाएको पेन्टागनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सिरियाली सरकारलाई रासायनिक हमला गर्नबाट निरुत्साहित गर्न सो हमला गरिएको पेन्टागनले जनाएको छ । क्षेप्यास्त्रबाट भएको क्षतिबारे पेन्टागनले कुनै विवरण दिएको छैन । होम प्रान्तका गभर्नरले क्षेप्यास्त्र हमलामा धेरैको मृत्यु भएको र सेनाको आधार अखडामा आगलागी भएको बताए । हमलामा कम्तीमा ६ सिरियाली सेनाको मृत्यु भएको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

‘अमेरिकाको सुरक्षाको लागि आक्रमण’
सियिाली द्वन्द्व अन्त्य गर्न सम्पूर्ण ‘सभ्य मुलुकलाई’ सहयोग गर्न ट्रम्पले आह्वान गरेका छन् । ‘सिरियाको नरसंहार र रक्तपात रोक्न तथा सबै प्रकारका अतिवाद रोक्न म सम्पूर्ण सभ्य देशका नागरिकलाई आह्वान गर्दछु,’ ट्रम्पले भने । रासायनिक अस्त्रको विस्तार र प्रयोग अमेरिकी राष्ट्रिय सुरक्षा स्वार्थविपरीत भएको ट्रम्पले बताए । अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि सो कदम चालेको उनले बताए । क्षेप्यास्त्र हमला सिरियाली सरकारको रासायनिक आक्रमणको बदलामा गरिएको ह्वाइट हाउसका प्रवक्ताले बताए । सिरियाली राष्ट्र«पति असदको प्रत्यक्ष निर्देशनमा हवाई हमला भएकोमा हामी पूर्ण विश्वस्त छौँ,’ प्रवक्ताले भने । अमेरिकी नेतृत्वको संयुक्त गठबन्धनले सिरियामा सन् २०१४ देखि त्यहाँका जिहादीविरुद्ध हवाई हमला गर्दै आएको छ । तर, सरकारी फौजलाई अमेरिकाले हमला गरेको भने पहिलोपटक हो ।

यसअघि राष्ट्रपति ट्रम्पले अमेरिकी अधिकारीले सिरियाको रासायनिक हमलाविरुद्ध सम्भावित सैनिक कदमबारे सोचिरहेको बताएका थिए । बिहीबार मात्र अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले सिरियाबारे ट्रम्प प्रशासनको अकस्मात नीति परिवर्तन भएको बताउँदै भविष्यमा असदको भूमिका नहुने बताएका थिए । गत साता मात्र राष्ट्रसंघका लागि अमेरिकी दूत निक्की हेलीले ट्रम्पलाई च्युत गर्ने नीति वासिंगटनको प्राथमिकतामा नरहेको बताएकी थिइन् । यसैबीच, अमेरिकी कदमको सिरियाली विपक्षी समूह सिरियाली राष्ट्रिय गठबन्धनले स्वागत गरेको छ । ‘अमेरिकी सेनाबाट हामी अझै बढी हमला अपेक्षा गर्छौं,’ गठबन्धनका प्रवक्ता अहमद रमदानको भनाइ उद्धृत गर्दै एएफपीले जनाएको छ ।

रासायनिक हमला गरिएको अखडामा आक्रमण
अमेरिकाले उत्तरी सिरियाको होम्स सहरको सिरियाली हवाई अखडालाई निशाना बनाएको हो । सोही अखडाबाट गत मंगलबार बिहान सिरियाली सेनाले रासायनिक हमला गरेको थियो । खान सेखहाउन सहरमा भएको सो हमलामा बालबालिका र महिलासहित झन्डै सयजनाको मृत्यु भएको थियो । भूमध्यसागरमा रहेको नौसैनिक युद्धपोतबाट ५९ टोमाहक क्रुज क्षेप्यास्त्र प्रहार गरिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।

अमेरिका–रसिया सम्बन्ध बिग्रियो : पुटिन
रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियाविरुद्धको कारबाहीले अन्तर्राष्ट्रिय कानुन उल्लंघन हुनुका साथै रसिया र अमेरिकाबीचको सम्बन्धसमेत बिग्रिएको बताएका छन् । अमेरिकी आक्रमण सार्वभौम देशविरुद्धको हमला भएको पुटिनका प्रवक्ता डिमित्री पेस्कोभले भत्र्सना गरेका छन् ।

राष्ट्रसंघका लागि रसियाली दूतले अमेरिकाले विगतमा इराक र लिबियामा गरिएका सैनिक कारबाहीका परिणामबारे सोच्न सुझाब दिएका छन् । अमेरिकी आक्रमणले अतिवादविरुद्धको लडाइँलाई अवमूल्यन गरेको क्रेमलिनले प्रतिक्रिया दिएको छ । ‘अमेरिकी हमला राष्ट्रसंघअन्तर्गतका मुलुकहरूविरुद्ध अमेरिकी आक्रोश हो,’ क्रेमलिनका एक अधिकारीले बताए । कारबाहीअघि रसियाली सेनालाई जानकारी दिइएको पेन्टागनले जनाएको छ । यो खबर आजको नयाँपत्रिकामा छापिएको छ ।